काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक मन्त्रालयले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५० प्रतिशत भाडा छुट तथा कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन पहल अघि बढाएको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ मा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई वटा सिट सुरक्षित राख्नुपर्ने र यातायात भाडा दरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था रहेको छ । तर, कानुनी व्यवस्था हुँदाहुँदै पनि अधिकांश ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा छुट नपाएको गुनासो मन्त्रालयमा प्राप्त भएपछि मन्त्रालयले यस विषयलाई प्राथमिकताका साथ अघि बढाएको हो । ज्येष्ठ नागरिकले कानुनबमोजिम प्राप्त गर्नुपर्ने छुट तथा सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै आवश्यक सहयोग र सहजीकरणका लागि अनुरोध गरेको छ । मन्त्रालयले ज्येष्ठ नागरिकको अधिकार, सम्मान र सामाजिक सुरक्षालाई व्यवहारमै सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्दै कानुनमा व्यवस्था भएका सुविधा कागजमा मात्र सीमित नराखी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । मन्त्रालयको यो पहलसँगै सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकका लागि कानुनले सुनिश्चित गरेको ५० प्रतिशत भाडा छुट र कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुने तथा ज्येष्ठ नागरिकले आफ्नो अधिकार सहज रूपमा उपभोग गर्न पाउने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।
२- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले व्यवसायी गोल्छासँग एक करोड धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले थुनछेक बहसमा उनीसँग धरौटी माग गरेको हो । धितोपत्रसम्बन्धी कसूर गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले गोल्छाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ बिगो माग गरेर मुद्दा दायर गरेको थियो ।
३- नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारबारे भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ५ बुँदे निर्देशन जारी गरेका छन् । मंगलबार ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न निर्देशन दिएका हुन् । निर्देशनमा सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रालय छनोटको आधार उल्लेख छ । जसमा सरकार गठन गर्दा सीट सङ्ख्यालाई मुख्य आधार बनाउन, दुई दलको सहकार्यले सङ्ख्या नपुगे आपसी सहमतिमा तेस्रो दल सहभागी गराएर मन्त्रालय बाँडफाँट गर्न निर्देशन दिइएको छ । पाँच बुँदे निर्देशन: १. सरकार गठनको आधार: प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया प्रत्येक दलको सिट संख्यालाई मुख्य आधार मानिनेछ । २. मन्त्रालय बाँडफाँडको आधार: मन्त्रालयको संख्या सामान्यत दलहरूको प्रदेशसभा सदस्य संख्याको अनुपातमा हुनेछ । मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई पनि समग्र शक्ति सन्तुलनमा गणना गरिनेछ । ३. मन्त्रालय छनोट गर्ने क्रम: > मन्त्रालय बाँडफाँड गर्दा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइनेछ । > पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने । > दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनोट गर्ने । > त्यसपछि यही