आज दिनभरका प्रमुख २० समाचार बुलेटिन – Kanika Khabar
Monday, June 15Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    मा प्रकाशित

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का  प्रक्रिया सुरु गरिएको हो । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन नेपाल सरकारसमक्ष पेश भइसकेको छ। उक्त प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ भने कार्यान्वयनलाई प्रभावकारी बनाउन आठ सदस्यीय समिति समेत गठन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदनमा उल्लेख भएका जग्गाको स्वामित्व परिवर्तन रोक्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

२-  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट ल्याएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् । जस अनुसार पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख, चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख बजेट विनियोजन गरिएको छ ।  साथै वित्तीय व्यवस्थातर्फ ३ अर्ब ५५ करोड समेत गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट प्रस्तुत गरिएको छ । बजेटका स्रोतमा आन्तरिक राजस्वबाट ६ अर्ब ६१ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३१ करोड तथा वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, ससर्त अनुदानबाट ४ अर्ब ४५ करोड, समपूरक अनुदानबाट ७६ करोड र विशेष अनुदानबाट ६३ करोड प्राप्त हुने उल्लेख गरिएको छ । त्यसैगरी नेपाल सरकारबाट रोयल्टीबाट प्राप्त हुने ३० करोड र ३ अर्ब ७३ करोड नगद मौज्दातबाट व्यहोर्ने उल्लेख छ ।

३- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले ४० अर्ब ४४ करोडको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री लिङ्थेपले चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड २० लाख तथा वित्तीय व्यवस्थापनतर्फ १५ करोड बजेट विनियोजन गरेका छन् । यसैगरी, स्थानीय तहहरूका लागि पाँच अर्ब ५६ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । बजेटका स्रोतमा आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड तथा वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, ससर्त अनुदानबाट पाँच अर्ब ९५ करोड, समपूरक अनुदानबाट ६४ करोड र विशेष अनुदानबाट ५५ करोड प्राप्त हुने उल्लेख गरिएको छ। त्यसैगरी सोझै भुक्तानी प्रणालीमार्फत २० करोड व्यवस्थापन गरिने तथा पाँच अर्ब रुपैयाँ नगद मौज्दातबाट व्यहोर्ने उल्लेख छ ।

४- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट ल्याएको छ । सोमबार प्रदेशसभामा गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले चालु आर्थिक वर्षको भन्दा १ अर्ब २ करोड बढी २ अर्ब ९९ करोड ९९ लाखको बजेट ल्याएका हुन् । बजेटमा चालुतर्फ १२ अर्ब ७२ करोड २६ लाख अर्थात् ३८.५६ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख अर्थात् ६०.६८ प्रतिशत विनियोजन गरिएको अर्थमन्त्री शेरचनले उल्लेख गरेका छन् । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २५ करोड विनियोजन गरिएको छ । मन्त्री शेरचनले नेपाल सरकार वित्तीय समानीकरणबाट ७ अर्ब ४ करोड ८२ लाख, राजश्व बाँडफाँट १० अर्ब १६ करोड ४७ लाख, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४ लाख, ससर्त अनुदान ३ अर्ब ९३ करोड, समपूरक अनुदान ५५ करोड ४६ लाख, विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख गरेका छन् । त्यस्तै आन्तरिक स्रोत परिचालनबाट ५ अर्ब ४ करोड १ लाख तथा चालु आर्थिक वर्षबाट २ अर्ब मौज्दात भएको उल्लेख गरेका छन् । त्यसैगरी अपुग १ अर्ब ७५ आन्तरिक ऋणबाट परिपूर्ति गर्ने उनले बजेटमा उल्लेख गरेका छन् ।

५-  नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने गरे पनि यस वर्ष हालसम्म मनसुन भित्रिएको छैन । जल तथा मौसम विज्ञान विभागले भू–उपग्रहबाट प्राप्त तथ्यांक र गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन अझै केही दिन ढिलो हुन सक्ने जनाएको छ । विभागका अनुसार हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस वर्ष प्रशान्त महासागर क्षेत्रमा एलनिनो प्रणाली विकसित भइसकेको र अझै बलियो बन्दै गएको विभागले जनाएको छ । यसको प्रभावका कारण दक्षिण एसियासहित नेपालमा मनसुन कमजोर हुने तथा मनसुन प्रवेशमा ढिलाइ हुन सक्ने सम्भावना रहेको छ । विगतका वर्षहरूमा पनि एलनिनोकै प्रभावका कारण नेपालमा मनसुन ढिलो गरी प्रवेश गरेको थियो । सन् १९७२ मा जुन १८, १९८२ मा जुन २७, १९८३ मा जुन २४, १९८७ मा जुन १४, १९९२ मा जुन २१, १९९७ मा जुन १४, २००२ मा जुन १५, २००९ मा जुन २३, २०१६ मा जुन १५, २०१९ मा जुन २० र २०२३ मा जुन १४ मा मनसुन प्रवेश भएको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गरिने जनाएको छ । विभागले सबैलाई आधिकारिक मौसमी सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ ।

