काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली (एसआरटी) गठन गरेको छ । साउन १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा टोली गठनको घोषणा गरिएको हो । उक्त टोलीमा प्रशिक्षणमा सहभागी ४० जना युवा समावेश गरिएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापन गर्दै प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले तीन दिनको प्रशिक्षणलाई सुरुवातका रूपमा लिएर विपद्मा परेका नागरिकको जीवन बचाउने अभियानमा सक्रिय हुन सहभागीलाई आग्रह गरे । उनले यसअघि पहिरो र बाढीका घटनाका समाचार सुन्ने र हेर्ने अवस्थामा रहेका युवाहरू अब पीडितको उद्धार तथा पुनर्स्थापनामा खटिन सक्ने दक्ष जनशक्तिका रूपमा तयार भएको बताए । शर्माले नेपाली कांग्रेसले देशभर यस्ता एक हजार दक्ष जनशक्ति तयार गर्ने लक्ष्य राखेको जानकारी दिए । प्रशिक्षणमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय रेडक्रसमा काम गरिसकेका ११ जना विपद् विज्ञले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूमा पिताम्बर अर्याल, भोजराज घिमिरे, सुशील पण्डित, तिबेन्द्रराज बाँस्कोटा, रामप्रसाद भट्टराई, सुरेश पण्डित, भूपमणि दाहाल, कल्पना रावल, सौरभी निरौला र लक्ष्मण माली रहेका थिए । कार्यक्रम संयोजक तथा प्रतिष्ठानका सदस्य एवं विपद् विज्ञ मानबहादुर थापाका अनुसार प्रशिक्षणमा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै उद्धार तथा प्रतिकार्यका व्यावहारिक अभ्याससमेत गराइएको थियो ।
२- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने ढाल्ने खेलमा लागेकै कारण अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् । सोमबार २४औँ बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफुहरुले दस्ताबेजमा, संबिधानमा समाजबाद लेखेपनि त्यसअनुसारको आचरण र काम नगरेका कारण अहिले जनताले किनारमा पुर्याएको बताएका हुन् । प्रचण्डले भने- ‘संबिधान घोषणा हुनु अघिसम्म हामी सहि ट्रयाकमा थियौं । संबिधान जारी भएपछि हाम्रो गल्ति शुरु भएको भन्ने मलाई लाग्छ । हामी संबिधान घोषणा भएर सरकारको नेतृत्व गर्न थालेपछि रणनीति छोड्यौं । समाजवाद तर्फ जाने हाम्रो रणनीति हो भनेर त भन्यौं तर रणनीतिक हिसाबले, किताबमा लेख्यौं तर बर्ग संघर्षको सम्बन्ध समाजवाद तर्फ जाने बनाएनौं । हामी प्रधानमन्त्री बनाउने र फाल्नेलाई सफलता देख्ने र त्यसलाई सफलता ठान्ने कुरा नै गल्ति भयो ।’ प्रचण्डले प्रचण्डले आफुहरुले कम्युनिष्ट अनुसारको आचरण नगरेको, नेताहरुले काठमाडौँमा विलासी जीवन बिताएको जनताले नजिकबाट नियाल्दै यी कम्युनिष्ट जस्ता नभएको विश्लेषण गरेको बताए । केन्द्र कै सिको गर्दै प्रदेश र स्थानीय तहमा पनि पद लिने होडबाजी चलेको भन्दै प्रचण्डले कम्युनिष्टको आचरण अनुसार काम नगरेको स्वीकार गरेका थिए प्रचण्डले आफुहरुले कम्युनिष्ट अनुसारको आचरण नगरेको, नेताहरुले काठमाडौँमा विलासी जीवन बिताएको जनताले नजिकबाट नियालेको समेत बताए ।
३- दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईंलाई जिल्ला अदालत भक्तपुरका न्यायाधीश नवराज दाहालले म्याद थप गर्न अस्वीकार गरेपछि प्रसाई रिहा भएका हुन् । प्रहरीले आइतबार राति प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