क्रम पालैपालो दोहोऱ्याउँदै सबै मन्त्रालयको बाँडफाँड गर्ने । > दुई दलको सहकार्यले संख्या नपुग भएको प्रदेशमा तेस्रो दल सहभागी गराउदा आपसी समझदारीमा मन्त्रालय बाँडफाँड गर्ने बाँकी मन्त्रालयको हकमा माथि उल्लेखित प्रावधानलाई नै अबलम्बन गर्ने । ४. संघियताको प्रवद्धन, प्रदेशमा राजनीतिक स्थिरता, सुशासन, सवृद्धी र प्रादेशिक विकासको गतिलाई तिब्र तुल्याउन प्रदेश सरकारले न्यूनतम साझा प्रतिवद्धता निर्माण गरी सार्वजनिक गर्ने। त्यसै आधारमा सरकारले आफ्नो कार्य सम्पादन गर्ने । ५. यी कामहरु गर्दा आपसी समझदारीलाई सुदृढ गर्दै जाने र सहकार्यलाई दीगो बनाउने उद्देश्यलाई ध्यानमा राखी गर्ने ।
४- सिरियाको एक अदालतले अपदस्थ पूर्वराष्ट्रपति बसर अल असद र उनका भाइ माहेर अल असदलाई युद्ध अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ । उनीहरू दुवैको अनुपस्थितिमा फैसला सुनाइएको हो । सिरियामा करिब १४ वर्ष चलेको द्वन्द्वका क्रममा भएका युद्ध अपराधमा उनीहरू दोषी ठहरिएका हुन् । उक्त द्वन्द्वमा करिब ५ लाख मानिसको मृत्यु भएको बताइएको छ । सोही मुद्दामा बसर अल असदका भाई पर्ने आतिफ नजीबलाई पनि मृत्युदण्ड सुनाइएको छ । उनीमाथि सन् २०११ मा दक्षिणी सिरियाको दारा प्रान्तमा सरकारको दमनकारी कारबाहीको नेतृत्व गरेको आरोप थियो । त्यही घटनापछि सुरु भएको विद्रोह विस्तार हुँदै गृहयुद्धमा परिणत भएको थियो । कडा सुरक्षा व्यवस्थाबीच अदालतमा नजीबलाई कारागारको पोसाकमा पिँजडाभित्र राखिएको थियो । अदालतले त्यहीँ उनलाई सजाय सुनाएको हो। नजीब सिरियाली सेनाका पूर्व ब्रिगेडियर जनरल हुन् र सन् २०११ मा दारामा राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए । सिरियामा असद परिवारले करिब पाँच दशक शासन गरेको थियो। हाफेज अल असदपछि उनका छोरा बसर अल असदले लामो समय सत्ता सम्हालेका थिए । सन् २०११ मा अरब क्षेत्रमा फैलिएको जनविद्रोहको प्रभावमा सिरियामा पनि बसर अल असदको सरकारविरुद्ध आन्दोलन सुरु भएको थियो । सरकारी दमनपछि आन्दोलन लामो र रक्तपातपूर्ण गृहयुद्धमा परिणत भएको थियो । सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार उक्त द्वन्द्वमा ५ लाखभन्दा बढी मानिस मारिएका छन् । विद्रोहीहरू दमास्कस प्रवेश गरेपछि सन् २०२४ को डिसेम्बरमा बसर अल असद र उनका भाइ माहेर रुस भागेका थिए । त्यसपछि पक्राउ परेका आतिफ नजीबविरुद्ध मुद्दा चलाइएको थियो ।
५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्की भ्रमणका क्रममा हत्या गर्ने धम्की पाएपछि गोप्य रूपमा विमान परिवर्तन गरेर टर्कीबाट बाहिरिएको खुलासा भएको छ । विमान परिवर्तनसम्बन्धी घटनाबारे अमेरिकी सञ्चारमाध्यमले नयाँ विवरण सार्वजनिक गरेका छन् । ट्रम्प टर्की पुग्दा कतारले उपलब्ध गराएको बोइङ ७४७-८ विमान प्रयोग गरेका थिए । तर धम्कीपछि उनले उक्त विमान छाडेर सानो सी ३२ ए विमानबाट बेलायततर्फ उडान भरेको जनाइएको छ । वासिङ्टन पोस्टका अनुसार ट्रम्पलाई पुरानो एयर फोर्स वन विमानबाट एउटा सामान ढुवानी गर्ने कन्टेनरमार्फत बाहिर निकालेर सी ३२ ए विमानसम्म पुर्याइएको थियो । यस क्रममा सञ्चारकर्मी र केही अधिकारीलाई ट्रम्प अझै पुरानै ठूलो बोइङ विमानमा रहेको विश्वास दिलाइएको थियो । अंकाराबाट पुरानो विमानमा यात्रा गर्ने पत्रकारलाई विमानका झ्यालका पर्दा बन्द राख्नसमेत भनिएको थियो । ट्रम्प नाटोको शिखर सम्मेलनमा