प्रा.डा.शिवकुमार सुवेदी
प्रसङ्ग २०६८ साल माघको हो । पारिवारिक सन्दर्भले अष्ट्रेलियाको सिड्नी जाने अवसर मिलेको थियो । जानुपर्ने मंसिरमै थियो तर कुन्नि के भएर हो त्यतिबेला भिसा लागेन र केही ढिला अर्थात दोस्रो प्रयासमा भिसा लागी माघमा यात्रा गर्ने अवसर मिलेको थियो । पारिवारिक कारण भएकाले म र मेरी श्रीमती गरी दुईजानाको तीन महिना सिड्नीमा बस्ने गरी यो यात्रा प्रारम्भ भएको थियो । अन्तर्राष्ट्रिय उडानको पहिलो यात्रा, त्यसमा पनि सिङ्गापुरमा जहाज बदल्नुपर्ने भएकाले केही समस्या हुन्छ कि भन्ने डर मनमा भए तापनि बाहिर प्रकट गर्न मिलिरहेको थिएन । यहाँको मौसम अनुसार जाडोमा लगाउने न्यानो कपडाको व्यवस्थासँगै फर्कदा गर्मी चढिसक्ने भएकाले दुवै मौसमका लागि कपडा र केही सामानहरुले गर्दा सुटकेशहरु भरिएका थिए । विमानस्थल अध्यागमनबाट के–के लैजान पाइन्छ भन्ने थाहा नभएकाले म सकेसम्म कम सामान लैजान चाहन्थेँ । तर बुढी भने छोरा, बुहारी र नवजात नातिका लागि विभिन्न सामानहरु लैजान चाहने भएकाले कुरा मिलिरहेको थिएन । यस्तै दोधारमा त्यो यात्रा प्रारम्भ भएको थियो । टिकट इत्यादिको व्यवस्था उनीहरुले नै गरेकाले त्यसबारे कुनै जानकारी थिएन । त्यसैले पनि माघ ९ गतेको उडानका लागि केही पूर्वतयारी बाँकी रहेकाले हामी माघ ५ गते नै घरबाट प्रस्थान गर्न चाहन्थ्यौँ । तर त्यही ५ गते छोरा सन्तोषकी सालीको बिहे भएकाले सम्धी गुरुप्रसाद आचार्यको अनुरोधमा एकदिन पछि सारिएको थियो । घरमा तयारी गर्न केही बाँकी भएकाले म सकेसम्म चाँडो घर पुग्न चाहन्थेँ । दुर्भाग्यवश एकजना मुन्द्रे केटाले मेरो मोटरसाइकललाई धक्का दिँदा दुर्घटना भयो । त्यति बढी चोट नलागे तापनि अस्पतालसम्म पुग्नुपर्दा केही ढिलाइ भयो ।
२०६८ माघ ६ गते बिहान घरबाट यात्रा प्रारम्भ गर्दा छोरी सम्झना र नाति पार्सन पनि विदाइ गर्न काठमाडौंसम्म पुग्ने भई चारजना भएका थियौं । काठमाडौंमा बस्ने छोरा बुहारीको सहयोगमा सात र आठ गते थप सामान किनमेलका साथै यात्राका लागि केही रकम साट्ने काम गरियो । यात्राका लागि Silk Air JWR LTD Singapore को टिकट नम्बर ६२९२९४६९६२२८९ र ६२९२९४६९६२२८८ का दुईवटा टिकट हिमालय ट्राभल एण्ड टुर्स प्रा.लि. एलायन्स कम्प्लेक्स तीनकुने कमाठमाडौंबाट बुक गरिएको रहेछ । राहदानी र टिकट आ–आफ्नै झोलामा राखी ९ गते १० बजेतिर कोठा छोडी लामो यात्राका लागि काठमाडौंमा रहेका छोराबुहारी र सानी नातिनी समेत निस्किएका थियौँ । विमानस्थलमा अष्ट्रेलियमा रहेकी बुहारीका बुवाआमा, भाइबहिनीहरु हाम्रो विदाइका लागि भक्तपुरबाट आइसक्नुभएको रहेछ । उडान समय १ः२० भएको र दुईघण्टा अगाडि प्रवेश गरिसक्नुपर्ने भएकाले केहीबेरको कुराकानीपछि हामी छुट्टिने समय आयो । ६ वर्षीय नातिले घरैदेखि ‘झ्यालमा नबसिसेला नि ; खसिसेला फेरि’ भनिरहेको थियो । हामी गेटभित्र प्रवेश गरिसकेपछि ऊ बाहिर झ्यालको ग्रिल समाएर बाँदरको बच्चा झुण्डिए जस्तै गरी टुक्रुक्क बसेर मलिन अनुहारले हामीलाई हेरिरहेको देख्दा मन भारी भयो, आँखा रसाएका थिए । सिड्नीबाट घरमा फोन गर्दा पनि मैले ऊसँग कुरा गर्न सकिन, त्यही दृश्य आँखा अगाडि घुमिरहन्थ्यो ।