४- राहदानी ऐन अन्तर्गतको कसूरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार जर्मनी जाने भिसा प्रयोजनका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा यात्रा अनुमति पत्रसहित पुगेका केही व्यक्तिको राष्ट्रियतामाथि शंका उत्पन्न भएपछि सोधपुछ गरिएको थियो । त्यसपछि जर्मन राजदूतावासले २०६८ जेठ २० गते पाँच थान सक्कली यात्रा अनुमति पत्र अनुसन्धान तथा कारबाहीका लागि ब्युरोमा पठाएको थियो । उक्त घटनामा राहदानी ऐन अन्तर्गत अनुसन्धान गर्दै जाँदा यात्रा अनुमति पत्र जारी गर्ने प्रक्रियामा तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृत रहेका पुष्पराज भट्टराईको संलग्नता देखिएको प्रहरीले जनाएको छ । हाल उनी परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा नेपाली प्रवासी समन्वय महाशाखामा सहसचिवका रूपमा कार्यरत छन् । ब्युरोले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत साउन ११ गते काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दायर गरिएको थियो । सोही मुद्दामा प्रतिवादी कायम भएका ५६ वर्षीय भट्टराईलाई साउन १८ गते काठमाडौं महानगरपालिका–त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।
५- सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षका लागि ३ करोड ५० लाख अनुदान दिने तयारी गरेको छ । त्यसका लागि तयार गरिएको कार्यविधिको मस्यौदामाथि सोमबार सरोकारवालासँग छलफल गरिएको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अनुदान वितरण प्रक्रिया पारदर्शी, प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन स्पष्ट कार्यविधि आवश्यक रहेको बताए । उनले सरकारी लगानीबाट बन्ने चलचित्रले नेपालको इतिहास, संस्कृति, राष्ट्रिय पहिचान र सामाजिक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे । छलफलमा सहभागी चलचित्रकर्मीहरूले सरकारको अनुदान नीति सकारात्मक रहेको उल्लेख गर्दै अनुदान वितरणका लागि स्पष्ट, निष्पक्ष र वस्तुगत मापदण्ड बनाउनुपर्ने सुझाव दिएका छन् । उनीहरूले नयाँ तथा उदीयमान चलचित्रकर्मीलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएका छन् । मन्त्रालयका अनुसार सरोकारवालाबाट प्राप्त सुझाव समेटेर कार्यविधिलाई अन्तिम रूप दिइनेछ। कार्यविधि स्वीकृत भएपछि सांस्कृतिक तथा राष्ट्रिय महत्वका उत्कृष्ट चलचित्र निर्माणका लागि अनुदान वितरण गरिनेछ।
६- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि दुई देशबीच नयाँ वार्ता सुरु हुने गरेको दाबी अस्वीकार गरेको छ । इरानले अमेरिकासँग कुनै वार्ता नभएको र त्यस्तो कुनै योजना पनि नरहेको स्पष्ट पारेको हो । ट्रम्पले आइतबार राष्ट्रपतिको विशेष विमानमा सञ्चारकर्मीसँग कुरा गर्दै इरानसँग अप्रत्यक्ष वार्ता सोमबारदेखि सुरु हुने र सम्भावित ठूलो सैन्य आक्रमण पनि स्थगित गरिएको बताएका थिए । उनले मध्यपूर्वका अमेरिकी साझेदार राष्ट्र र इरानको आग्रहपछि आक्रमण रोकेको दाबी गरेका थिए । तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँग कुनै वार्ता नभइरहेको र त्यसको तयारीसमेत नभएको बताएका छन् । उनका अनुसार इरानले ओमानसँग भने होर्मुज जलडमरुको जलमार्ग सुरक्षित राख्ने उपायबारे छलफल गरिरहेको छ । यसअघि पनि अमेरिका र इरानबीच भएका वार्ताहरू मध्यस्थकर्तामार्फत सञ्चालन भएका थिए । ट्रम्पले भने कूटनीतिक समाधानको पक्षमा रहेको दोहोर्याउँदै आवश्यक परे जुनसुकै बेला सैन्य कारबाही गर्न अमेरिका तयार रहेको बताएका छन् ।
