घरेलु हिंसामा परेकी पुष्पा गिरीद्वारा न्याय र सुरक्षाको माग – Kanika Khabar
Monday, December 8Nepali News Portal

घरेलु हिंसामा परेकी पुष्पा गिरीद्वारा न्याय र सुरक्षाको माग

    मा प्रकाशित

दाङ, २० कात्तिक ।

घरेलु हिंसामा परेकी तुलसीपुर उपमहानगरपालिका–६ निवासी पुष्पा गिरीले न्याय र सुरक्षाको माग गरेकी छिन् । बुधबार घोराहीमा पत्रकार सम्मेलन गर्दै गिरीले श्रीमान् रतन गिरी र घरपरिवारबाट वर्षौँदेखि भोगेको यातना सार्वजनिक गर्दै न्याय र सुरक्षाको माग गरेकी गरेकी हुन् ।

१६ वर्षमा प्रेम विवाह गरेकी पुष्पाले माइती पक्ष गरिब भएकै कारण परिवारले स्वीकार गर्न नमानेको र पछिल्लो समयमा श्रीमान अर्की महिलासँग लागेर आफूलाई शारीरिक र मानसिक यातना दिने गरेको बताइन् । २०७८ मङ्सिर ५ गते विवाह भए पनि परिवारले स्वीकार नगर्दा एक वर्ष घरमा बसे पनि बाहिर बस्दै आएको बताइन् ।

उनले भनिन, ‘विवाह भएपछि एक वर्ष घरमा बसेँ । त्यस क्रममा जेठाजुले विभेद गर्नुभयो, त्यसै क्रममा झगडा हुँदा श्रीमानसँग सल्लाहमै सुरुमा माइती र पछि कोठा गरी बस्दै आएका थियौँ’, पत्रकार सम्मेलनमा पुष्पाले भनिन्, ‘त्यही क्रममा ढाई वर्ष अघि श्रीमान् विदेश जानुभयो । विदेश गएपछि सुरुमा राम्रै थियो, कुराकानी हुन्थ्यो तर एक वर्षदेखि फोन नगर्ने र खर्च पनि पठाउन छोड्नुभयो ।’

घरपरिवारसँगै श्रीमान्ले बेवास्त गरेपछि न्यायका लागि तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिदेखि प्रहरीलगायतका ठाउँमा गए पनि न्याय पाउन नसकेको बताइन् । उनले श्रीमान् सम्पर्कमा नआएपछि आफूले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको र त्यही आधारमा प्रहरीले कुबेतबाट श्रीमानलाई नेपाल बोलाएपछि घर आएको समयमा श्रीमानले आफूमाथि कुटपिट गरेको बताइन् ।

‘अहिले श्रीमानले अर्को बिहे गरिसकेको छु, मलाई छोड् भनेर शारीरिक तथा मानसिक यातना दिनुहुन्छ’, उनले भनिन्, ‘हामीबाट साढे दुई वर्ष र डेढ वर्षका दुई छोरी छन् । अहिले छोरी समेत मेरा होइनन् भन्नुहुन्छ ।’ उनले आफूले विवाह दर्ता र छोरीहरूको जन्मदर्ता गराउन आग्रह गर्दा पनि श्रीमान् र परिवारबाट नमानेको बताइन् ।

बस्नलाई घर नभएको र श्रीमानसँगै परिवारले साथ नदिँदा आफन्तसँग मागेर दैनिक गुजरा चलाउनुपर्ने बाध्यता रहेको बताइन् । श्रीमान् र ससुरालीले राजनीतिक आडमा आफ्नो कुरा दबाउने र ज्यान मार्ने धम्की दिइरहेको आरोप उनले लगाइन् । ‘कतै गएर उजुरी गरे पनि तिनीहरूको राजनीतिक पहुँचले मेरो कुरा दबिन्छ’, उनले भनिन्, ‘अब म र मेरा छोरीहरूको जीवन खतरामा छ ।’ पत्रकार सम्मेलनमा पुष्पाले आफू र नाबालक छोरीहरूको ज्यानको सुरक्षा, पीडकलाई कानुनी कारबाही र न्यायपूर्ण समाधानको माग गरिन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्