काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ । संविधान संशोधन सम्बन्धी सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेर छलफल गरेको हो । सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक रूपमा संविधान संशोधनका विभिन्न विषयमा छलफल तथा सुझाव आदानप्रदान गरेको जनाएको छ । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेकपा (एमाले)का डा. भीष्मनाथ अधिकारी, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का पूर्वमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राप्रपाका ज्ञानेन्द्र शाही, जसपा नेपालका डा. सुरेन्द्र कुमार झा, लोसपाका डा. आभाष लाभ र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल सदस्य रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने कार्यदलमा अहिलेसम्म आफ्नो सदस्य पठाएको छैन ।
२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राती इरानमाथि ‘अत्यन्त ठूलो आक्रमण’ गर्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले इरानी नौसेना, वायुसेना, राडार, हवाई प्रतिरक्षा प्रणाली तथा अधिकांश आक्रमण क्षमता पहिले नै ध्वस्त भइसकेको दाबी गर्दै थप सैन्य कारबाही हुने बताएका हुन् । ट्रम्पले निकट भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप तथा अन्य तेल पूर्वाधारमाथि नियन्त्रण स्थापित गर्ने र इरानको तेल तथा ग्यास बजारमा पूर्ण नियन्त्रण हासिल गर्ने दाबी समेत गरेका छन् । उनले भनेका छन्- ‘अमेरिकाले इरान (जसको नौसेना, वायुसेना, राडार, विमान विरोधी, र अन्य सबै प्रकारका रक्षा, यसको अधिकांश आक्रामक क्षमता सहित, समाप्त भइसकेको छ !) लाई आज राती धेरै कडा प्रहार गर्नेछ । धेरै टाढाको भविष्यमा, हामी खार्ग टापु र अन्य तेल पूर्वाधार बिन्दुहरू कब्जा गर्नेछौं, र तिनीहरूको तेल र ग्यास बजारहरूको पूर्ण नियन्त्रण लिनेछौं, जस्तै हामीले भेनेजुएलासँग गरेका छौं, जुन भेनेजुएला र संयुक्त राज्य अमेरिका दुवैको लागि उत्कृष्ट रूपमा काम गरिरहेको छ।’ खार्ग द्वीप इरानका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । इरानबाट निर्यात हुने अधिकांश कच्चा तेल यही द्वीपस्थित टर्मिनलमार्फत विश्व बजारमा पुग्ने गर्छ । यसअघि पनि ट्रम्पले खार्ग द्वीपलाई निशाना बनाउने चेतावनी दिएका थिए । मार्च २०२६ मा उनले अमेरिकी सेनाले त्यहाँका सैन्य संरचनामाथि ठूलो आक्रमण गरेको दाबी गरेका थिए । ट्रम्पको पछिल्लो अभिव्यक्ति अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला आएको हो । पछिल्ला दिनहरूमा दुवै देशबीच सैन्य कारबाही भइरहेका छन् भने सम्भावित सम्झौताबारे कूटनीतिक संवाद पनि जारी रहेको बताइएको छ । यदि ट्रम्पले संकेत गरेअनुसार नयाँ आक्रमण भयो भने त्यसले मध्यपूर्वको सुरक्षा अवस्था मात्र होइन, विश्वव्यापी तेल बजार र ऊर्जा आपूर्तिमा समेत ठूलो प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।
३- नेपाल प्रिमियर लिग (एनपीएल) को टिम जनकपुर बोल्टसले तेस्रो सिजनको लागि पाँच खेलाडी रिटेन गरेको छ । जनकपुरले मार्की खेलाडी रहेका आसिफ शेखलाई रिलिज गरेको छ । जनकपुर बोल्ट्सले ललित राजवंशी, अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ । जनकपुर बोल्ट्सले ५ जना रिटेन गर्दा मार्की आसिफसहित ७ खेलाडीलाई रिलिज गरेको छ । जनकपुरले किशोर महतो, शुभ कंसाकर, तुलबहादुर थापा, पप्पु यादव, सचिन भट्ट र रुपेश सिंहलाई रिलिज गरेको हो । जनकपुरले ७ जना रिटेन गर्न पाउने नियम भए पनि ५ जनालाई मात्र रिटेन गरेको छ ।