७- नेपालमा जुलाई महिनामा विदेशी पर्यटकको अगामन ७१ हजार रहेको छ । गत बर्षको जुलाईमा नेपाल आउने विदेशी पर्यटकको संख्या ७० हजार १९३ रहेकोमा यस बर्षको जुलाई महिनामा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको जुलाई कुल ७१ हजार ७७५ विदेशी पर्यटक आएका छन् । कोभिड शुरु हुनु अघि २०१९ को जुनमा यो संख्या ७४ हजार ८८३ रहेको थियो । जुलाई महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जुनमा २३ हजार ४९० जना अर्थात ३२.७३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जुलाईमा चीनबाट दोस्रो धेरै ११ हजार ९९ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ । त्यसैगरी अमेरिकाबाट ७ हजार ७५४ , बंगलादेशबाट ४ हजार १७९ जना, बेलायतबाट ३ हजार ७७३ जना, अस्ट्रेलियाबाट २ सय ४२८ जना र दक्षिण कोरियाबाट १३९४ पर्यटक जुलाई महिनामा नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल २९ हजार ७५५, एशियाका अन्य देशबाट १७ हजार ४२४ जना, युरोपबाट ९ हजार २७९ जना, अमेरिका क्षेत्रबाट ८ हजार ८२५ जना, ओसिनियाबाट २ हजार ६०७ जना जुलाई महिनामा नेपाल आएका छन् ।
८- काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रकबीच सम्झौता भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको वैठक कक्षमा उनकै रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सहरमा उत्पादन भएको जैविक फोहर व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सम्झौता गरिएको हो । यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजना अन्तर्गत २०७२ मा निर्माण सुरु गरेर २०७५ सालबाट सञ्चालन थालिएको थियो । यो प्लान्ट सञ्चालन गर्दा दैनिक ३ मेट्रिक टन जैविक फोहरबाट १४ किलोवाट विजुली, ३ सय किलोग्राम जैविक मल, १३ हजार ५ सय लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसका लागि महानगरपालिका र युरोपियन युनियनले १ करोड ८२ लाख रुपियाँ लगानी गरेका थिए । प्राविधिक कारणले बिचमा सञ्चालन हुन नसकेको परियोजनालाई पुनः दिगो सञ्चालनमा ल्याउन गरिएको सम्झौता अनुसार महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन तथा मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गर्नेछ । यस्तै, प्लान्ट सञ्चालनका लागि योग्य जनशक्ति वा सञ्चालक छनोट गरी व्यावसायिक मोडलमा लैजाने, पुनःस्थापना पश्चात् संरचनाको पूर्ण स्वामित्व ग्रहण गर्ने गरी वातावरणमैत्री सञ्चालन सुनिश्चित गर्ने, फोहरलाई स्रोतका रूपमा प्रयोग गरी बायो ग्याँस र जैविक मल उत्पादनमार्फत ‘चक्रीय अर्थतन्त्र’ (सर्कुलर इकोनोमी) मा योगदान पुर्याउने जिम्मेवारी महानगरपालिकाको हुनेछ । परियोजना पुनरुत्थानका लागि केन्द्रले प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । उपकरण खरिद, जडान र परीक्षणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । प्लान्ट सञ्चालनका लागि दायित्व यकिन गर्न महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र केन्द्र बिच पटक पटक छलफल भएको थियो । साउन १४ गते कार्यवाहक प्रमुख डंगोल र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ बिच अन्तर सरकार समन्वय र सहकार्यका विषयमा भएको कुराकानीमा वेस्ट टु इनर्जी परियोजना सञ्चालनमा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो । काठमाडौँ महानगरपालिकाले यस परियोजनालाई केवल फोहर व्यवस्थापनमा मात्र सीमित नराखी सार्वजनिक-निजी साझेदारी कार्यक्रम अन्तर्गत व्यावसायिक रूपमा सफल बनाउने योजना अघि सारेको छ । यसबाट कुहिने फोहरको दिगो व्यवस्थापनका लागि प्रविधिको प्रयोग बढ्नेछ । बञ्चरे डाँडामा पुग्ने फोहरको मात्रा घट्नेछ । यससँगै फोहरबाट आम्दानी बढ्नेछ । यसबाट उत्पादित ऊर्जा र मलले सहरको सरसफाइ र वातावरणीय सन्तुलनमा ठुलो टेवा पुग्ने महानगरको विश्वास छ ।
९- सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म काठ बिक्री तथा आपूर्तिबाट प्राप्त आम्दानीलाई झाडी सफाइ, अग्नि रेखा निर्माण, वृक्षारोपण, वन हेरालुको तलब, भैँसी पालन, बाख्रा पालन, डढेलो नियन्त्रण र मौरीपालनलगायतका शीर्षकमा खर्च भएको देखाई नक्कली बिल तथा झुट्टा विवरण तयार गरिएको थियो । अनुसन्धानका क्रममा वन उपभोक्ता समूहका पदाधिकारी र लेखापरीक्षकको मिलेमतोमा समितिको ३९ लाख १२ हजार ५ सय ६० रुपैयाँ ८४ पैसा हिनामिना तथा हानिनोक्सानी गरिएको आयोगले जनाएको छ । आयोगले मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्षहरू खीम बहादुर सावद, पदम सिं सावद र हर्क बहादुर बुढा, सचिवहरू बनौली रोकाय, पूर्ण देवि धामी र तुल्सी दानी तथा कोषाध्यक्षहरू जमान सिंह धामी, रूद्र बहादुर बन्तोला र चक्र बहादुर सावद विरुद्ध मुद्दा दायर गरेको छ। यस्तै, लेखापरीक्षण प्रतिवेदन तयार गर्ने क्रममा अनियमितता गरेको आरोपमा पाठक एण्ड एसोसियट्सका रजिष्टर्ड लेखापरीक्षक डिल्लीराम पाठक र प्रेम बहादुर वि.सी. एण्ड कम्पनीका रजिष्टर्ड लेखापरीक्षक प्रेम बहादुर वि.सी. विरुद्ध पनि मुद्दा दायर गरिएको छ। आयोगका अनुसार प्रतिवादीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १९ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएकाले सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
१०- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले भ्रष्टाचारसम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै अमेरिकाका क्रिकेटर बोडुगुम अखिलेश रेड्डीलाई आठ वर्षका लागि सबै प्रकारका क्रिकेट गतिविधिबाट प्रतिबन्ध लगाएको छ । परिषद्को भ्रष्टाचारसम्बन्धी न्यायाधिकरणले २६ वर्षीय रेड्डीलाई आचारसंहिताका तीनवटा प्रावधान उल्लङ्घन गरेको ठहर गरेको हो । उनीविरुद्ध सन् २०२५ मा संयुक्त अरब इमिरेट्समा भएको आबुधाबी टी-१० प्रतियोगितासँग सम्बन्धित आरोप लागेका थिए । उक्त प्रतियोगिताका लागि इमिरेट्स क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई भ्रष्टाचारसम्बन्धी तोकिएको निकायको जिम्मेवारी दिएको थियो । रेड्डीमाथिको प्रतिबन्ध २०२५ नोभेम्बर २१ देखि लागू हुने गरी गणना गरिएको छ । सोही दिनदेखि उनी अस्थायी रूपमा निलम्बनमा परेका थिए । न्यायाधिकरणले उनलाई खेलको नतिजा वा गतिविधिलाई अनुचित रूपमा प्रभावित पार्ने प्रयास गरेको, अन्य खेलाडीलाई त्यसमा संलग्न गराउन प्रयास गरेको तथा अनुसन्धानका क्रममा मोबाइल फोनबाट प्रमाण हुन सक्ने सन्देश र विवरण मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको ठहर गरेको छ । रेड्डीले अमेरिकाको राष्ट्रिय टोलीबाट चार वटा अन्तर्राष्ट्रिय टी-२० खेल खेलेका छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत उत्तर अमेरिका टी-२० प्रतियोगितामा केम्यान टापुविरुद्धको खेलबाट गरेका थिए ।
११- नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, होटल्स, हाइड्रो, वीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सप्तकोशी विकास बैंकको शेयर ११.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ७.४० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २७ करोड ६२ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २० करोड ८२ लाख बराबरको कारोबार भएको छ ।
१२- सिन्धुलीको फिक्कल गाउँपालिका -२ नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायातको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । नदीमा खसेको कार बससँग ठोक्किएपछि सुनकोसी नदीमा खसेको र कारमा एकजना निर्माण व्यवसायी, एकजना अपरेटरसहित तीनजना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । घटनास्थलमा हाल नेपाल प्रहरी,सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयले संयुक्तरूपमा खोजि कार्य गरिरहेका छन् ।
