‘थारू कला र संस्कृतिलाई पर्यटनसँग जोडेर आम्दानी लिनुपर्छ’ – Kanika Khabar
Friday, January 23Nepali News Portal

‘थारू कला र संस्कृतिलाई पर्यटनसँग जोडेर आम्दानी लिनुपर्छ’

    मा प्रकाशित

लीलाधर वली
दाङ, २० पुस ।

माघी पर्व नजिकिएसँगै थारू बस्तीमा चहलपह बढ्न थालेको छ । थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी पर्व आउन केही समय बाँकी रहे पनि माघीको अवसरमा हुने विभिन्न कार्यक्रमले थारू समुदायलाई उत्सवमय बनाउँदै लगेको छ ।

थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी पर्व नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा माघी पर्वलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रमसहितका महोत्सव हुन थालेका छन् । यसै सन्दर्भमा शनिवार घोराही स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा थारू कल्याणकारिणी सभा दाङले आयोजना गरेको माघ महोत्सवले जिल्लामा माघीको चहलपहल बढाएको छ ।

थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूष संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा परम्परागत भेषभूषामा सजिएका थारू युवायुवतीले थारू समुदायका झुम्रा, लाठीलगायतका विभिन्न मौलिक नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मनोरन्जन दिएका थिए । माघ महोत्सवलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको परम्परागत कला र संस्कृतिको संरक्षण तथा संवर्धन गर्दै त्यसलाई व्यावसायिक रूपमा अघि बढाउन जरुरी रहेको बताए ।

थारू कल्याणकारिणी सभा दाङले शनिवार घोराहीमा आयोजना गरेको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृतिलाई पर्यटनसँग जोडेर आम्दानीको माध्यम बनाउन सकिने बताएका हुन् । थारू समुदायका संस्कृतिहरू केवल माघ पर्वका अवसरमा मात्र सीमित नराखी वर्षैभरि प्रस्तुत गर्ने र व्यवस्थित ढङ्गले विकास गर्न आवश्यक रहेको भन्दै मुख्यमन्त्री आचार्यले भने, ‘थारू समुदायको कला, संस्कृतिलाई माघीमा मात्र प्रस्तुत गर्ने होइन, यसलाई पर्यटनसँग जोडेर वर्षभरि आम्दानी गर्ने गरी अघि बढाउनुपर्छ ।’

कला संस्कृतिको धनी जाति थारूको कला, संस्कृति र भेषभूषालाई संरक्षण गर्दै पर्यटनसँग जोडेर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको भन्दै कार्यक्रका मुख्यमन्त्री आचार्यले त्यसतर्फ विशेष ध्यान दिन सुझाव दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने गरी कार्यक्रम अगाडि बढाउनुपर्ने भन्दै आवश्यक परे प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताए । थारू संस्कृति जोगाएर राख्ने समुदायप्रति आभार व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायलाई राज्यको मूलधारमा ल्याउने उद्देश्यसहित प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

थारू समुदायको कला, संस्कृति, सभ्यता र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण तथा सिकाइका लागि थारू सङ्ग्रहालयलाई उपयोग गरिएको बताए । प्रदेश सरकारको बजेटबाट थारू सङ्ग्रहालय निर्माण गरिएको जानकारी दिँदै उनले देशभरका थारू समुदायको भेषभूषा, संस्कृति र परम्पराबारे सिक्न सक्ने साझा केन्द्रका रूपमा सङ्ग्रहालय स्थापना गरिएको बताएका थिए ।

संस्कार र संस्कृति पुस्तान्तरण हुनु आवश्यक रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । भौगोलिक विविधता जस्तै समुदाय अनुसार कला र संस्कृतिमा रहेको विविधता नै लुम्बिनी प्रदेशको वैभव भएको उनको भनाइ थियो ।

थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताले थारू समुदायको कला, संस्कृतिलाई दाङको साझा सम्पत्तिका रूपमा सबैले अघि बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङकी उपप्रमुख चेतना चौधरी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महटावाँ महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतले माघ महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

महोत्सवमा दुई दर्जन बढी थारू समुदायका विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । माघ महोत्सवमा थारू संस्कृतिसँगै थारू समुदायको परम्परागत खाना ढिक्री, घोँगी, माछा, मासु, अनदीका रोटीलगायतका विभिन्न परिकारसमेत व्यवस्थापन गरिएको थियो । महोत्सव सुरु हुनुपूर्व घोराही बजारमा ¥यालीसमेत गरिएको थियो । रचना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण थारू कल्याणकारिणीसभा दाङका सचिव अर्नव चौधरीले गरेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्