सहभागी हुन अंकारा पुगेका थिए । त्यसबेला उनले बेलायतस्थित अमेरिकी सैनिकले नयाँ विमान हेर्न पाऊन् भनेर पुरानो बोइङ ७४७ बाटै यात्रा गर्ने बताएका थिए । तर यसअघि न्युयोर्क टाइम्ससहितका अमेरिकी सञ्चारमाध्यमले इरान समर्थित समूहबाट प्राप्त धम्कीका कारण ट्रम्पले विमान परिवर्तन गरेको विवरण सार्वजनिक गरेका थिए । वासिङ्टन पोस्टले पुरानो बोइङ विमानबाट एउटा सामान बोक्ने गाडी तल झारिएको भिडियोसमेत सार्वजनिक गरेको छ । ट्रम्प विमानमा चढेको केही मिनेटपछि उक्त गाडीलाई सानो सी ३२ ए विमानतर्फ लगिएको देखिएको बताइएको छ । यद्यपि, उक्त भिडियोको स्वतन्त्र पुष्टि भएको छैन । ट्रम्प बेलायत पुगेपछि भने ठूलो विमानबाट बाहिरिएका थिए । दुवै विमान बेलायत पुगेका थिए । त्यसपछि ट्रम्पलाई कतारले उपलब्ध गराएको नयाँ रूपमा तयार पारिएको एयर फोर्स वन विमानमा लगिएको थियो । उनले सानो विमानबाट ठूलो विमानमा कहिले र कसरी यात्रा परिवर्तन गरे भन्ने स्पष्ट भएको छैन । विमान परिवर्तनको घटनापछि कतारबाट प्राप्त नयाँ विमानको सुरक्षा क्षमतामाथि पनि प्रश्न उठेको छ । रिपोर्टअनुसार उक्त विमानमा पुराना एयर फोर्स वन विमानमा रहेका केही सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, नभएको बताइएको छ । कतारको शाही परिवारले गत वर्ष उक्त विलासी विमान ट्रम्पलाई उपलब्ध गराएको थियो । ट्रम्पले यसअघि लामो समयदेखि एयर फोर्स वनका रूपमा प्रयोग हुँदै आएका बोइङ ७४७ विमानको आलोचना गर्दै आएका थिए । नयाँ विमानलाई तीव्र रूपमा सुरक्षा सुविधासहित तयार पारिएको थियो। ट्रम्पले जुलाई १ मा पहिलोपटक उक्त विमानबाट नर्थ डकोटाको यात्रा गरेका थिए । त्यसपछि टर्की भ्रमण उसको पहिलो विदेश यात्रा बनेको थियो । तर विमानको सुरक्षामाथि उठेका प्रश्नको ह्वाइट हाउसले बचाउ गरेको छ । ह्वाइट हाउसले विमानलाई अत्याधुनिक भन्दै यसमा उच्चस्तरीय सुरक्षा व्यवस्था रहेको दाबी गरेको छ । ट्रम्पको सुरक्षाका लागि उपलब्ध सबै सुरक्षा उपाय प्रयोग भइरहेको पनि अमेरिकी अधिकारीहरूले बताएका छन् ।
६- मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका पाँच मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले पहिलो निर्णय नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय गरेको छ भने दोस्रो निर्णय सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । त्यस्तै तेस्रो निर्णय पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने गरेको छ भने चौथो निर्णय वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने र पाँचौं निर्णय पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।
७- सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमानआर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्पसिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्ननिकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागिआवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवले जानकारी दिए । बैठकमा सचिव यादवका साथै अर्थ सचिव र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसहित सम्बन्धित मन्त्रालयका अधिकारी तथासरोकारवालाहरू सहभागी थिए । त्यस अवसरमा जुट मिलको व्यवस्थापन, सञ्चालनकोसम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारेछलफल भएको थियो ।