४- इरानले फिफा विश्वकपका खेलका क्रममा आधिकारिक रूपमा स्वीकृत नभएका झण्डा प्रदर्शन भए वा राष्ट्रिय टिमविरुद्ध नारा लगाइए इरानी टिमले खेल नै रोक्न सक्ने चेतावनी दिएको छ । इरानका खेलकुदमन्त्री अहमद दुन्यामालीले यस्तो चेतावनी दिएका हुन् । इरान विश्वकपमा समूह ‘जी’ मा रहेको छ । उसले पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजील्याण्डसँग खेल्नेछ । जुन २१ मा सोही स्थानमा बेल्जियमसँग भिड्नेछ भने जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । इरानी सञ्चारमाध्यमका अनुसार मन्त्री दुन्यामालीले फिफालाई यसबारे जानकारी दिइसकेको बताउँदै यदि स्टेडियममा स्वीकृत नभएका झण्डा ल्याइए वा टोलीविरुद्ध नारा लगाइएमा खेल रोक्ने जिम्मा टिम व्यवस्थापनले लिने बताएका छन् । उनले इजिप्टविरुद्धको खेललाई लिएर कुनै पनि अवाञ्छित घटना नहुने आश्वासन प्राप्त भएको पनि बताएका छन् । यसअघि अप्रिलमा भ्यानकुभरमा फिफा कांग्रेस बाहिर प्रदर्शनकारीले इरानलाई विश्वकपबाट हटाउन माग गरिएको थियो । इजिप्टसँगको खेललाई लिएर एलजीबीटीक्यू सम्बन्धी गतिविधिबारे पनि विवाद उठेको थियो । यसैबीच, प्रतियोगिताअघि इरानी टिमले व्यवस्थापकीय समस्या पनि भोगिरहेको बताइएको छ । टिकट वितरण रद्द भएको, समर्थकहरूको यात्रा योजना प्रभावित भएको र भिसा तथा यात्रा सम्बन्धी कठिनाइ देखिएको बताइएको छ । अमेरिकी होमल्याण्ड सुरक्षा विभागले भने इरानी टिमलाई आफ्ना प्रत्येक खेलभन्दा एक दिनअघि मात्रै अमेरिका प्रवेश गर्न अनुमति दिइने जनाएको छ ।
५- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषी र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । जसमध्ये हाम्रो नयाँ कृषी सहकारीको १२ जना र कृषी विकास बहुउदेश्यीय सहकारीका १२० जना ऋणीहरू छन् । समितिले वैशाख २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ । त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।
६- विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न राय प्राप्त भएको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्य योजनाको ७४ (ख) बमोजिम विद्युत् विकास विभागबाट जारी भएका अनुमतिपत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमतिपत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो । समितिले उत्पादन अनुमति प्राप्त गरेको पाँच वर्षको अवधिमा समग्र प्रगति ५० प्रतिशतभन्दा माथि रहेका २२० मेगावाट क्षमताका १५ वटा आयोजनालाई प्राथमिकताको सूचीमा राखेको छ । त्यस्तै पाँच वर्षको अवधिमा ५० प्रतिशत नजिक प्रगति गरेका ५ हजार ६४२ मेगावाट क्षमताका १३१ वटा आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा राखेको छ । साथै काम गरिहेका तर विभिन्न कारण लक्ष्यअनुसार काम गर्न नसकेका मिश्रित अवस्थाका १ हजार १२४ मेगावाट क्षमताका ३८ वटा आयोजनालाई छिटो आयोजना सम्पन्न गराउन सहजीकरण गर्नुपर्ने सूचीमा राखेको छ । तर, सोही अवधिमा प्रगति अत्यन्तै कमजोर रहेका ४ हजार १२१ मेगावाट क्षमताका ७५ वटा आयोजनालाई