कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका –०५ चन्द्रौटास्थित आलोक होटल नजिक पूर्व–पश्चिम राजमार्गमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।
शनिबार राति करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु.प्र.०१–००१ च २०५४ नम्बरको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शिवराज नगरपालिका –०२ हल्लानगर बस्ने १८ वर्षीय शिखर वि.क. गम्भीर घाइते भएका थिए । निधार तथा हातखुट्टामा चोट लागेका उनलाई तत्काल आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा लगिएको थियो भने उनको उपचारकै क्रममा राति ११:४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही स्थानकी २१ वर्षीया शोभा सिर्पालीको टाउकोमा भित्री चोट लागेको छ । उनको चौरहा अस्पताल बुटवलमा उपचार भईरहेको छ ।
दुर्घटनामा संलग्न स्कारपियो, मोटरसाइकल तथा स्कारपियो चालक दाङको घोराही उपमहानगरपालिका –१५ बस्ने २६ वर्षीय केशव रिजाललाई नियन्त्रणमा लिईएको छ । घटनाबारे थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।