६- अमेरिका र इरानबीच भएको सम्झौतामा लेबनानको विषय उल्लेख भए पनि इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता नलिने स्पष्ट संकेत दिएको छ । ‘द जेरुसलेम पोस्ट’ ले  सम्झौताले इजरायली अडान परिवर्तन नहुने उल्लेख गरेको छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका–इरान सम्झौतामा लेबनान पनि समावेश भएको र त्यहाँ सैन्य कारबाही तत्काल रोक्ने सहमति भएको दाबी गरेका थिए । तर सम्झौता अन्तिम रूप लिनुअघि नै इजरायलले बेरुतको दहियेह क्षेत्रमा आक्रमण गरेको बताइएको छ । आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै तत्काल आक्रमण रोक्न आग्रह गरेका थिए । त्यसैगरी इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्विरले अमेरिका–इरान शान्ति सम्झौताप्रति कडा असन्तुष्टि जनाएका छन् । उनका अनुसार राष्ट्रपति ट्रम्पको उक्त सम्झौता इजरायलमाथि लागू हुँदैन र इजरायल यस सम्झौताको पक्ष होइन । उनले इजरायल अमेरिका मातहतको देश नभएको भन्दै यो स्वतन्त्र र सार्वभौम राष्ट्र भएको बताएका छन् । साथै उनले सम्झौताले देशको सुरक्षा सुनिश्चित नगर्ने पनि टिप्पणी गरेका छन् । बेन ग्विरका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानमा नियन्त्रणमा लिएका क्षेत्रबाट पछि हट्नु नहुने अडान राखिएको छ । सम्झौता घोषणा भएपछि दक्षिणी लेबनानका केही स्थानीय बासिन्दा आफ्नो गाउँ फर्किन थालेको बताइएको छ । तर इजरायली सेना (आईडीएफ) ले सबैलाई फर्किन अनुमति दिने वा नदिने विषय अझै स्पष्ट भएको छैन । रिपोर्टअनुसार विभिन्न गाउँमा फरक–फरक नियम लागू हुन सक्ने र केही क्षेत्रमा अझै पनि नागरिकको फिर्तीमा रोक रहन सक्ने सम्भावना रहेको छ ।

७- आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम ध्वनी मतका साथ पारित भएको छ । सोमबार कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको नगर सभाको १९ औँ अधिवेशनले ध्वनी मतका साथ नीति तथा कार्यक्रम पारित गरेको हो । हिजो अर्थात जेठ ३१ गते बसेको सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख डंगोलले, महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न नभएका वहुवर्षिय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गरेकी थिइन् । उनले पेश गरेको नीतिमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मान्ने उल्लेख गरिएको छ । यो नीतिमा छलफल गर्दै आज नगर सभा सदस्यहरु आशामान संगत, सुमन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रोजिना श्रेष्ठ, हीरादेवी पोखरेल, रुपा थापा क्षेत्री, सन्तोष ढुङ्गेल, आशा श्रेष्ठ रौनियार, टेकराज अधिकारी, नविन मैनाली, हर्कबहादुर खाती, रत्नाकर बज्रचार्य, हरिबहादुुर बस्नेत, सरु अधिकारी, रामबाबु कोइराला, महेश नेपाली, सृष्टि कंसाकार र भगवान बुढाथोकीले सुझाव र संशोधन प्रस्ताव राखेका थिए ।  उनीहरुले पूर्वाधार विकास, सामाजिक विकास, विपद व्यवस्थापन, सहरी व्यवस्थापन, अनौपचारिक क्षेत्रको आर्थिक प्रणाली व्यवस्थापन, मानव तथा पशु कल्याण, तरल फोहर व्यवस्थापन प्रणालीको विकास, तीनकुने जग्गाको मुआब्जाको कार्यान्वयन, उपयोगका आधारमा भवनहरुको वर्गीकरण, समुदाय लक्षित कार्यक्रमहरुको संख्यात्मक वृद्धि, सहरी आचरण, सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन, भवनको अभिलेखन नियमित गर्नुपर्ने, डुवान समाधान, पार्किङ् समाधान, कालोपत्रे सडकमा पार्किङ् नीति, मूर्त अमूर्त सांस्कृतिक सम्पदा बचावटका थप प्रयास, प्राचीन बस्तीका घरहरुको मोहडालाई परम्परागत बनाउने कार्यक्रमको निरन्तरता लगायत विषयमा धारणा राखेका थिए ।  उनीहरुले राखेका धारणा, सुझाव र संशोधन प्रस्तावले महानगरपालिकाको आर्थिक तथा विनियोजन विधेयक तर्जुमा गर्न आधार हुने बताउँदै सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, सभामा राखिएका प्रस्तावहरुलाई कारणका आधारमा संशोधन गरिने प्रस्ताव राखेकी थिइन् । उनको प्रस्तावमा सबै सभा सदस्यहरुले हुन्छ भन्ने मत दिएका थिए भने ‘मत दिन्न‘ र ‘तटस्थ बस्छु’ भन्नेमा कोहि नरहेको महानगरले जनाएको छ ।  आज पारित भएको नीतिका आधारमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा हुनेछ । यसरी तर्जुमा गरिने बजेट तथा कार्यक्रम नगर सभाको तेस्रो बैठकमा पेश हुनेछ । यसका लागि असार ४ गते दिउँसो ३ बजेका लागि समय तोकिएको छ ।

८-  नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रविधिको जगमा उदाएको वैकल्पिक राजनीति धेरै नटिक्ने दाबि गरेका छन् । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वैकल्पिक राजनीति प्रविधिको जगमा मात्र टिक्न नसक्ने र विचारधारात्मक आधार आवश्यक रहेको बताएका हुन् । उनले भने- ‘वैकल्पिक राजनीति प्रविधिको जगमा निर्माण भयो। तर यो दीर्घकालसम्म टिक्न सक्छ कि सक्दैन भन्ने प्रश्न छ । त्यसैले अब समाज फेरि विचारधारातर्फ फर्किनुपर्छ र फर्काउनुपर्छ । समय लाग्ला, तर समाज हिँड्ने बाटो त्यही हो ।’ महासचिव पोखरेलले पपुलिजम र एनार्किजम दुवैले समाजलाई तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र यथास्थितिमा राख्ने प्रयास गर्ने टिप्पणी गरेका छन्  । साथै उनले पपुलिजम र एनार्किजमले तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र समाजलाई यथास्थितिमै राख्ने प्रवृत्ति देखाउने बताए  । उनले भने, ‘पपुलिजम र एनार्किजमले तत्कालका मुद्दाहरूमा आफूलाई केन्द्रित गर्छन् र समाजलाई यथास्थितिमै राख्ने मान्यताको पैरवी गर्छन्। यी यथास्थितिका पोषक हुन् । तर उनीहरूले समाजलाई यति भ्रमित बनाउँछन् कि सबै समस्याको समाधान यिनै हुन् भन्ने जस्तो इम्प्रेशन दिन्छन् ।’ पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले देशको सीमा मिचिएको विषयमा नबोलेर नागरिक तहमा देखिएका समस्याको विषयमा बोलेको आरोप लगाए । यसले देशको स्वाधीनताको पक्षमा चुनौती खडा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले छिमेकको पक्षमा पैरवी गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीले संसदीय प्रणालीभन्दा बाहिर गएर गतिबिधि गरेको आरोप लगाउदै अमेरिकन राष्ट्रपति प्रणाली अनुसार काम गरेको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले देशको प्रणाली अनुसारको यात्रा नमिलेपछि अन्तत: दुर्घटना हुने दाबि गरे ।

९- मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । सोमबार मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका हुन् ।  यो बजेट गत वर्ष भन्दा १३ प्रतिशत कम हो । जसमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात ३५.६४ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात ६४.३६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।  अर्थमन्त्री भट्टराईले बजेटको स्रोत व्यवस्थापनतर्फ संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, संघीय वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख, आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख र चालु आर्थिक वर्षको मौज्दातबाट ६ अर्ब आठ करोड ५२ लाख जुटाउने बजेट वक्तव्यमा उल्लेख गरेका छन् । त्यस्तै अपुग एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने बताइएको छ ।  बजेटमा पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ भने प्रदेशका कर्मचारीको तलब र प्रोत्साहन भत्तामा १० प्रतिशतले वृद्धि गरिएको छ ।

१०- नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १२.७६ अंकले घटेर २७११.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ मा कारोबार भएको थियो ।  आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्रीन विकास बैंकको शेयर ७.९४ प्रतिशतले घटेको छ ।   त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३८ करोड ८५ लाख बराबरको कारोबार भएको छ भने एनबीबीएल डिभेन्चरको २७ करोड बराबरको कारोबार भएको छ ।

११- सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढीमा टेम्पो भीरबाट खसालेको घटनाको छानबिन समिति गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, धनगढीले मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको जनाएको छ । जेठ २९ गते कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्र, गाइमारे चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट पल्टिएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अन्य स्रोतमा आएका समाचार, फोटो र भिडियोपछि छानबिन अघि बढाइएको मन्त्रालयले जनाएको छ  । छानबिन समितिको संयोजकमा वन निर्देशनालय धनगढीका प्रदेश वन निर्देशक हेमराज विष्ट रहेका छन् । समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय धनगढीका कानून अधिकृत विजयराज ओझा सदस्य रहेका छन् । मन्त्रालयले घटनाबारे उठेका प्रश्नको निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयले घटनाबारे ७ दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

१२- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ ३१ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार लालिबजार,रोल नम्बर १, मितज्यू, काजी, लाइफ ड्यामेज र कुम्भको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ । जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले अहिलेसम्म ९ करोड १६ लाख कमाई गरेको छ । त्यस्तै यस फिल्मले ३ लाख ११ हजार ४०३ टिकट बिक्री गरेको छ । त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ३५ लाख १५ हजार कमाई गरेको छ । यस फिल्मले ४७ हजार १५१ टिकट विक्री गरेको छ ।  त्यसैगरी जेठ ८ गतेदेखि प्रदर्शनमा आएको मितज्यूले एक करोड ३२ लाख ५३ हजार कमाई गरेको छ । फिल्मका अहिलेसम्म ४६ हजार १५४ टिकट बिक्री भएका छन् ।  त्यस्तै जेठ ८ गतेदेखि नै प्रदर्शनमा आएको काजीले भने केवल ४४ लाख ४८ हजार ६० कमाई गरेको छ । त्यस्तै जेठ १ गते रिलिज भएको लाइफ ड्यामेजले ३४ लाख ६६ हजार कमाएको छ । त्यस्तै जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म कुम्भले ३ लाख ९१ हजार कमाएको छ ।

१३-  इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्नका लागि संयुक्त राज्य अमेरिका पुगेको छ । दुई देशबीच शान्ति सम्झौता घोषणा भइरहेको समयमै इरानी टोली लस एन्जलस पुगेको हो । इरानले मंगलबार बिहान  न्युजील्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । शान्ति सम्झौताले युद्ध बढ्ने आशंका केही कम गरे पनि टोलीसँग जोडिएका विवादहरू भने अझै अन्त्य भएका छैनन् । इरानका स्ट्राइकर मेहदी तारेमीले दुई देशबीचको तनावको असर टोलीको तयारीमा परेको बताएका छन् । उनका अनुसार तयारी प्रभावित भएको छ । भिसा सम्बन्धी समस्याका कारण इरानी टोलीले आफ्नो विश्वकप बेस क्याम्प अमेरिका नभई मेक्सिकोमा राख्न बाध्य भएको छ । त्यसैबीच लस एन्जलसमा मैदानमा उत्रिँदा त्यहाँ बसोबास गर्ने ठूलो संख्यामा इरानी मूलका मानिसहरूले विरोध प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ । तर खेलाडीहरूले आफ्नो उद्देश्य राजनीति नभई फुटबलमार्फत इरानीहरूलाई एकताबद्ध गर्नु रहेको बताएका छन् ।