समस्याग्रस्त आयोजनाका सूचीमा राख्दै कारबाहीको प्रक्रिया लैजान सिफारिस गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा पीपीए भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र रद्द हुने उल्लेख छ । जसअनुसार अनुमति लिएर लामो समयसम्म काम नगर्ने आयोजनामाथि कारबाही गर्न बाटो खुलेको छ । उता २०७६ सालभन्दा अघि उत्पादन अनुमति लिएका तर हालसम्म कुनै प्रगति नभएका १६९ मेगावाट क्षमताका ११ वटा आयोजनालाई पनि विद्युत विकास विभागले खारेजीमा लैजान सिफारिस गरेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ । ती आयोजनालाई उत्पादन अनुमतिपत्र प्राप्त गर्दाको शर्त पालना नगरेको तथा विद्युत नियमावली २०५० को नियम २१ बमोजिम कार्य नभएकाले विद्युत् ऐन, २०४९ को दफा ८ बमोजिम खारेजी प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ ।
७- फुटबलको सबैभन्दा ठूलो महाकुम्भ ‘फिफा विश्वकप २०२६’ आजदेखि अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा सुरु हुँदैछ । विश्वकै सबैभन्दा ठूलो एकल खेल प्रतियोगिताका रूपमा परिचित यसपटकको विश्वकप खेलका कारण मात्र नभई, इतिहासकै कीर्तिमानी पुरस्कार राशिका कारण पनि निकै चर्चामा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले यस संस्करणको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ, जसले फुटबल र अन्य खेलहरूबीचको आर्थिक अन्तरलाई अझ स्पष्ट पारेको छ । सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको कुल पुरस्कार राशि ४४० मिलियन अमेरिकी डलर रहेकोमा यसपटक सन् २०२६ को संस्करणमा यो रकम बढेर ६५५ मिलियन अमेरिकी डलर पुगेको छ, जुन नेपाली रुपैयाँमा करिब एक खर्ब बराबर हुन्छ । यसपटक प्रतियोगिताको मुख्य उपाधि जित्ने विजेता टोलीले मात्रै ५० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ, जुन नेपाली रुपैयाँमा करिब करिब साढे ७ अर्ब हुन आउँछ । त्यस्तै, फाइनलमा पराजित हुने उपविजेता टोलीले ३३ मिलियन अमेरिकी डलर चित्त बुझाउनुपर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले २९ मिलियन अमेरिकी डलर र चौथो स्थानमा रहने टोलीले २७ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पाँचौँदेखि आठौँ स्थान अर्थात् क्वार्टरफाइनलसम्म पुग्ने चारवटा टोलीले समान १९–१९ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । नवौँदेखि सोह्रौँ स्थान (राउन्ड अफ १६) सम्म पुग्ने टोलीहरूको भागमा १५–१५ मिलियन अमेरिकी डलर पाउने छन् । यसैगरी, सत्रौँदेखि बत्तिसौँ स्थानमा रहने टोलीहरूले ११–११ मिलियन डलर पाउने फिफाको आर्थिक योजनामा उल्लेख छ । प्रतियोगितामा सहभागी भई तेत्तिसौँदेखि अठ्चालीसौँ स्थान अर्थात् समूह चरणबाटै बाहिरिने टोलीहरूले पनि खाली हात फर्कनु पर्ने छैन, उनीहरूले ९–९ मिलियन अमेरिकी डलर प्रदर्शन पुरस्कारबापत प्राप्त गर्नेछन् । फिफाको आर्थिक संरचना केवल मैदानको प्रदर्शन र स्थानका आधारमा दिइने पुरस्कारमा मात्र सीमित छैन । प्रतियोगिताका लागि छनोट भएका प्रत्येक टोलीलाई फिफाले १० मिलियन अमेरिकी डलर छनोट भुक्तानी तथा २.५ मिलियन अमेरिकी डलर तयारी अनुदानसमेत प्रदान गर्नेछ । यसको अर्थ, यदि कुनै टोली समूह चरणबाटै बाहिरियो र प्रतियोगिताको सबैभन्दा अन्तिम स्थानमा रह्यो भने पनि उसले ९ मिलियन डलर प्रदर्शन पुरस्कार, १० मिलियन डलर छनोट भुक्तानी र २.