सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमालेको आपत्ति – Kanika Khabar
Monday, July 13Nepali News Portal

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमालेको आपत्ति

    मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले विभिन्न सञ्चारगृहका कार्यालय अगाडि शंकास्पद रूपमा सवारी साधन राखेर पत्रकार तथा सञ्चारकर्मीलाई त्रसित बनाइएको भन्दै आपत्ति जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सञ्चारकर्मीलाई आतंकित पार्ने उद्देश्यले कार्यालय अगाडि गाडी राखिएको भन्दै घटनाको विरोध गरेका हुन् ।

उनले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मुख्य प्रवेशद्वारमै शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी पत्रकार तथा कर्मचारीको आवतजावतमा अवरोध सिर्जना गरिएको बताएका छन् ।

सोमबार बिहानदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारको आवतजावत रोक्ने प्रयास गरिएको छ ।

एमालेले यस्तो कार्यलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको जनाएको छ। स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको उसको भनाइ छ ।

सञ्चारगृह र पत्रकारलाई भयभीत बनाउने तथा काममा अवरोध पुर्‍याउने उक्त घटनाको एमालेले निन्दा र भर्त्सना गरेको छ । यस विषयमा नेपाल पत्रकार महासंघले अघि सारेका मागप्रति पूर्ण समर्थन रहेको पनि एमालेले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्