१४-  चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती उच्च भू–भाग अनुसन्धान संस्थानको भ्रमण गरेका छन् । सोमबार बिहान भ्रमणका क्रममा आयोजित जानकारीमूलक कार्यक्रममा उनले नेपाल र चीनबीच सम्बन्धित क्षेत्रमा अझ गहिरो सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले अनुसन्धान, विज्ञान तथा पारस्परिक हितका क्षेत्रहरूमा दुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । आइतबार चीन भ्रमणका क्रममा बेइजिङ पुगेका मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ । भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ५ हजारले बढेर तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९३ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर तोलाको ५०१५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।

१६-  स्विडेनले जारी विश्वकपमा विजयी शुरुवात गरेको छ । विश्वकपको समुह एफ अन्तर्गतको मेक्सिकोको मोन्टेरे स्टेडियममा सम्पन्न खेलमा ट्युनिसियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो । स्विडेनको जितमा यासिन अयारीले २ गोल गरेका थिए भने अलेक्जेन्डर इसक, भिक्टर ग्योकेरेस र मातिआस सभानबर्गले एक एक गोल गरेका थिए । त्यस्तै ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल गरेका थिए । यो जितपछि स्विडेन समुह एफमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ । समुह एफमा जापान र नेदरल्याण्डसले बराबरी खेल्दै एक एक अंक हासिल गरेका छन् । अब विश्वकपमा स्विडेनले अर्को खेल जुन २० मा नेदरल्याण्डससँग र जुन २६ मा जापानसँग खेल्ने छ । त्यस्तै ट्युनिसियाले जुन २१ मा जापानसँग र जुन २६ मा नेदरल्याण्डससँग खेल्ने छ ।

१७- अमेरिका र इरानबीच युद्धविराम सम्बन्धी सम्झौता भएको दाबी गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम रूप दिइएको बताएका छन् भने इरानले पनि लामो र कठिन वार्तापछि दुवै देशबीच समझदारीपत्र (एमओयू) तयार भएको जनाएको छ । ट्रम्पले यस सम्झौताअनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्य पुनः खुलाइने र इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाइने बताएका छन् ।  पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देशले आगामी जुन १९ मा स्विट्जरल्यान्डको जेनेभामा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । यदि यो प्रक्रिया सम्पन्न भएमा तेहरान र वाशिङ्टनबीच ४७ वर्षयताकै उच्चस्तरीय भेटवार्ता हुनेछ । यद्यपि, अमेरिका–इरानबीच भएको समझदारीपत्रको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। इरानी सञ्चारमाध्यमका अनुसार उक्त दस्तावेजमा युद्ध तथा सैन्य गतिविधि रोक्ने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानको रोक्का गरिएको केही रकम फुकुवा गर्ने तथा आणविक कार्यक्रम र प्रतिबन्धसम्बन्धी विषयमा आगामी ६० दिनसम्म वार्ताको ढाँचा तय गर्ने विषय समेटिएका छन् । इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले समझदारीपत्रमा हस्ताक्षरपछि सुरु हुने ६० दिने वार्ता अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा गरेपछि मात्र प्रभावकारी रूपमा अघि बढ्ने बताएका छन् । उनका अनुसार अमेरिकाले तीनवटा मुख्य कदम चाल्नुपर्नेछ। पहिलो, नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्नेछ। दोस्रो, युद्ध तथा सबै सैन्य गतिविधि रोक्नुपर्नेछ। तेस्रो, इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्नेछ।

१८-  अफ्रिकी देश आइभरी कोष्टले जारी फिफा विश्वकपमा इक्वेडरलाई पराजित गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा आइभरी कोष्टले इक्वेडरलाई ९०औं मिनेटमा गोल गर्दै रोमाञ्चक जित हासिल गरेको छ । आइभरी कोष्टको जितमा खेलको ९०औं मिनेटमा अमाद डायलोले गोल गर्दै जित दिलाएका थिए । यो जितपछि समुह इ मा आइभरी कोष्टले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । आइभरी कोष्टले अब अर्को खेल जुन २१ मा जर्मनीसँग र जुन २६ मा इक्वेडरसँग खेल्ने छ । त्यस्तै इक्वेडरले जुन २१ मा कुरासाओ र जुन २६ मा जर्मनीसँग खेल्ने तालिका रहेको छ ।

