अमेरिका र इरानबीच स्विजरल्याण्डमा हुने भनिएको वार्ता रद्द – Kanika Khabar
Friday, June 19Nepali News Portal

अमेरिका र इरानबीच स्विजरल्याण्डमा हुने भनिएको वार्ता रद्द

    मा प्रकाशित

काठमाडौँ । स्विट्जरल्यान्डले अमेरिका र इरानबीच शुक्रबार हुने तय भएको वार्ता रद्द भएको पुष्टि गरेको छ । स्विट्जरल्यान्डको बुर्गेनस्टक रिसोर्टमा हुने भनिएको बैठक अब नहुने स्विस विदेश मन्त्रालयले जनाएको हो ।

यो घोषणा हुनुभन्दा केही घण्टाअघि मात्र ह्वाइट हाउसले अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्ड भ्रमण रद्द गरेको जानकारी दिएको थियो ।

भान्सले इरानी वार्ताकारसँग भेट गरी अमेरिका र इरानबीच भएको समझदारीपत्र कार्यान्वयनका प्रक्रिया र कार्यविधिबारे छलफल सुरु गर्ने कार्यक्रम थियो । तर वार्ता रद्द हुनु र भान्सको भ्रमण स्थगित भएसँगै दुवै देशबीचको अर्को चरणको वार्ता तत्कालका लागि अघि नबढ्ने स्पष्ट भएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार लेबनानसँग सम्बन्धित इरानका केही मागका कारण भान्सको स्विट्जरल्यान्ड भ्रमण प्रभावित भएको हुन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिका र इरान तीन महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न भएको अन्तरिम समझदारीपत्रपछि अर्को चरणको वार्ताको तयारीमा थिए । उक्त समझदारीमा सबै मोर्चामा जारी लडाइँ अन्त्य गर्ने विषय समावेश छ, जसमा लेबनानको युद्ध पनि परेको छ । यद्यपि, उक्त सहमतिको व्याख्या र व्यवहारिक कार्यान्वयनका विषयमा अमेरिका र इरानबीच अझै मतभेद कायम रहेको बताइएको छ ।

यसैबीच, जेडी भान्सले इजरायली सरकारका केही मन्त्रीहरूको कडा आलोचना गरेका थिए । उनको अभिव्यक्तिले इरानसँगको सहमति र लेबनानमा इजरायलको सैन्य गतिविधिलाई लिएर अमेरिका र इजरायलबीच तनाव बढिरहेको संकेत गरेको छ ।

यसैबीच, अमेरिकी संसदमा रिपब्लिकन पार्टीका शीर्ष नेताहरूले डोनाल्ड ट्रम्प र इरानबीच भएको सम्झौताबारे विस्तृत जानकारी पाएपछि आश्चर्य व्यक्त गरेको जनाइएको छ । केही नेताले तत्काल प्रतिक्रिया दिनसमेत अस्वीकार गरेका थिए ।

हाल धेरै रिपब्लिकन सिनेटरहरूले उक्त सम्झौतामाथि सार्वजनिक रूपमा प्रश्न उठाउन थालेका छन् । उनीहरूले इरानप्रति ट्रम्पको रणनीतिमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । लुइजियानाका रिपब्लिकन सिनेटर बिल क्यासिडीले भने, ‘यो सम्झौतापछि इरान अझ शक्तिशाली बनेको छ र अमेरिका कमजोर भएको छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्