५ मिलियन डलर तयारी अनुदान गरी कुल २१.५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब २७ करोड नेपाली रुपैयाँ) रकम घर लैजान पाउनेछ । फिफाका अनुसार विश्वकप २०२६ मा सहभागी हुने कुल ४८ वटा टोलीबीच विभिन्न शीर्षकमा गरेर कुल ८७१ मिलियन अमेरिकी डलर वितरण गरिनेछ । यसले विश्व फुटबलको विशाल आर्थिक शक्ति र यो प्रतियोगिताको बढ्दो व्यावसायिक महत्वलाई देखाएको छ ।
८- कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाहरुबाट झण्डै १० करोड केजी रासायनिक मल नउठेको पाइएको छ । कृषि कम्पनीको जिल्ला शाखा कार्यालयमा रहेको ९ करोड ८२ लाख ३५ हजार ४५० किलो रासायनिक मल नउठाएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । जिल्लास्थित शाखा कार्यालयमा केन्द्रले मल पठाएपनि उठ्न नसकदा किसानले समयमा मल प्राप्त गर्न सकेको अवस्था देखिदैन । कोशी प्रदेशका शाखा कार्यालयमा १ करोड १९ लाख ५४ हजार ५०० केजी यूरिया मल मौज्दात रहेको छ भने, डीएपी २० लाख ९२ हजार ६०० केजी मौज्दात छ । यस्तै, पोटास ३२ लाख ४८ हजार ८५० केजी मौज्दात रहेको कम्पनीको तथ्यांक छ । तर शाखा कार्यालयबाट उठ्न सकेको अवस्था देखिदैन । यस्तै, मधेश प्रदेशको शाखा कार्यालयबाट पनि रासायनिक मल नउठाएको अवस्था छ । यो प्रदेशमा विभिन्न शाखा कार्यलयमा ३ करोड ११ लाख ३१ हजार २०० केजी यूरिया, १ करोड १४ लाख ५६ हजार २०० केजी डीएपी र ५५ लाख ८४ हजार ६०० केजी पोटास मल मौज्दात छ । यस्तै, बागमती प्रदेशमा ४० लाख ९३ हजार ३०० केजी यूरिया, ५ लाख ९९ हजार १५० केजी डीएपी र २ लाख ५१ हजार ७५० केजी पोटास मौज्दात रहेको कृषि कम्पनीको तथ्यांक छ । गण्डकी प्रदेशका जिल्ला शाखाहरुमा ४ लाख ६ हजार ६५० केजी यूरिया, १ लाख ३० हजार ८०० केजी डीएपी र ६१ हजार ८०० केजी पोटास मौज्दात छ । तर यहाँबाट पनि मल नउठाइएको अवस्था छ । यसैगरी, लुम्बिनी प्रदेशका जिल्ला कार्यालयमा १ करोड ५० लाख ३५ हजार ८५० केजी यूरिया, ४६ लाख ४३ हजार ९००केजी डीएपी र ४४ लाख १२ हजार ४०० केजी पोटास मौज्दात छ । कर्णाली प्रदेशका कृषि कम्पनीका जिल्ला शाखामा २ लाख १२ हजार २५० केजी यूरिया, ७४ हजार ६५० केजी डीएपी, ४८ हजार ९५० केजी पोटास मौज्दात छ । यस्तै, सूदूरपश्चिम प्रदेशस्थित कृषि कम्पनीका जिल्ला शाखामा २४ लाख ५४ हजार १०० केजी यूरिया, २ लाख ९३ हजार २५० केजी डीएपी र ४ लाख २३ हजार २०० केजी पोटास मौज्दात छ ।
९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश अधिवेशनमा सभापतिमा पराजित भएपछि गोमा तामाङ ‘सरिन’ ले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् । प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालबाट उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन् । सरिनले भनेकी छन्- ‘आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ रास्वपाको कोशी प्रदेशको सभापति चन्द्रबहादुर राई विजयी भएका छन् । राईले २८० मत प्राप्त गरेर विजयी भएका हुन् । त्यस्तै गोमा तामाङ सरिनले १४१ मत प्राप्त गरेकी छन् भने चन्द्रकुमार गौली निरजले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् । सभापतिमा पराजित भएपछि सरिनले भनेकी छन्- ‘आखिर माथिको ह्विप भन्दै हराएरै छड्यौ मानिय तृतीयज्युर केन्द्रिय सदस्यज्यु धन्यवाद तपाईं चौथाज्युहरुलाई सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले यो कारण गुटबन्दीको घाउले पिरल्छ कोशीलाई भनेर तर यो मेरो सोझो सिधापन आज दुखाइ भो बैलाई । हजुरीको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।’