१३- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक अनुसन्धान सुरु गरेको छ । आयोगले घटनालाई स्वप्रेरणाबाट उजुरीका रूपमा दर्ता गर्दै घटनाको विस्तृत छानबिन अघि बढाएको हो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी तथा आयोगको कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख वीरबहादुर बुढामगरसहितको उच्चस्तरीय टोलीले घटनास्थल पुगेर स्थलगत अनुगमन गरेको छ । टोलीले स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा सुरक्षा अधिकारीसँग घटनाबारे जानकारी लिएको जनाएको छ । आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगको कोशी प्रदेश कार्यालयले जनाएको छ। कार्यालयका निमित्त प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्राचार गर्दै घटनासम्बन्धी विस्तृत विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका छन् । आयोगले घटनाको वास्तविक अवस्था, सुरक्षा निकायको भूमिकासहित मानव अधिकारको अवस्था मूल्याङ्कन गर्न स्थलगत अध्ययनसमेत जारी राखेको जनाएको छ। गत साउन १० गते राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए। आयोगले घटनाका सबै पक्षको निष्पक्ष अनुसन्धान गरी तथ्यमा आधारित प्रतिवेदन तयार पार्ने जनाएको छ ।
१४- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन १७ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई गरेको छ । जस अनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म १३ करोड ६४ लाख ४६ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ४ लाख ९४ हजार ९१५ टिकट बिक्री गरेको छ । त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ७८ लाख ६२ हजार कमाई गरेको छ । यस फिल्मले ७१ हजार ५२८ टिकट विक्री गरेको छ ।
१५- हलिउडको बहुप्रतीक्षित चलचित्र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले प्रदर्शनको पहिलो साताअन्तमै विश्वभरबाट ९२ करोड ७० लाख अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै इतिहासकै दोस्रो ठूलो प्रारम्भिक व्यापार गरेको छ । चलचित्रको निर्माण लागत करिब २२ करोड ५० लाख अमेरिकी डलर रहेको अनुमान गरिएकामा पहिलो साताअन्तमै त्यसलाई धेरै गुणाले उछिनेको हो । पहिलो साताअन्तमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको सूचीमा यो अब ‘एभेन्जर्सः एन्डगेम’ पछि दोस्रो स्थानमा पुगेको छ । ‘एभेन्जर्सः एन्डगेम’ ले सन् २०१९ मा पहिलो साताअन्तमै १ अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी कमाएको थियो । उत्तर अमेरिकामा मात्रै ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले ३३ करोड ५० लाख अमेरिकी डलर कमाउँदै त्यहाँ पनि दोस्रो ठूलो प्रारम्भिक व्यापारको कीर्तिमान बनाएको छ । वास्तविक जीवनमा श्रीमान्-श्रीमती रहेका अभिनेता टम हल्यान्ड र अभिनेत्री जेन्डाया अभिनीत यो चलचित्रले पछिल्ला केही वर्षमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेका मार्भल स्टुडियोलाई ठूलो राहत दिएको विश्लेषण गरिएको छ । विशेषगरी आगामी डिसेम्बरमा प्रदर्शन हुने बहुप्रतीक्षित ‘एभेन्जर्सः डुम्सडे’ अघि यस सफलताले स्टुडियोको उत्साह बढाएको छ । यो चलचित्र सन् २०२१ मा प्रदर्शन भएको ‘स्पाइडर–म्यानः नो वे होम’ को कथालाई अगाडि बढाउने गरी निर्माण गरिएको हो । यसमा पीटर पार्करले आफू नै स्पाइडर म्यान भएको कुरा संसारले बिर्सिसकेको