सामान जाँच गराई बुक गरिसकेपछि प्रतीक्षालयतिर प्रवेश गर्ने क्रममा हवाइसेवामा कार्यरत मित्र मानबहादुर बस्नेतज्यूसँग भेट भयो । उहाँको एकजना साथीको छोरा पनि सोही जहाजबाट सिड्नी फर्किँदै रहेछन् । उनीसँगको भेटले सिंगापुरमा आइपर्ने समस्यामा केही सहयोग प्राप्त हुने आशाले मन केही आश्वस्त भयो । म मधुमेहको रोगी भएकाले धेरै माथि उड्दा मेरो मुटुमा केही असर पर्छ कि भन्ने अर्को डर थियो । प्रतीक्षालय खचाखच भरिएको थियो । केहीबेर पछि मलेशिया–कतार जाने यात्रीहरुको जहाजको समय भयो र धेरै यात्रीहरु त्यहाँबाट निस्किए । प्रतीक्षालय सुनसान बन्दै छ, मनमा त्रास बढ्दै छ । यस्तैमा हाम्रो जहाजको समय भयो, हामी पनि जहाजतिर लाग्यौं । भित्र आ–आफ्नो आसन ग्रहण ग¥यौं । मन भारी भइरहेकै छ । १ः२० मा उडेको जहाजमा १ः३० मा जुस ल्याई सहयोगी पुरुषहरु आइपुगे । जुस पिइसकेपछि मन शान्त बनाउन मेरो नजिक बसेका पुरुष मित्र कहाँसम्म पुग्ने रहेछन्, कतै यी पनि सिड्नीसम्म पुग्ने भए यिनकै पछिपछि लाग्नुपर्ला भन्ने विचारले मैले कुरा गर्न शुरु गरेँ । उनीसँगको सहयात्रा सिंगापुरसम्मको मात्र रहेछ । उनी त्यहाँबाट जापानको टोकियो जाने रहेछन् । काठमाडौंका बज्राचार्य थरका नेवार लामो समय जापानमा बस्दा नेपाली भाषा अत्यन्त कम भइसकेको रहेछ । त्यसैले अंग्रेजीमा नै प्रायः कुराकानी भयो तर नेपाल र नेपाली भाषाप्रतिको माया प्रस्तुत गर्न समय–समयमा नेपालीमा बोल्ने प्रयास गरिरहेका थिए । संयोगले उनी पनि विश्वविद्यालयमा प्राध्यापन गर्दा रहेछन् र त्यसै सिलसिलामा विद्यावारिधि गर्ने क्रममा स्रोत–सामग्रीको संकलनका लागि नेपाल आएका रहेछन् । अर्को संयोग उनी पनि इतिहास, संस्कृतिका प्राध्यापक भएकाले विषयगत वार्तालापले हाम्रो वार्तालाई अझ सहज बनाएको थियो । यही क्रममा २ः२० मा खाना र ४ बजे चिया आयो । सिंगापुर नजिकिँदै गर्दा सबै यात्रुलाई एक एकवटा फाराम भर्न दिइयो । त्यो के हो मलाई थाहा थिएन त्यसैले मैले तिनै मित्रसँग सोधेँ । त्यो त त्यहाँसम्मको मात्र यात्रा गर्नेलाई आफ्नो बुक गरेको सामानहरुको विवरणका लागि भराइने फाराम रहेछ जो बाहिर निस्कने क्रममा सुरक्षा जाँच गर्दा आफ्नो सामानसँग मिल्नुपर्दोरहेछ । बेलुकाको ६ बजेको समयमा हामी सिंगापुरको चाँगी हवाइ मैदानमा ओर्लियौँ । उनी (इक्जीट) (Exit) तिर लागे, हामी (Transit) ट्रान्जिटतिर लाग्यौँ । हामी