प्रचण्डको वालुवाटार भेटवार्ताबारे ब्रिफिङ : उताबाट आएको प्रस्तावमा मैले कुनै जवाफ दिएको छैन, मेरो सुन्ने मात्रै काम भयो – Kanika Khabar
Thursday, April 18Nepali News Portal

प्रचण्डको वालुवाटार भेटवार्ताबारे ब्रिफिङ : उताबाट आएको प्रस्तावमा मैले कुनै जवाफ दिएको छैन, मेरो सुन्ने मात्रै काम भयो

    मा प्रकाशित

कनिका खबर
साउन २९, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग दिउँसो भएको कुराकानीबारे आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

काठमाडौंको थापागाउँस्थित एक कलेजमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठसहित आफ्नो समूहनिकट प्रदेश ५ का करिब २० जना केन्द्रीय सदस्यसँग वालुवाटार भेटवार्ताबारे व्रिफिङ गरेको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘अर्का अध्यक्षसँग भएको वार्ताबारे प्रचण्ड कमरेडले जानकारी गराउनुभयो’, ती सदस्यले प्रचण्डको व्रिफिङ उधृत गर्दै भने, ‘महासचिव विष्णु पौडेलले सहमतिका लागि भन्दै केही डकुमेन्टहरु पेश गर्नुभयो । त्यसमा यो कार्यकालभर केपी ओली नै प्रधानमन्त्री हुने, पार्टीको कार्यकारिणी अधिकार प्रचण्डले लिने । अहिलेसम्म कमजोरी भएकै हो । त्यसमा आत्मालोचना गर्ने र अब हुने नियुक्तिहरु पार्टीको निर्णयमा मात्रै गर्ने भन्ने प्रस्तावहरु आए । तर ठोस प्रस्ताव आएको छैन ।’

बैठकमा बस्नेसम्मको कुरा आएकाले त्यसलाई सकारात्मक रुपमा आफूले लिएको पनि प्रचण्डले जानकारी गराएका थिए । अन्य प्रस्तावमा भने प्रचण्डले कुनै प्रतिकृया नदिएको जानकारी गराएका थिए ।

बिहीबारको ओली प्रचण्ड बैठकमा पनि ओलीले केन्द्रीय समिति र स्थायी समितिभन्दा पनि सचिवालय बैठकबाटै सहमति खोज्न जोड गरेपनि प्रचण्डले जारी स्थायी समिति त्यसै अलपत्र छोड्न नहुने भनेपछि स्थायी समिति बैठकमा ओली बस्न तयार भएका थिए ।

‘उताबाट आएको प्रस्तावमा मैले कुनै जवाफ दिएको छैन । आज पहिलो दिन सुन्ने मात्रै काम भयो’, प्रचण्डले सहभागीहरुलाई बताएका थिए । त्यस्तै हालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा बदल्ने भन्ने हल्ला बाहिर आएपनि त्यसबारे प्रस्ताव नआएको प्रचण्डको भनाई छ ।

त्यस्तै ओलीका तर्फबाट पौडेलले गरेको प्रस्तावमा पार्टी एकतालाई अझ मजबुत बनाउँदै अघि बढ्ने पनि उल्लेख गरिएको व्रिफिङका क्रममा प्रचण्डले सुनाएका छन् ।

‘पार्टी एकतालाई अझ बलियो र सम्मृद्ध बनाउने भन्ने कुरा छ । त्यो हामी सबैले भनेकै कुरा हो’, प्रचण्डले भनेका थिए । छलफलमा प्रचण्डसहितका नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव समेत मागेका थिए ।

सहभागी केन्द्रीय सदस्यहरुले विधि विधानको सबैले पालना गर्नुपर्ने भन्दै विधिभन्दा माथि कोही नहुने भएकाले ओलीले पुनः सहमतिका नाममा आफैमाथि पर्ने काम गर्नसक्ने भएकाले सचेत हुन सुझाव दिएका थिए ।

बिहीबार नौ दिनको मौनतापछि ओली प्रचण्डबीच चार घण्टा भेटवार्ता लगत्तै प्रचण्ड थापागाँउ पुगेर त्यसबारे जानकारी गराएका थिए । यसअघि बुधबार पनि प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्