१०- नेकपा एमालेकी नेतृ पदमा अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भएको टिप्पणी गरेकी छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद अर्यालले करका दर हेरफेर गरेको विषयमा अर्थमन्त्रीले अन्तरविरोधी भनाई राखेको आरोप लगाउदै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएकी छन् । उनले भनिन्- ‘अर्थमन्त्रीज्यू तपाइँको प्रकाण्ड विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भयो, शायद हेर्ने बेला भयोकी मन्त्रीज्यू ।’ सुर्तिमा कर घटाएर विद्युत र शिक्षामा कर लगाएको आरोप लगाउदै इतिहासमा पहिलो पटक सुर्तीमा करका दर घटाइएको आरोप लगाएकी छन् । बजेटको यथार्थता खोक्रो भएको टिप्पणी गर्दै उनले कृषि, पर्यटन र उद्योग कुन क्षेत्रलाई बजेटले अगाडी ल्याउन खोजेको हो स्पष्ट नरहेको बताएकी छन् । बजेट तल्लो बर्गलाई तल नै राख्ने र माथिल्लो बर्गलाई झन् माथि लैजाने किसिमको रहेको बताउदै तल्लो बर्गका लागि ठोस कार्यक्रम नै नरहेको बताएकी छन् । उनले सिमित स्वार्थ समुहको प्रभावमा परेर मध्यरातमा करका दर हेरफेर गरेको आरोप लगाएकी छन् ।
११- नेप्सेमा आज गिरावट आएको छ । आज विहिबार नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ९२ लाख ३१ हजार २१६ कित्ता शेयर ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ मा कारोबार भएको थियो । आज होटल्स र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपान फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपोलो हाइड्रोको शेयर १४.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.५१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सिटी होटल्सको २३ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।
१२- इरानको इस्लामिक रिभोलुसनरी गार्डले आफ्नो एयरोस्पेस बल र नौसैनिक युद्धक विमानहरूले अमेरिकी सेनाको उक्साहटपूर्ण गतिविधिको जवाफस्वरूप कारबाही गरेको दाबी गरेको छ । इरानले कुवेतस्थित अली अल सलेम र अहमद अल जाबेर तथा बहराइनस्थित शेख इसा हवाई अड्डासहित अमेरिकाका १८ महत्वपूर्ण सैन्य अड्डामाथि आक्रमण गरी ध्वस्त पारिएको दाबी गरिएको छ । यद्यपि इरानको उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । यसबीच कुवेती सेनाको प्रधान कार्यालयले आफ्नो वायु प्रतिरक्षा प्रणालीले शत्रुपक्षका हवाई लक्ष्यहरूलाई अवरोध गरिरहेको जनाएको छ । कुवेती सेनाले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा नागरिकहरूलाई सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन र मार्गनिर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै सेनाले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न अनुरोध गरेको छ । इरानी आक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।