ओर्लिएको टर्मिनल नं. २ रहेछ, अबको बाँकी यात्रा टर्मिनल नं. ३ को गेट नं. बि ५ बाट हुने भएकाले त्यसको खोजी गर्दै अगाडि बढ्यौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिचय गराइदिएका बाबु पनि अघि–पछि हुँदै गन्तव्यतिर बढिरहेका थिए । यही क्रममा स्याङ्जातिरका ५–७ जनाको एक समूह पनि फेला परेका थिए जसमध्ये केही पहिले पनि यस्तो यात्रा गरिसकेका अनुभवी भएकाले उक्त समूहलाई हाम्रो जस्तो समस्या थिएन । सम्बन्धित गेट नजिकैको खाली ठाउँमा बस्ने निधो ग¥यौँं । ती बाबुले आफ्नो सानो हातेझोला हाम्रो नजिक राख्दै अष्ट्रेलियामा सँगै पढ्ने केटी साथी आफ्नी आमासहित आएकीले उनलाई घुमाउने भन्दै बाहिरिए रातिको समयमा पनि बिजुलीको प्रकाशमा दिनको भान गर्नेगरी सयौं जहाजको आवागमन, यात्रुहरुको भिडभाड, ठाउँ–ठाउँमा राखिएका आइफोनमा व्यस्त यात्रुहरु, सबै मेरा लागि नयाँ अनुभूति थियो । स्वदेशी अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा नै पहिलोपटक प्रवेश गर्ने अवसर पाएको मेरा लागि सिंगापुरको चाँगी अन्तर्राष्ट्रिय विमानस्थलको स्वच्छ, सफा र व्यवस्थित प्रतीक्षालय पनि मेरो लागि अनौठो लाग्ने वस्तु रह्यो ।
साढे तीन घण्टाको प्रतीक्षाको समय अत्यन्तै लामो महसुस भइरहेको थियो । तर समय बित्यो ९ः४५ मा गेट खुल्यो । यात्रुहरु प्रतिबद्ध भई आ–आफ्नो हातेझोला देखाउँदै सम्बन्धित प्रतीक्षालयभित्र प्रवेश गरे जसमध्ये हामी पनि थियौँ । १०ः३० को समय नजिकिँदै गर्दा फ्लाइट नं. SA 232 का यात्रुहरुलाई उक्त जहाजतिर बढ्ने आकाशवाणी भयो । भिडमा मिसिँदै हामी पनि अघि बढ्यौँ काठमाडौंमा चढेको जहाजभन्दा चार गुणा ठूलो जहाजमा प्रवेशद्वारबाटै आ–आफ्नो सिट भएको क्याविनतिर यात्रीहरुलाई पठाउँदै थिए । हामीले पहिले देखेका नेपालीहरु अर्को ढोकाबाट पठाइए । हामी एक्लै प¥यौँ । १०ः३० को समयसँगै जहाजले जमीन छाड्यो ।
जहाजको उडान प्रारम्भसँगै परिचारिकाहरुले रुचि अनुसारको पेय पदार्थले स्वागत गर्न आइपुगे । जुसको गिलास लियौँ । यताउताका सहयात्रीतिर हेरेको त सबै सिट सँगैको झोलाबाट पछ्यौरा झिकेर ओढ्न लागेको देखी हामीले पनि सोही अनुकरण ग¥यौँ । हरेक सिटको हत्थामा टेलिभिजन सेट राखिएका रहेछन् । कहाँ जोड्ने ? रिमोट कहाँ छ ? कुन च्यानल हेर्न सकिन्छ भन्ने जिज्ञासा लाग्नु स्वाभाविकै थियो । सहयात्रीमध्ये धेरै टि.भि. हेर्न व्यस्त थिए भने केहीले पुस्तक पढिरहेका देखिन्थे । पहिलो प्रयास टि.