सचिव यादवका अनुसार कार्यदलले पुनः सञ्चालनकालागि आवश्यक आर्थिक, प्राविधिक, कानुनी तथा अन्य सम्बन्धित पक्षको वस्तुगत अध्ययन गर्नेछ। कार्यदलको अध्ययन तथा सिफारिसका आधारमा आवश्यक निर्णय लिइनेछ । सहसचिवको संयोजकत्वमा कार्यदलप्रधानमन्त्री कार्यालयका अनुसार कार्यदलकोसंयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनुहुनेछ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव रकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सदस्य रहने छन् । त्यस्तै, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दुई जना विज्ञ सदस्य मनोनित गरिनेछ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाका उपसचिवसदस्य–सचिव रहनेछन् । कार्यदलले आफ्नो प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयमा पेस गर्नेछ ।मिल पुनः सञ्चालनका सम्बन्धमा यसअघि लिइएकानिर्णय तथा विभिन्न निकायबाट गठन भएका कार्यदलले पेश गरेका प्रतिवेदन, सुझाव रसिफारिसहरूको पनि कार्यदलले अध्ययन गर्नेछ । साथै मिल परिसरमा रहेका भवन, कारखाना,अन्य भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था समेत अध्ययन गरिनेछ । सम्पत्तितथा दायित्वसम्बन्धी विषयको फरफारकका लागि आवश्यक कानुनी तथा व्यावहारिक सुझावसरकारलाई पेस गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ ।
८- नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज मंगलबार नेप्से ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४० कम्पनिका ९५ लाख ३४ हजार २२१ कित्ता शेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा, र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी अपर लोहोरे खोलाको शेयर १४.९९ प्रतिशतले बढेको छ भने आरबीबीएल डिभेन्चरको शेयर ५.९२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी महिला लघुवित्तको १४.९१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ४४ करोड ८७ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३३ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।
९- नेपाली कांग्रेसको देउवा पक्षीय राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनसहित सबै महत्वपूर्ण निर्णय तत्कालका लागि रोक्न आग्रह गरेका छन् । कोइरालाले कांग्रेस केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाउँदै सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा पुनरावलोकनको अनुमति अर्थात् निस्सा प्रदान गरिसकेकाले अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका निर्णय यथास्थितिमा राख्न आग्रह गरेका हुन् । सर्वोच्च अदालतको पूर्ण इजलासले साउन २२ गते उक्त मुद्दा पुनः हेर्ने अनुमति दिएको उल्लेख गर्दै कोइरालाले यससँगै कांग्रेसको वैधानिकता र तत्कालीन नेतृत्वको कानुनी हैसियत पुनः न्यायिक परीक्षणको अवस्थामा पुगेको दाबी गरेका छन् । उनले अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म पार्टीभित्र थप कानुनी जटिलता नहोस् भन्दै तत्कालीन महामन्त्री गगनकुमार थापा तथा सम्बन्धित पक्षलाई महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न आग्रह गरेका छन् । कोइरालाले पार्टीको १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सबै सांगठनिक, प्राविधिक र नीतिगत कार्यतालिका स्थगित गर्न तथा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन राजनीतिक, सांगठनिक, नीतिगत र आर्थिक निर्णय नगर्न माग गरेका छन् । देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ ।