१३- सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा एक करोड २६ लाख ९६ हजार २६८ रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानबाट आर्थिक वर्ष २०७९/८० मा भेटेरिनरी कार्यालय भवन निर्माणका लागि चार करोड ४९ लाख ९८ हजार २७२ को लागत अनुमान तयार गरिएकोमा राष्ट्रियस्तरको खुला बोलपत्र आह्वानका लागि सूचना प्रकाशित गरिएको भनी नक्कली पत्रिका तयार गरी प्रक्रिया अघि बढाइएको खुलेको छ ।बोलपत्र खोल्दा राधाकृष्ण निर्माण सेवा, राजविराज र श्रीराम निर्माण सेवा, रौतहटले प्रस्ताव पेस गरेका र त्यसपछि बोलपत्र मूल्याङ्कन समितिले तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झाको निर्देशनमा राधाकृष्ण निर्माण सेवासँग मिलेमतो गरी श्रीराम निर्माण सेवालाई प्राविधिक मूल्याङ्कनमै अयोग्य ठहर गरेको आरोप छ ।अनुसन्धानबाट सार्वजनिक खरिद नियमावलीको व्यवस्था विपरीत श्रीराम निर्माण सेवाको आर्थिक प्रस्ताव नै नखोली राधाकृष्ण निर्माण सेवाको बोलपत्र स्वीकृत हुने गरी गलत मूल्याङ्कन प्रतिवेदन तयार गरिएको देखिएको छ । पछि श्रीराम निर्माण सेवाले पुनरावलोकनको माग गर्दै निवेदन दिए पनि त्यसमा कुनै कारबाही नगर्ने निर्णय गरिएको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधिको उपस्थितिमा पछि खोलिएको आर्थिक प्रस्तावअनुसार श्रीराम निर्माण सेवाले दुई करोड ८९ लाख ६४ हजार २४१ मा काम सम्पन्न गर्ने प्रस्ताव गरेको थियो । तर राधाकृष्ण निर्माण सेवासँग भने चार करोड १६ लाख ६० हजार ५१० मा सम्झौता गरिएको पाइएको छ। यसरी कम रकममा काम गर्न तयार निर्माण कम्पनीलाई अयोग्य ठहर गरी बढी रकमको प्रस्ताव स्वीकृत गर्दा सार्वजनिक सम्पत्तिमा एक करोड २६ लाख ९६ हजार २६८ को हानि पुगेको अनुसन्धानबाट खुलेको छ । अख्तियारले यस प्रकरणमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरीका इन्जिनियर छैटौँ अशोक कुमार सिंह र एसिस्टेन्ट सबइन्जिनियर प्रेम कुमार सिंह तथा राधा कृष्ण निर्माण सेवा र उक्त निर्माण सेवाका प्रवन्धक कौशल्या कुमारी रजकविरुद्ध भ्रष्टाचार तथा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याएको कसुरमा बिगो असुल तथा सजायको मागसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाइएको छ ।
१४- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटप्रति टिप्पणी गर्दै फुकेको बेलुनको संज्ञा दिएका छन् । विहिबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद सिंहले बजेटमा करिब ७ खर्बको घाटाको बजेट ल्याएको भन्दै यो हावा भरेको बजेट भएको टिप्पणी गरेका हुन् । उनले भने- ‘दक्षिण एशियामा कुनै देशनै छैन जहाँ ३२-३३ प्रतिशत जीडीपीको बजेट बनाइन्छ, यो आफैमा ठुलो फुकिएको बेलुन हो । फुकिएको बेलुन यो धेरै टिक्दैन, यो कार्यान्वयन हुदैन, अरुलाई विश्वास भएपनि मलाई विश्वास छैन ।’ उनले बजेटबाट कति प्रतिशत जनता खुशी भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका छन् । उनले संविधानले शिक्षा र स्वास्थ्य मौलिक हक भएको भन्दै त्यसमा कर लगाउने काम गरेको भन्दै बजेटको आलोचना गरेका छन् । सिंहले अर्थमन्त्री बुढानिलकण्ठको विद्यार्थी भएको भन्दै आफुले सात प्रदेशमा आवासीय विद्यालयको अवधारणा बजेटमा आउने अपेक्षा गरेपनि त्यस्तो कुनै कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।