भि. लाइन जोड्न असफल, दोस्रो प्रयासमा विद्युत् प्रवाहसम्म भयो तर चित्र आएन । तेस्रो प्रयासमा चित्र केही धमिलो आकृतिको रुपमा देखा प¥यो तर आवाज आएन । रात बिताउनु थियो । त्यसैले यस्ता असफल प्रयासहरु भइ नै रहे । बाह्र बजेको मध्यान्तरतिर खानाको लागि अर्डर लिन आए । उनले भनेका मध्ये भात र माछाको तरकारीमा गाईको मासुको प्रभाव नपरी शुद्ध हुन सक्ने महसुस गरी सोही अर्डर ग¥यौँ । केही क्षणमै खाना आइपुग्यो । खानापछि रात धेरै बितिसकेकाले निदाउने प्रयास गरेँ । तर मन विचलित भएको र नियमित सुत्ने समय बितिसकेकाले राम्रोसँग निद्रा पर्ने कुरै थिएन । त्यसमा पनि जहाजको एकोहोरो आवाजसँगै क्षणमा माथि र क्षणभरमै तलको उडानले पनि निद्रा पर्ने संभावना थिएन । अर्कोतिर जहाजबाट ओर्लेर बाहिर निस्कँदा छोरा–बुहारी नआइपुगेको अवस्थामा के गर्ने ? भन्ने प्रश्न पनि मनमा आइरहन्थ्यो । यस्तैमा तीन घण्टा बितेछ । तीन बजेर बीस मिनेट जाँदा नास्ता आइपुग्यो । अगाडिको स्क्रिनमा समय, उडान गति, पार गरेको र बाँकी दूरी तथा उचाइ र बाहिरको तापक्रम दिइरहेको थियो । ४.३० को समयमा स्क्रिनमा देखाए अनुसार जहाज ११८८८ मिटरको उचाइमा ८६७ देखि ८७४ कि.मि. प्रतिघण्टा स्पिडमा उडिरहेको थियो । त्यस समयसम्म जहाजले ५०७३ कि.मी दूरी पार गरिसकेको र १३६५ कि.मि. दूरी पार गर्न बाँकी रहेको थियो । जुन उचाइमा जहाज थियो त्यहाँको तापक्रम – ५२०C दिइएको थियो । बाँकी यात्राका लागि १ घण्टा ४४ मिनेट लाग्ने उल्लेख थियो । मैले आफ्नो घडीमा नेपाली समय अनुसार हेरिरहेको थिएँ तर मेरो देशको समय र पुग्ने ठाउँको समयमा पाँच घण्टाको फरक पर्ने भएकाले ४ः३० को समय विहानको नौ बजेको समय थियो । त्यसैले बाहिर उज्यालो घाम लागिरहेको देखिन्थ्यो । कतै स–सना तलाउ, कतै जङ्गल त कतै बस्तीहरु देखिन्थे । केहीबेर पछि १०२२ कि.मि. का लागि १ घण्टा १८ मिनेट अनुमानित समय देखाइयो भने फेरि हेर्दा ८५२ कि.मि. का लागि १ः१५ को अनुमानित समय देखाइयो । अब गन्तव्य नजिकिइसकेकाले यताउता, भित्र–बाहिर, स्क्रिन र शौचालयतिर दृष्टि दिँदैगर्दा भर्नुपर्ने फाराम आइपुग्यो । पूर्व मित्रले जानकारी दिएअनुसार अत्यावश्यक र आफू विश्वस्त भएका विवरण भरिदिएँ । मेरो समय अनुसार ६ः३० बजेको समयमा जहाजले हवाइ मैदानमा अवतरण गरेको आभास भयो । अब Transit तिर लाग्नु थिएन । यात्रुहरुको भिडसँगै EXIT लेखिएको गेटबाट भित्र पस्यौँ । केही पर सुरक्षा चेकजाँच भइरहेको थियो । आफ्नो सामान लिएर मेसिनमा राख्यौँ । आपत्तिजनक वस्तु नभएकोले खासै समस्या भएन । यहाँ बुक गरिएका सामान ट्रलीमा घुमिरहेको समयमा आफ्नो सामान चिनेर निकाल्नुपर्दोरहेछ । अनुभवको कमीले त्यहाँ केही ढिलो भएकाले संभवतः बाहिर निस्कँदा हामी अन्तिम यात्री थियौँ । बाहिर मात्र हेर्दै हिँडिरहेको समयमा छोराले ‘बुवा’ भनेको सुनेपछि हाम्रा पाइला रोकिए । त्यतिबेलासम्म माघ १० गते बिहान ७ः३० बजेको थियो भने त्यहाँको समयमा मध्य गर्मीको मध्यान्हको ११ः३० बजेको थियो । यसरी सिङ्गापुर हुँदै सिड्नीसम्मको यात्राले ८ः३० बजे कोठामा पुगेर विश्राम लिएको थियो ।