१०- राप्रपाकी सांसद खुस्बु ओलीले उद्योगमन्त्री गौरी कुमारीले आफ्नो आलोचना गर्नेहरुलाई फोन गरेर ग्यास वितरण गरिरहेको भन्दै प्रधानमन्त्रीले स्पष्टीकरण सोध्न माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले जनता तातो घाममा ग्यासको लाइनमा बसेको मन्त्रीले नदेखेको भन्दै दुई चार जनालाई ग्यास बाडेर हिडेको आरोप लगाएकी छन् । उनले भनेकी छन्- ‘उहाँले जनता तातो घाममा ग्यासको लाइनमा बसेको देख्नु भएको छैन । मन्त्रीको काम व्यक्ति व्यक्तिलाई ग्यास बाडेर हिड्ने हो ? कति जनालाई फोन गर्न सक्नुहुन्छ ? उहाँको जिम्मेवारी प्रणालीलाई काम गराउने हो । उहाँले व्यक्तिगत तवरबाट दया गरे जस्तो ग्यास बाडेर हिड्नु भएको छ । राज्यको दया होइन हामीले व्यवस्थापन खोजेका हौँ । राज्य प्रणालीको यसरी क्षयीकरणको गर्न मिल्दैन ।’ सांसद ओलीले प्रधानमन्त्रीले यस घटनामा मन्त्री गौरी कुमारीसँग स्पष्टीकरण लिन र समस्या समाधान गर्न माग गरेकी छन् ।
११- नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्री एक्लै हिड्ने लहड हो की एक्लै परेको हो भन्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता केसीले देश र जनताको हितमा सिंगो संसद तपाइँको साथमा रहेको बताउदै संसदलाई उपेक्षा गरेर नहिड्न सुझाव दिएका छन् । उनले भने- ‘प्रधानमन्त्रीको एक्लै हिड्ने लहड हो की एक्लै पर्नु भएको हो । देश र जनताको हितमा सिंगो संसद तपाइँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संबैधानिक कर्तव्य पालना गर्नुस् ।’ सांसद केसीले संबैधानिक संस्थाहरु कार्यपालिकाका लाचार छाया बनेको, राम्रा प्रयासमा पनि हचुवा विधि विहिन प्रक्रिया देखिएको र लोकतन्त्रमा परिणाम मात्र होइन प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच सरकारमा नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । केसीले सरकारलाई सत्तामा आएको सय दिनमै एक लाख युवा फर्काउने प्रतिबद्धता खोइ भन्ने प्रश्न गर्दै किसानहरु मलको हाहाकारमा रहेको भान्सामा ग्यास नभएको जनता महंगीको मारमा रहेको, विजुलीको टुंगो नरहेको, राहदानीको लागि उस्तै ताती, सुकुम्बासीको बिचल्ली छ, बेरोजगारी बढ्दै गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
१२- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेका सबै समस्या प्रधानमान्त्री बालेन्द्र शाहका कारण भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले ग्यासको समस्यादेखि हरेक स्थानमा लाइन र असन्तुष्टि बढ्नुमा प्रधानमन्त्रीले समन्यव गर्न नसकेको बताएका हुन् । उनले सरकार कमजोर भएका कारण देशमा बेथिति बढेको भन्दै गलत गर्नेलाई कारवाही गर्न के ले रोकेको छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले सुकुम्बासीलाई लालपुर्जा दिन स्थानीय तहले रोकेको आरोप मन्त्रीले लगाएको भन्दै उनले केन्द्रको मन्त्रीले पहलकदमी लिनुपर्ने बताए । साम्पाङले टालटुले काम गरेर नहुने भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । उनले प्रधानमन्त्री संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउन माग गरेका छन् ।
