काठमाडौँ । दक्षिण कोरियाले होर्मुजमा जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न सैन्य उपायसहित विभिन्न विकल्पबारे समीक्षा गरिरहेको जनाएको छ । तर, अहिलेसम्म कुनै निर्णय नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।
दक्षिण कोरियाली सञ्चारमाध्यमले बिहीबार सरकारले यस वर्षको अन्त्यअघि सैन्य सामग्री पठाउने तयारी गरेको र यसै महिना संसद्को स्वीकृति लिन सक्ने समाचार प्रकाशित गरेका थिए ।
राष्ट्रपतिको कार्यालयका एक अधिकारीले जलडमरूमध्यमा जहाज आवागमन सहज बनाउन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर व्यावहारिक सहयोग गर्ने विषयमा छलफल भइरहेको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिण कोरियाले सैन्य उपाय पनि विचाराधीन विकल्पको रुपमा विश्लेषण गरिएको बताइएको छ । तर सैन्य परिचालनबारे अहिलेसम्म कुनै निर्णय भएको भने छैन । यस्तो निर्णयका लागि घरेलु कानुनी प्रक्रिया, कोरियाली प्रायद्वीपमा सैन्य तयारीको अवस्था र संसद्को स्वीकृतिसमेत विचार गर्नुपर्ने भनिएको छ ।
होर्मुज जलडमरूमध्यसँग सम्बन्धित सहयोगमा दक्षिण कोरियाले कुनै भूमिका नखेलेको भन्ने दाबी पनि गलत भएको दक्षिण कोरियाको जवाफ रहेको रिपोर्टमा उल्लेख छ । दक्षिण कोरियाले लामो समयदेखि अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोगका विषयमा छलफल गर्दै आएको समेत बताइएको छ ।


