काठमाडौँ । ब्राजिलका स्टार फुटबलर नेइमार फेरि घाइते भएका छन् । विश्वकपका लागि ब्राजिल टोलीमा परेपछि सान्तोसबाट खेलिरहेका नेइमारलाई पिँडुलामा समस्या देखिएको हो ।
उनको क्लब सान्तोसका अनुसार परीक्षणमा नेयमारको दायाँ पिँडुलामा २ मिलिमिटरको सुन्निने समस्या देखिएको छ । क्लबले यो चोट सामान्य रहेको जनाएको भए पनि विश्वकपअघि उनको फिटनेसलाई लिएर चिन्ता बढेको छ ।
३४ वर्षीय नेइमार यसअघि सन् २०२३ मा घुँडाको गम्भीर चोटपछि लामो समय मैदान बाहिर रहेका थिए ।
ब्राजिल टोलीमा मे २७ मा सामेल हुनुअघि उनी फिट हुने अपेक्षा गरिएको छ । सान्तोसका मेडिकल प्रमुख रोड्रिगो जोगाइबले नेइमार अर्को सातासम्म राष्ट्रिय टोलीका लागि तयार हुने बताएका छन् ।
लामो समयपछि राष्ट्रिय टोलीमा फर्किन पाउँदा भावुक बनेका नेइमारले आफ्नो नाम घोषणा भएपछि धेरै घण्टा रोएको बताएका छन् ।
ब्राजिलका प्रशिक्षक कार्लो आन्चेलोट्टीले पूर्ण रूपमा फिट खेलाडी मात्रै टोलीमा चाहेको बताइरहेका बेला नेइमारको चोटले थप चासो बढाएको छ ।