१३- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको राष्ट्रिय भेला तोकिएको मितिमै हुने बताएका छन् । विश्वकर्माले सामाजिक सञ्जालमार्फत राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने निश्चित रहेको भन्दै कुनै पनि भ्रममा नपर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, सभापति शेरबहादुर देउवा साउन २८ गते दिउँसो १२ बजे स्वदेश फर्किएर भेलालाई सम्बोधन गर्ने कार्यक्रम तथा अदालतबाट मुद्दा पुनरावलोकनको अनुमति प्राप्त भइसकेको अवस्थामा केही व्यक्तिले डर र हतास मनस्थितिमा भेला स्थगित भएको भन्दै गलत सूचना फैलाएको आरोप लगाएका छन् । विश्वकर्माले संयोजकको किर्ते हस्ताक्षर प्रयोग गरी तथाकथित तथा नक्कली विज्ञप्ति जारी गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले यस्ता गतिविधि नगर्न र नगराउनसमेत चेतावनी दिएका छन् ।
१४- अमेरिकी अदालतले भारतको अदाणी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध लगाइएको आपराधिक आरोप खारेज गरेको छ । न्युयोर्कको पूर्वी जिल्लाका जिल्ला न्यायाधीश निकोलस गारौफिसले संघीय अभियोजनकर्ताको आग्रहपछि आरोप खारेज गरेका हुन् । भारतमा सौर्य ऊर्जा ठेक्का प्राप्त गर्न घुसखोरी गरेको र अमेरिकी लगानीकर्तालाई भ्रममा पारेको आरोप उनीहरूमाथि लागेको थियो । अमेरिकी न्याय विभागले गत जुलाईमा उक्त मुद्दा सुरु नै हुन नहुने भन्दै आरोप स्थायी रूपमा खारेज गर्न माग गरेको थियो । विभागले कथित गतिविधि मुख्य रूपमा भारतमा भएको र अमेरिकी कानुनअन्तर्गत मुद्दा अघि बढाउन कानुनी आधार कमजोर रहेको तर्क गरेको थियो । अदालतको निर्णयपछि गौतम अडानीले न्यायिक प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै कठिन समयमा पनि सत्य, निष्पक्षता र कानुनी शासनप्रतिको आफ्नो विश्वास अडिग रहेको बताएका छन् ।
१५- कोलम्बियामा पछिल्ला केही वर्षयताकै शक्तिशाली भूकम्प गएपछि कम्तीमा १३२ जनाको मृत्यु भएको छ । भूकम्पपछि सरकारले देशका प्रभावित क्षेत्रमा आपत्काल घोषणा गरेको छ । भूकम्पका कारण धेरै भवन भत्किएका छन् । भग्नावशेषमा अझै मानिसहरू फसेको हुन सक्ने भएकाले मृतकको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भूकम्पमा ४८० भन्दा बढी मानिस घाइते भएको कोलम्बियाको राजधानी सहरहरूको संघले सोमबार जारी गरेको विवरणमा उल्लेख गरेको छ । कोलम्बियाको भूगर्भसम्बन्धी निकायका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा ७.४ परिमाणको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर टाढासम्म महसुस गरिएको थियो । सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये कोलम्बियाको कफी उत्पादनका लागि प्रसिद्ध क्षेत्र पनि रहेको छ । भूकम्पमा पेरिरा सहरमा सबैभन्दा धेरै जनधनको क्षति भएको बताइएको छ। आसपासका सहर तथा भाये देल काउका क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे देल पालमार गाउँनजिक रहेको थियो । गाउँका प्रमुख लियोन फाबियो मारिन मोनकादाका अनुसार गाउँबाट बाहिरिने र भित्रिने सडकहरू क्षतिग्रस्त भए पनि त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरिरा सहरमा भने ठूलो क्षति पुगेको छ । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ६४ सयले बढेर तोलाको ३ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४६७० मा कारोबार भएको थियो ।