१९- विश्वकपको समूह चरणअन्तर्गत बहुप्रतीक्षित खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । अन्तिम समयमा डाइची कामादाले गरेको गोलले जापानलाई महत्वपूर्ण एक अंक दिलाएको हो । सुरुआती हाफ अपेक्षाकृत सुस्त रह्यो । नेदरल्यान्ड्सले खेलमा बढी दबाब बनाए पनि जापानी गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई खेलमा टिकाइराखे । विशेषगरी डोनियल मालेनका तीन प्रहार उनले बचाएका थिए । दोस्रो हाफ सुरु भएपछि खेलले गति लियो । ५१औं मिनेटमा लिभरपुलका कप्तान भर्जिल भान डाइकले रायन ग्राभेनबेर्खको क्रसमा सटीक हेडमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । तर जापानले छिट्टै जवाफ फर्कायो। ५७औं मिनेटमा केइतो नाकामुराको शक्तिशाली प्रहारलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट फेर्ब्रुगेनले रोक्न नसक्दा खेल १–१ को बराबरीमा पुग्यो । ६४औं मिनेटमा क्रिसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाए । खेलको अन्तिम समयसम्म आक्रामक खेल प्रस्तुत गरेको जापानले ८८औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । कोकी ओगावाको प्रहारलाई डाइची कामादाले हल्का स्पर्शसहित जाली चुमाउँदै टोलीलाई हारबाट जोगाए । डलासमा उपस्थित हजारौं जापानी समर्थकले अन्तिम समयमा आएको यो गोलपछि उत्साहपूर्ण रूपमा खुसी मनाएका थिए । बराबरीसँगै दुवै टोलीले विश्वकप अभियान एक–एक अंकबाट सुरु गरेका छन् । अब जापानले अर्को खेल जुन २१ मा ट्युनिसियासँग खेल्ने छ भने जुन २६ मा स्विडेनसँग खेल्ने तालिका छन् । त्यस्तै नेदरल्याण्डसले अर्को खेल जुन २० मा स्विडेनसँग र जुन २६ मा ट्युनिसियासँग खेल्ने तालिका छन् ।

२०- चार पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओलाई ७–१ ले पराजित गर्दै समूह ‘ई’ को आफ्नो पहिलो खेलमा प्रभावशाली सुरुआत गरेको छ । जर्मनीले खेलको छैटौं मिनेटमै अग्रता लिएको थियो । फ्लोरियन भिर्ट्जको उत्कृष्ट पासमा फेलिक्स नेम्चाले आकर्षक घुमाउरो प्रहार गर्दै प्रतियोगिताकै अहिलेसम्मको सबैभन्दा छिटो गोल गरेका थिए । तर विश्वकप इतिहासकै क्षेत्रफल र जनसंख्याका हिसाबले सबैभन्दा सानो राष्ट्रका रूपमा सहभागी भएको कुरासाओले २१औं मिनेटमा बराबरी गोल गर्दै जर्मनीलाई झट्का दिएको थियो । जुरिखका मिडफिल्डर लिभानो कोमेनेन्सियाको प्रहार जर्मन गोलरक्षक मानुएल नोयरलाई छल्दै जाली चुमेको थियो । ४० वर्षीय नोयर आफ्नो पाँचौं विश्वकप खेल्दै देशका सबैभन्दा बढी उमेरका अन्तर्राष्ट्रिय खेलाडी बने । बराबरी गोलपछि केही समय दबाबमा परेको जर्मनीले पुनः लय समात्यो । निको श्लोटरबेकले कर्नर प्रहारलाई हेडमार्फत गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा काई हाभेर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई ३–१ को सहज अवस्थामा पुर्‍याए । दोस्रो हाफ सुरु भएको ६९ सेकेन्डमै जमाल मुसियालाले चौथो गोल थपे । त्यसपछि नाथानिएल ब्राउनले भलीमार्फत गोल गरे भने वैकल्पिक खेलाडी डेनिस उन्डाभले अर्को गोल थपे । उन्डाभले अन्तिम समयमा हाभेर्ट्जलाई पनि गोलका लागि अवसर सिर्जना गरिदिएपछि जर्मनीले ७–१ को फराकिलो जित सुनिश्चित गर्‍यो । यो जित सन् २०१४ को विश्वकपमा ब्राजिलविरुद्ध सेमिफाइनलमा हासिल गरेको ७–१ को ऐतिहासिक जितसँग बराबरी हो । साथै, जर्मनीले विश्वकप इतिहासमा कुल २३९ गोल पुर्‍याउँदै ब्राजिललाई पछि पारेर सबैभन्दा धेरै गोल गर्ने टोलीको कीर्तिमान पनि बनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्