अवस्थामा पनि अपराधविरुद्धको संघर्षलाई निरन्तरता दिएको कथा प्रस्तुत गरिएको छ । चलचित्रले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छ । धेरैले यसलाई टम हल्यान्डको अहिलेसम्मकै उत्कृष्ट स्पाइडर म्यान अभिनय भएको टिप्पणी गरेका छन् । अमेरिकाबाहिर ७३ हजारभन्दा बढी पर्दाबाट चलचित्रले ५७ करोड २० लाख अमेरिकी डलर कमाएको छ । यसमध्ये चीनबाट १२ करोड १० लाख अमेरिकी डलर र बेलायतबाट पहिलो साताअन्तमै ४ करोड ९० लाख अमेरिकी डलर आम्दानी भएको वितरक कम्पनी सोनी पिक्चर्सले जनाएको छ । मार्भल स्टुडियोका अध्यक्ष केभिन फाइगीले चलचित्रको प्रारम्भिक सफलता अविश्वसनीय रहेको बताउँदै ठूलो पर्दामै चलचित्र हेर्न दर्शकले देखाएको उत्साहप्रति आभार व्यक्त गरेका छन् । ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ आगामी ‘एभेन्जर्सः डुम्सडे’ प्रदर्शनअघि मार्भल स्टुडियोको अन्तिम ठूलो चलचित्र हो । ‘एभेन्जर्सः एन्डगेम’ पछि प्रदर्शन भएका मार्भलका धेरै चलचित्रले विगतजस्तो व्यापक दर्शक आकर्षित गर्न सकेका थिएनन् । ‘द मार्भल्स’ र ‘द थन्डरबोल्ट्स’ जस्ता चलचित्रले निर्माण लागत उठाए पनि स्टुडियोका कम सफल चलचित्रमध्ये परेका थिए । यद्यपि स्पाइडर म्यान सिरिज भने मार्भलका सबैभन्दा सफल चलचित्रमध्ये पर्दै आएको छ । यसअघि ‘स्पाइडर–म्यानः नो वे होम’ ले विश्वभरबाट करिब २ अर्ब अमेरिकी डलर बराबरको टिकट बिक्री गरेको थियो । कोभिड–१९ महामारीपछि चलचित्र हलमा दर्शकको उपस्थिति घटेर घरमै अनलाइन माध्यमबाट चलचित्र हेर्ने प्रवृत्ति बढेको थियो। तर यस वर्ष भने चलचित्र हलको व्यापार पुनः लयमा फर्किन थालेको देखिएको छ। उत्तर अमेरिकाको चलचित्र बजार सन् २०१९ यताकै पहिलो पटक १० अर्ब अमेरिकी डलरभन्दा बढी वार्षिक व्यापारतर्फ उन्मुख भएको छ । यस वर्ष ‘टोय स्टोरी–५’, ‘माइकल’ र ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ ले पनि एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाइसकेका छन् ।
१६- म्यानमारकी पूर्व नेता तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकी करिब पाँच वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएकी छन् । सैन्य सरकारले सोमबार सार्वजनिक गरेका केही तस्वीरमा सुकीले अन्तर्राष्ट्रिय रेडक्रस समितिका म्यानमार प्रतिनिधि अर्नो डे बाकसँग भेटवार्ता गरेको देखिएको छ । सन् २०२१ मा सैन्य ‘कू’ पछि बाहिरी संसारसँग भएको उनको यो सबैभन्दा दुर्लभ सार्वजनिक सम्पर्क मानिएको छ । सैन्य सरकारले भेट सोमबार बिहान भएको जानकारी दिएको भए पनि भेट कहाँ भएको थियो र के–कस्ता विषयमा छलफल भयो भन्ने खुलाएको छैन । सार्वजनिक गरिएका तस्वीरमा ८१औँ जन्मदिनको अवसरमा सुकीले केक काटिरहेको दृश्य पनि देखिएको छ । तस्वीरमा उनी मुस्कुराएको र सामान्य अवस्थामा देखिए पनि उनको स्वास्थ्य अवस्थाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएपछि सुकीलाई पक्राउ गरिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी थिइन् भने बाहिरी संसारसँगको सम्पर्क पनि अत्यन्त सीमित रहँदै आएको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ८ सयले बढेर २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८३ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर तोलाको ४३५० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४३१५ मा कारोबार भएको थियो ।