१७- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टोलीका पूर्वकप्तान रोहित पौडेललाई उनको नेतृत्व, समर्पण र योगदानका लागि धन्यवाद दिएको छ । क्यानले रोहितको नेतृत्वमा राष्ट्रिय पुरुष टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै नेपाली क्रिकेट यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षणहरू सिर्जना गरेको जनाएको छ । रोहितले टोली, देश र खेलप्रति देखाएको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उनले यही भावना, गौरव र समर्पणका साथ नेपालको सेवा गरिरहने विश्वास व्यक्त गरेको छ । क्यानले रोहितलाई सम्बोधन गर्दै भनेको छ- ‘देशको आशा बोकेर जोश, समर्पण र अटल दृढताका साथ नेपालको नेतृत्व गरेकोमा धन्यवाद रोहित ।’ सन्देशमा क्यानले रोहितले आफ्नो नेतृत्वमा गरेको योगदानको सम्मान गर्दै ‘एकपटकको लिडर सधैको लिडर’ भन्ने भावना समेत व्यक्त गरेको छ । क्यानले रोहितलाई एकदिवसीय कप्तानीबाट हटाएर सन्दीप लामिछानेलाई कप्तानीको जिम्मेवारी दिएको छ । रोहितलाई यसअघि नै टी-२० टिमको कप्तानीबाट हटाएर दिपेन्द्र सिंह ऐरीलाई जिम्मेवारी दिइएको थियो ।
१८- विश्वका धनाढ्य अमेरिकी व्यवसायी तथा अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा समूहले इंग्लिस फुटबल क्लब लिभरपुलमा करिब ३० प्रतिशत हिस्सा किन्नका लागि भइरहेको वार्तालाई अघि बढाएको छ । समूहको नेतृत्व बेलायती-भारतीय व्यवसायी अमित भाटियाले गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक एडुआर्डो सेभेरिन पनि समूहमा सहभागी छन् । लिभरपुलका वर्तमान मालिक फेनवे स्पोर्ट्स ग्रुपले गत महिना उक्त समूहले क्लबमा रणनीतिक अल्पमत हिस्सेदारी किन्न चासो व्यक्त गरेको पुष्टि गरेको थियो । अहिले समूह र क्लबबीचको वार्ता थप अघि बढेको बताइएको छ । अमित भाटिया भारतीय अर्बपति व्यवसायी लक्ष्मी मित्तलका ज्वाइँ हुन् । उनले क्विन्स पार्क रेन्जर्स क्लबमा १८ वर्षसम्म सञ्चालक तथा सहमालिकका रूपमा काम गरेका थिए । गत महिना उनले उक्त क्लबमा रहेको आफ्नो हिस्सा छाडेका थिए । बेजोस विश्वका चौथो धनी व्यक्ति हुन् । अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार ६२ वर्षीय बेजोसको अनुमानित सम्पत्ति करिब २५६ अर्ब अमेरिकी डलर रहेको छ । फेनवे स्पोर्ट्स ग्रुपले सन् २०१० मा करिब ४० करोड डलरमा लिभरपुल किनेको थियो । त्यसपछि समूहले क्लबको केही अल्पमत हिस्सा विश्वव्यापी खेल लगानी कम्पनी डाइनास्टी इक्विटीलाई बिक्री गरिसकेको छ । बेजोसले सन् २०२१ मा अमेजनको प्रमुख कार्यकारीको जिम्मेवारीबाट हटेर कार्यकारी अध्यक्षको भूमिका सम्हालेका थिए । यद्यपि अमेजनमा उनको अझै करिब ८ प्रतिशत स्वामित्व रहेको छ । बेजोसले अमेरिकी पत्रिका द वासिङ्टन पोस्ट र अन्तरिक्ष प्रविधि कम्पनी ब्लु ओरिजिनको समेत स्वामित्व राख्छन् । सन् २०२१ मा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । यसअघि सन् २०२३ मा अमेरिकी राष्ट्रिय फुटबल लिगको टोली वासिङ्टन कमान्डर्स बिक्रीमा राखिएपछि बेजोस उक्त टोली किन्न इच्छुक रहेको चर्चा चलेको थियो । उनले सुपर बाउल विजेता सियाटल सीहक्स किन्न सक्ने सम्भावनाबारे पनि अध्ययन गरेका थिए । तर बेजोसले दुवै टोलीका लागि अन्ततः औपचारिक प्रस्ताव पेश गरेनन् । लिभरपुलमा लगानीको प्रयास सफल भएमा भने उनी पहिलोपटक ठूलो खेलकुद क्लबको स्वामित्वमा प्रत्यक्ष रूपमा प्रवेश गर्नेछन् ।
