काठमाडौँ । नेपाल वातावरण पत्रकार समूहले विश्व वातावरण दिवसको अवसरमा विगत चार दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२५ पत्रकार विद्या राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल न्यूज डट कमकी वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेवापत राईलाई नगद तथा प्रमाण–पत्र प्रदान गरिने भएको हो ।
समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२५ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत सान्दर्भिकता, निरन्तरता, भाषा÷शैली र समावेशिताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२५ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहले प्रकाशित गरेको सूचना अनुसार पत्रकारहरुले आवेदन दिएका थिए ।
समूहका पूर्व अध्यक्ष कसमस विश्वकर्माको संयोजकत्वमा समूहका पूर्व महासचिव संगीता लामा र विज्ञसदस्य बटुकृष्ण उप्रेती सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको हो ।
समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२५’ पाउने उनी ३९औँ पत्रकार हुन् । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।