१८- ग्रीसमा डढेलो नियन्त्रण गर्ने क्रममा दुई वटा हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डेनमार्कका एक हेलिकोप्टर चालक र ग्रीसको अग्नि नियन्त्रण सेवाका सम्पर्क अधिकृत रहेका छन् । अर्को हेलिकोप्टरमा रहेका बेलायती चालक र एक ग्रीक समन्वय अधिकारी भने सामान्य घाइतेसहित बाँच्न सफल भएका छन् । राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा आइतबार भएको दुर्घटनामा एउटा हेलिकोप्टरले अर्को हेलिकोप्टरको पंखामा ठोक्किएपछि आगो लागेको थियो । त्यसपछि एउटा हेलिकोप्टर भीरमा खसेको थियो भने अर्कोले आपत्कालीन अवतरण गरेको ग्रीसको अग्नि नियन्त्रण सेवाले जनाएको छ । दुर्घटनापछि मृतकका शव फेला पारिएको थियो भने घाइते दुई जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा राखिएको छ । घटनाप्रति ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनापछि सावधानीका रूपमा देशभर सञ्चालनमा रहेका सबै बेल हेलिकोप्टरको उडान अस्थायी रूपमा रोकिएको छ । दुर्घटनामा संलग्न चारै चालकदल सदस्यको नाम भने सार्वजनिक गरिएको छैन । ग्रीसमा पछिल्ला केही दिनयता भीषण डढेलो फैलिएको छ । पाँच सयभन्दा बढी अग्निनियन्त्रक विभिन्न क्षेत्रमा आगो नियन्त्रणमा जुटिरहेका छन् । युरोपका अन्य देशहरू पनि लामो गर्मीका कारण डढेलोको समस्यासँग जुधिरहेका छन् । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण तातो र सुख्खा मौसम बढ्दै जाँदा यस्ता डढेलोका घटना थप बढिरहेका छन् ।
१९- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले सोमबारदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा मूल्य कायम गरिएको निगमले जनाएको छ । निगमले खान पकाउने ग्यासको मुल्य भने यथावत राखेको जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ । डिजेल/मट्टितेलको पनि २०० रुपैयाँ प्रतिलिटर भएको छ । निगमका अनुसार पछिल्ला केही महिनायता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर पूर्ण रूपमा लागतअनुसार मूल्य समायोजन नगरिएको हो । भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १७ पैसा, डिजेलमा ४१ रुपैयाँ ७६ पैसा र हवाई इन्धनमा १९ रुपैयाँ १० पैसा लागत बढेर आएको जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ४४ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाब कायम रहेकाले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन निगमले उपभोक्तासँग आग्रह गरेको छ ।
२०- इजरायलले गाजा पट्टीमा लगातार दोस्रो दिन पनि हवाई आक्रमण जारी राखेको छ । प्यालेस्टिनी अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गाजा सहर, खान युनिस र दैर अल–बलाहका आवासीय क्षेत्रमा आक्रमण गरिएको हो । गाजाको नागरिक सुरक्षा निकायले इजरायली लडाकु विमानले विभिन्न बस्तीलाई निशाना बनाएको जनाएको छ । यता, इजरायली सेनाले भने गाजामा रहेका सैन्य संरचना र हमासका लडाकुलाई लक्षित गरी कारबाही गरिएको दाबी गरेको छ । सेनाका अनुसार आक्रमणमा हमासका दुई लडाकुको मृत्यु भएको छ । यो आक्रमण हमासले केही दिनअघि प्रस्तावित निःशस्त्रीकरण योजना स्वीकार गरेपछि भएको हो । उक्त योजनाअनुसार हमासले आफ्ना हतियार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति बोर्ड’लाई हस्तान्तरण गर्ने प्रस्ताव स्वीकार गरेको बताइएको छ । यसैबीच, इजरायलका ऊर्जा मन्त्री एली कोहेनले गाजामा सैन्य कारबाही रोक्ने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । उनले हमासले हतियार नत्यागेसम्म गाजा पट्टीलाई पूर्ण रूपमा इजरायलको नियन्त्रणमा ल्याउनु आवश्यक रहेको बताएका छन् । समाचार संस्था रोयटर्सका अनुसार हाल गाजा पट्टीको करिब ७० प्रतिशत भूभाग इजरायलको नियन्त्रणमा रहेको छ ।