१९- वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको मंगलबार बिहान उपचारका क्रममा निधन भएको छ । सोमबार राति साढे ११ बजेपछि मुटुको गति र अक्सिजनको मात्रा घटेपछि उनलाई जनकपुरस्थित अस्पताल लगिएको र उपचारकै क्रममा उनको निधन भएको परिवारले जानकारी दिएका छन् । सन् १९४७ मार्च २६ मा जनकपुर–१० देवीचोकमा जन्मिएका विमलले नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा कथा, कविता, गीत तथा विभिन्न कृति लेखेका छन् । उनले नेपाली, हिन्दी र मैथिलीमा स्नातकोत्तर तथा भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए । विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा आबद्ध थिए । उनको ‘कचनार के पेंड’ कथा चर्चित बनेको थियो, जुन उनले १५ बर्षको उमेरमै लेखेका थिए । उनका ‘राजेन्द्र विमलका कथाहरू’, ‘बन्धनबाट मुक्ति’, ‘नवनीत नेपाल परिचये’ लगायत कृति प्रकाशित छन् । उनका ‘बन्धनबाट मुक्ति’ र ‘लंका दहन’ कथा विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश छन् । तराई-मधेशको जीवनलाई कथामार्फत नेपाली साहित्यमा प्रस्तुत गरेको योगदानका लागि उनलाई विसं २०७६ मा मधुपर्क सम्मान र विसं २०६६ मा जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो ।
२०- अफगानिस्तानले आयरल्यान्डलाई तेस्रो एकदिवसीय खेलमा तीन विकेटले हराउँदै सन् २०२७ को एकदिवसीय विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । आयरल्यान्डले दिएको २०७ रनको लक्ष्य अफगानिस्तानले ४४.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तान एक समय ९७ रनमा दुई विकेटको अवस्थामा रहे पनि १७६ रनमा सात विकेट गुमाएपछि खेल रोमाञ्चक बनेको थियो । राशिद खानले अविजित ३७ रन बनाए भने यामिन अहमदजई चार रनमा अविजित रहे । यस जितसँगै अफगानिस्तान विश्व वरीयताको शीर्ष आठभित्र पर्दै विश्वकपमा सिधै छनोट भएको हो । यो अफगानिस्तानको चौथो एकदिवसीय विश्वकप सहभागिता हुनेछ । दक्षिण अफ्रिका र जिम्बाब्वेसहित हुने सन् २०२७ को विश्वकपमा शीर्ष आठ टोलीले सिधै स्थान बनाउनेछन् । अफगानिस्तानसँगै अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, इंग्ल्यान्ड र बंगलादेशले पनि सिधा छनोटको स्थान सुरक्षित गरेका छन् । यसैबीच, दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले भने छनोट प्रतियोगिता खेलेर मात्र विश्वकपमा पुग्न पाउने भएको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन् । आयोजकका रूपमा दक्षिण अफ्रिका र जिम्बाब्वेले सिधै विश्वकपमा स्थान बनाउनेछन् । सिधा छनोटका लागि वरीयताको अन्तिम मिति सन् २०२६ सेप्टेम्बर ३० तोकिएको छ । वेस्टइन्डिजका लागि यस्तो अवस्था नयाँ भने होइन । सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि टोली सिधै छनोट हुन सकेको थिएन । छनोट प्रतियोगिता खेलेर उसले मुख्य प्रतियोगितामा स्थान बनाएको थियो । तर सन् २०२३ को विश्वकपमा वेस्टइन्डिजले अझ ठूलो धक्का बेहोरेको थियो । छनोट प्रतियोगितामै बाहिरिएपछि टोलीले मुख्य विश्वकप खेल्न पाएन । जिम्बाब्वेमा भएको छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा जिम्बाब्वे र नेदरल्यान्ड्ससँग पराजित भएपछि वेस्टइन्डिजको विश्वकप यात्रा कठिन बनेको थियो । त्यसपछि स्कटल्यान्डसँगको हारले पहिलोपटक वेस्टइन्डिज विश्वकपबाट बाहिरिने अवस्था बनेको थियो । अब सन् २०२७ को विश्वकपअघि पनि टोलीले छनोट प्रतियोगिताबाटै मुख्य प्रतियोगितामा पुग्नुपर्ने भएको छ ।