१५- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको आरोप लगाएका छन् । विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले करको विषयमा आफूहरुले संसदीय छानविन समितिको माग गरेको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउदै आफुहरुले अर्थमन्त्रीलाई काम गर्न दिनु हुँदैन भनेर नभनेको स्पष्ट गरेका छन् । उनले महालेखा परीक्षकको रिपोर्ट उल्लेख गर्दै इभी गाडीहरुमा त्यसका क्षमतालाई तलमाथि गरेर मात्रै तातोपानी, कोरला र रसुवागढीबाट मात्रै दुई अर्ब ५० करोड ८३ लाख १६ हजार अघिल्लो सरकारले छुट दिएको र त्यसको छानविन गर्नुअपर्छ भन्ने विषय आफुहरुले उठाएको बताए । उनले जेठ १ गतेदेखि १४ गतेसम्म ३ हजार सवारीसाधन नेपाल भित्रिएको बतौडिया गाडी २१ गते आए पनि भन्सार पास भने १४ गते भएको देखिएको बताउदै करको दर थाहा नभई ति गाडीहरु कसरी आए भन्ने प्रश्न गरेका छन् ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५ हजार १ सयले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४६५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४७४० मा कारोबार भएको थियो ।
१७- सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । कुल निष्काशित शेयरमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर निष्काशन तथा बाँडफाँड गरिसकिएको छ । त्यस्तै ४२ हजार कित्ता सामूहिक लगानी कोष र १७ हजार कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ । यी हिस्साबाहेक बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन अवधि असार २ गतेसम्म कायम रहनेछ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गरिएको साख मूल्याङ्कनमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
१८- पोर्चुगलले मैत्रीपूर्ण खेलमा नाइजेरियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेइकाओले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका अकोर एडम्सले एक गोल गरेका थिए । पोर्चुगलले विश्वकप अघि खेलेको अघिल्लो मैत्रीपूर्ण खेलमा चिलीलाई पनि २-१ गोल अन्तरले नै पराजित गरेको थियो । अब पोर्चुगलले विश्वकप अन्तर्गतको खेलमा जुन १७ मा डिआर कंगोको सामना गर्ने छ भने जुन २३ मा उज्बेकिस्तान र जुन २८ मा कोलोम्बियासँग खेल्ने तालिका रहेको छ ।
१९- अमेरिका र इरानबीचको तनाव थप चर्किँदै गएको छ । अमेरिकी सेनाले विहिबार बिहान इरानका विभिन्न महत्वपूर्ण स्थानलाई लक्षित गर्दै पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी आक्रमण भएको विषयमा इरानी समाचार संस्थाहरूले पनि पुष्टि गरेका छन् । इरानी सञ्चारमाध्यमका अनुसार किश टापु र बन्दर अब्बास क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । आक्रमणपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको बताइएको छ । यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी आक्रमणपछि हर्मुज जलडमरूमध्य सबै जहाजका लागि बन्द गरिएको दाबी गरेको छ । उक्त निकायले जलमार्ग प्रयोग गर्ने प्रयास गर्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनीसमेत दिएको छ । अमेरिकाको आक्रमणपछि इरानले पनि बहराइनमा रहेको अमेरिकी आधारलाई निशाना बनाएको बताइएको छ । यसैबीच, अमेरिकाले हर्मुज जलडमरूमध्य नजिकै रहेको ‘सेत्तेबेल्लो’ नामक तेलवाहक जहाजमाथि क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ । आक्रमणका कारण जहाजको इन्जिन कक्षमा