
काठमाडौँ । नेपाली काङ्ग्रेसले सुनसरी र मधेसका विभिन्न जिल्लामा भएका घटना छानबिनका लागि न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको छ। आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको संसदीय दल बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको हो।
बैठकले गम्भीर घटना भएकाले सत्यतथ्य सार्वजनिक गरेर कानुन बमोजिम दोषीलाई कारबाहीको माग गर्ने निर्णय भएको प्रमुख सचेतक वासना थापाले बताइन्।
प्रमुख सचेतक थापाका अनुसार आजको बैठकबाट नागरिक, सांसद र संसदबिच सम्बन्धलाई थप प्रभावकारी बनाउन सांसद समन्वयबारे कार्यादेश पनि पारित गरेको छ।
यस्ता छन् निर्णयहरू
साउन १८, २०८३
प्रेस बिज्ञप्ति
नेपाली कांग्रेस संसदीय दलको बैठक संसदीय दलका नेता माननीय श्री भीष्मराज आङदेम्बेज्यूको अध्यक्षतामा दलको कार्यालय सिंहदरबारमा बसी देहाय बमोजिमका निर्णय भयो ।
निर्णयहरु
१. सुनसरी, सिरहा, धनुषा र पर्सा जिल्लाहरुमा भएका हिंसात्मक घटनाबारे नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ । हामी सदियौँदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै एक आपसी भाइचारा, बन्धुत्व र सामाजिक सद्भाव कायम राख्दै आएकोमा अकल्पनीय रुपमा सामाजिक विदेष फैलाउने घटना घट्नु दु:खद पक्ष हो । सरकारले घटनाको संवेनशीलतालाई वेवस्ता गरी आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्न नसक्दा घटनाले गम्भीर रुप लिएको हुँदा तीन युवाहरुले असामयीक जीवन गुमाउनु पर्योर र थुप्रै मानिस तथा सुरक्षाकर्मीहरु घाइते भए । उक्त घटनाहरुमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ । साथै सम्पूर्ण घाइहरुको पूर्ण शीघ्र स्वास्थ्यलाभको कामना र उनीहरुको उपचारमा सरकारले कुनै पनि कसर बाँकी नराख्न यो बैठक आग्रह गर्दछ । साथै घटनाको निष्पक्ष छानबिनका लागी न्यायीक छानविन समिति गठन गर्न सरकारसँग जोडदार माग गर्दछ । भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षलाई नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।
२. नेपाल सरकारले गरेका कतिपय निर्णयहरु संविधानको मर्म, भावना र विधि सम्मत विपरित भएको हुँदा गलत ढंगले विभिन्न सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा सिफारिस लगायतका निर्णयहरु सच्चाइ विधि र प्रक्रियालाई कानून सम्मत पालना गर्न नेपाल सरकारलाई सचेत गराउँदछ ।
३. नागरिक, सांसद र संसद एक अर्कासँग जोडिन र नेपाली कांग्रेसका सांसदहरुलाई थप जिम्मेवार बनाउने उद्देश्यका साथ तयार गरिएको “नेपाली कांग्रेस संसदीय दल सांसद समन्वय सम्बन्धी कार्यादेश ” संसदीय दलको बैठकमा प्रस्तुत भइ परिमार्जन सहित पारित गर्ने निर्णय गरियो ।
४. संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन बमोजिम स्वकीय सचिव नियुक्ति प्रयोजनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि, २०८३ संसदीय दलको बैठकमा प्रस्तुत भइ परिमार्जन सहित पारित गर्ने निर्णय गरियो ।
५. प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिमा देखिएका समस्याहरु र पछिल्ला समयका कार्यसम्पादनको जानकारी लिने र संवाद एवं सहजीकरणकालाई सहज बनाउन प्रमुख सचेतकको नेतृत्वमा सबै समितिसँग संवाद र परामर्श लिने यो बैठक निर्णय गर्दछ ।
शोक प्रस्तावहरु :
1. पूर्वउपप्रधानमन्त्री, नेपाली कांग्रेसका वरिष्ठ नेता एवं संविधान सभा सदस्य माननीय गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा साउन १२ गते जावलाखेल स्थित हेलिअस हस्पिटलमा उपचारको क्रममा निधन भयो । वि.सं. २०१७ सालदेखि विद्यार्थी जीवनबाट सक्रिय राजनीति सुरु गर्नु भएका स्व। श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको आन्दोलन र २०६२, ६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । उहाँले शान्ति प्रक्रिया अघि बढाउने कार्यमा अग्रपंक्तिमा रहेर काम गर्नुभएको थियो । उहाँ १२ बुँदे सहमतिको हस्ताक्षरकर्ता समेत हुनुहुन्थ्यो । प्रजातन्त्र एवं लोकतन्त्र स्थापनका लागि भएका आन्दोलनमा निरन्तर समर्पित रहँदा उहाँले ६ वर्ष भन्दा बढी जेल जीवन बिताउनु भएको थियो । स्व. श्रेष्ठ वि.स. २०४८ को आमनिर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं १, २०५६ को आमनिर्वाचन र २०६४ सालको संविधान सभा निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनु भएको थियो । २०७० सालमा उहाँ संविधान सभा सदस्य हुनु भएको थियो । उहाँले नेपाल सरकारको उपप्रधानमन्त्री तथा शिक्षा, भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य मन्त्रीका रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ नेपाली कांग्रेस संसदीय दलका पूर्व प्रमुख सचेतक समेत हुनुहुन्थ्यो । नेता श्रेष्ठको निधनबाट राष्ट्रले एक शालिन एवं अनुभवी राजनीतिज्ञलाई गुमाएको छ ।
2. नेपाली कांग्रेसका अग्रज एवं आदर्शवादी नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा गत असार ७ गते उपचारको क्रममा निधन भयो । वि.सं. २००३ सालमा काभ्रेको खरेलथोकमा जन्मनु भएका नेता खरेल नेपाली राजनीतिमा एक शालिन नेताका रूपमा परिचित हुनुहुन्थो । नेपालमा लोकतान्त्रिक व्यवस्थाका लागि भएका हरेक आन्दोलनहरूमा उहाँले अग्रणी भूमिका निर्वाह गर्नु थियो । लोकतान्त्रिक आन्दोलनमा निरन्तर समर्पित रहँदा उहाँले पटक-पटक गरी झण्डै ९ वर्ष लामो जेल जीवन बिताउनु भएको थियो । वि.सं. २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका खरेल उक्त कार्यकालमा शिक्षा राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएको थियो ।
3. नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संविधानसभा सदस्य राजु थापाकी ममतामयी ठूली आमा यमकुमारी थापाको ८४ वर्षको उमेरमा असार १७ गते निधन भयो ।
उहाँहरुको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।


