रुसमाथि युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण – Kanika Khabar
Friday, June 19Nepali News Portal

रुसमाथि युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण

    मा प्रकाशित

काठमाडौँ । युक्रेनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ । रुसको रक्षा मन्त्रालयका अनुसार रातभर करिब एक हजार ड्रोन र चार क्रुज क्षेप्यास्त्र खसालिएका छन् । तीमध्ये करिब २०० ड्रोन राजधानी मस्कोतर्फ अघि बढिरहेका थिए ।

रुसले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय बनाएर धेरैजसो ड्रोन र मिसाइल नष्ट गरिएको दाबी गरेको छ । तर आक्रमणका कारण केही रणनीतिक संरचनामा क्षति पुगेको बताइएको छ ।

आक्रमणका क्रममा दक्षिणी रोस्तोभ क्षेत्रको एक तेल डिपो विस्फोटमा ध्वस्त भएको छ । त्यहाँ एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ । मस्को नजिकैको एक तेल प्रशोधन केन्द्रमा पनि विस्फोट र ठूलो आगलागी भएको छ । विस्फोटपछि तेल ट्याङ्कीको ढक्कन उछिट्टिएर टाढासम्म पुगेको र आकाशमा बाक्लो कालो धुवाँ फैलिएको दृश्य स्थानीयले देखेका थिए ।

त्यस क्षेत्रमा रहेको एक किनमेल केन्द्रमा पनि आगलागी भएको र ड्रोनका टुक्रा खस्दा आवासीय तथा व्यापारिक भवनहरूमा क्षति पुगेको जनाइएको छ । सुरक्षाका लागि केही अग्ला भवन खाली गरिएका थिए । मस्कोका मुख्य विमानस्थलहरूमा केही समयका लागि उडान सेवा रोकिएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई रुसको पछिल्ला दिनको कीभमाथिको कारबाहीको जवाफ भएको बताएका छन् । उनले युक्रेनी सेनाले रुसको युद्ध सञ्चालनलाई सहयोग गर्ने संरचनाहरूलाई लक्षित गरेको पनि उल्लेख गरेका छन् ।

जेलेन्स्कीले अब युद्ध अन्त्य गर्न कूटनीतिक बाटो अपनाउन रुसलाई आग्रह गरेका छन् । उनले युक्रेनी सेना, गुप्तचर निकाय र सुरक्षा निकायहरूको समन्वित कारबाहीको प्रशंसा पनि गरेका छन् ।

आक्रमणका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कजानमा दक्षिण–पूर्वी एसियाली मुलुकका नेताहरूसँग शिखर बैठकमा सहभागी थिए । उनले यस विषयमा अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

सन् २०२२ मा युद्ध सुरु भएयता युक्रेनका ड्रोन आक्रमण सीमित स्तरमा मात्र हुने गरेका थिए । तर २०२३ पछि यस्ता ड्रोनहरू मस्कोसम्म पुग्न थालेका छन् । पछिल्ला वर्षहरूमा युक्रेनले लामो दूरीमा आक्रमण गर्न सक्ने क्षमता बढाएको देखिएको छ ।

यता रुसले पनि राजधानी वरिपरि शक्तिशाली हवाई सुरक्षा प्रणाली तैनाथ गरेको छ । यसका बाबजुद दुबै देशले एकअर्काका तेल डिपो, रिफाइनरी, ऊर्जा केन्द्र र सैन्य संरचनालाई मुख्य निशाना बनाउँदै आएका छन् ।

यसैबीच विश्वका सात प्रमुख औद्योगिक देशहरूको समूह जी-७ ले युक्रेनलाई थप सैन्य सहयोग दिने घोषणा गरेको छ । समूहले युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र रोक्ने उपकरण र लामो दूरीका हतियार उपलब्ध गराइने जनाएको छ ।

साथै रुसको तेल तथा ग्यास उद्योगमा थप कडा प्रतिबन्ध लगाइने पनि घोषणा गरिएको छ । उनीहरूले आउँदो जाडोअघि युक्रेनको ऊर्जा आवश्यकता पूरा गर्न थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्