आगलागी भएको थियो । जहाजमा २८ जना चालकदल सदस्य सवार रहेका थिए । तीमध्ये २४ जना भारतीय नागरिक रहेका थिए । घटनापछि २१ भारतीयलाई सुरक्षित उद्धार गरिएको छ भने ३ जना अझै बेपत्ता रहेको बताइएको छ । पलाउको झण्डा बोकेको उक्त तेलवाहक जहाज आक्रमणको समयमा ओमानको सोहार बन्दरगाहबाट करिब ३७ किलोमिटर टाढा रहेको जनाइएको छ । यद्यपि, अमेरिकी केन्द्रीय कमान्डले व्यावसायिक जहाजहरूको आवतजावत हर्मुज जलडमरूमध्यमार्फत अझै जारी रहेको जनाएको छ । तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी दाबी अस्वीकार गर्दै आफ्नो आदेश कार्यान्वयनमा रहेको र क्षेत्रको सुरक्षा नियन्त्रण आफ्नै हातमा रहेको जनाएको छ । अमेरिका र इरानका परस्परविरोधी दाबीका बीच विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने हर्मुज जलडमरूमध्यको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।
२०- सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको अवस्था छ । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोमार्फत किसानलाई सिधै मल बिक्रि गर्ने मन्त्रालयको चेतावनी छ । मन्त्रालयले गरेको पछिल्लो निर्णय अनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ र डोटी जिल्लाका स्थानीय तहले तोकिएको परिमाणको मल नउठाएको कृषि सामग्री र साल्ट ट्रेडिङको तथ्यांक छ । साथै कैलालीको गोदावारी नागपालिकाले २१ हजार २३० किलो, गौरीजंगग नगरपािलका ६ हजार ६९० किलो, जानकी गाउँपालिकाले १० हजार २५० किलो र धनगढी महानगपालिकाले २१ हजार ५०० किलो रासायनिक मल उठाएका छैनन् । यस्तै, कन्चनपुर जिल्लाका केही पालिकाले पनि रासायनिक मल उठाएका छैनन् । यहाको भिमदत्ता नगरपालिकाले १ लाख ६ हजार ८०० किलो र बेदकोट नगरपालिकाले १ लाख ६ हजार ४ सय किलो मल उठाएका छैनन् । यस्तै, अछाम जिल्लामा पर्ने ५ वटा स्थानीय तहमध्ये साँफेबगर नागरपालिका, बन्नीगढ जयगढ गाउँपालिका र कमल बजार नगरपालिकाले मल लैजान बाँकी छ । खेतीपातीको मुख्य सिजन धान रोपाई सुरु भइसके पनि सम्बन्धित निकायहरुले मल ढुवानी नगरेपछि किसानलाई मलको समस्या देखिन थालेको हो । स्थानीय तहले रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय नगर्दा किसानसम्म मल समयमै पुग्न नसकेको अवस्था छ । वर्षे धान रोपाइँको समय नजिकिँदै गर्दा मल वितरणमा भएको ढिलाइले किसान प्रभावित हुने जोखिम बढेको छ । सुदूरपश्चिम प्रदेशले पाउने कोटामध्ये हाल कृषि सामग्री कम्पनी मार्फत उपलब्ध हुने रासायनिक मलमध्ये कैलालीमा ५२ प्रतिशत र कञ्चनपुरमा ३२ प्रतिशत मल वितरण हुने व्यवस्था छ । बाँकी १६ प्रतिशत मल डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, अछाम र डोटीलगायत अन्य जिल्लाका स्थानीय तहलाई छुट्याइएको छ । तर यी जिल्लाका सरोकारवाला निकायहरुले मल लैजान सकेका छैनन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत वितरण हुने मलमध्ये कैलालीमा ३४ प्रतिशत र कञ्चनपुरमा ५४ प्रतिशत हिस्सा छ । बाँकी १२ प्रतिशत मल अन्य जिल्लाका स्थानीय तहमा वितरण गरिने व्यवस्था रहे पनि ती जिल्लाबाट अपेक्षित रूपमा मल उठान सकेको अवस्था छैन । सुदूरपश्चिम प्रदेशमा ४३ पालिकाले रासायनिक मल बिक्रि गर्दै आएका छन् । यसमध्ये १७ पालिकाले लगेपनि २६ पालिकाले मल लैजान नसकेको अवस्था छ ।


