काङ्ग्रेसमा खुला प्रतिस्पर्धामार्फत सक्षम नेतृत्वलाई ल्याउन माग – Kanika Khabar
Saturday, September 26Nepali News Portal

काङ्ग्रेसमा खुला प्रतिस्पर्धामार्फत सक्षम नेतृत्वलाई ल्याउन माग

    मा प्रकाशित


दाङ, १० असोज ।
नेपाली काङ्ग्रेसको जारी अधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर २ मा सहमतिको नाममा युवा र पार्टीमा सक्रिय नेतालाई बाहिर राखेर सहमति गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । उम्मेदवार तथा प्रतिनिधि छनोटको विषयलाई लिएर असन्तुष्टि र प्रश्न उठिरहेका बेला निर्णय प्रक्रिया फराकिलो, पारदर्शी र सहभागितामूलक बनाउन समेत माग गरेका छन् ।

पार्टी रूपान्तरणका लागि बृहत् अभियान दाङले नेपाली काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेतृत्व तथा प्रतिनिधि छनोट सीमित व्यक्तिको निर्णयमा नभई व्यापक सहभागिता र खुला प्रतिस्पर्धाका आधारमा हुनुपर्ने माग गरेको छ । नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, कोषाध्यक्ष प्रकाश सुवेदी,पूर्व क्षेत्रीय सचिव कमल गौतमलगायतका नेताहरुको उपस्थीतमा भएको पत्रकार सम्मेलनमा केही व्यक्तिले गर्ने निर्णयलाई सम्पूर्ण सङ्गठनको निर्णयका रूपमा स्वीकार गर्ने प्रवृत्तिले पार्टीलाई जीवन्त बनाउन नसक्ने नेताहरुले बताएका थिए ।

नेपाली कांग्रेस हजारौँ कार्यकर्ताको त्याग, संघर्ष र विश्वासबाट निर्माण भएको उल्लेख गर्दै टोलदेखि क्षेत्रसम्म लामो समयदेखि पार्टीका लागि योगदान गर्दै आएका कार्यकर्ताको भूमिका र योगदानलाई उचित सम्मान दिनुपर्नेमा जोड दिइएको छ । प्रेस विज्ञप्तिमा आफूहरू कुनै व्यक्ति विशेषको विरोधमा नरहेको भन्दै सङ्गठनमा लामो समयदेखि योगदान गरेका, पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध, युवा तथा जनताबीच सक्रिय र सङ्गठनलाई समय दिन सक्ने सक्षम व्यक्तिलाई जिम्मेवारीमा ल्याउने उद्देश्य रहेको जनाइएको छ । ‘व्यक्ति परिवर्तनभन्दा निर्णय गर्ने शैलीमा परिवर्तन’ आवश्यक रहेको उल्लेख गर्दै अभियानले बन्द कोठाको सहमतिभन्दा खुला प्रतिस्पर्धा, सीमित पहुँचभन्दा व्यापक सहभागिता तथा व्यक्तिगत समीकरणभन्दा सङ्गठनको हितलाई प्राथमिकता दिनुपर्ने बताएको छ ।

आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई समेत केन्द्रमा राखेर सङ्गठन निर्माण गर्न सक्ने नेतृत्व आवश्यक रहेको अभियानको भनाइ छ । त्यसका लागि अग्रजको अनुभव, समकालीन पुस्ताको क्षमता र नयाँ पुस्ताको जोस तथा ऊर्जालाई जोड्नुपर्नेमा जोड दिइएको छ । युवालाई नारामा मात्र सीमित नराखी जिम्मेवारी र निर्णय प्रक्रियामा समेत सहभागी गराउनुपर्ने तथा लामो समयदेखि सङ्गठनमा योगदान गरेका कार्यकर्तालाई उनीहरूको क्षमता र योगदानका आधारमा अवसर दिनुपर्ने अभियानले जनाएको छ ।

अभियानले व्यक्तिगत लाभ, पद वा गुटभन्दा माथि उठेर सङ्गठनको हितलाई केन्द्रमा राख्ने प्रतिबद्धता जनाएको छ । अधिवेशनमा स्थापित हुने राजनीतिक संस्कारले आगामी दिनमा कांग्रेसको चरित्र निर्धारण गर्ने भन्दै सचेत क्षेत्रीय प्रतिनिधि, अग्रज, क्रियाशील कार्यकर्ता, युवा तथा शुभेच्छुकलाई अभियानमा सहभागी हुन आह्वान गरिएको छ । अभियानका अनुसार परिवर्तन, खुलापन र सक्षम नेतृत्वको पक्षमा उभिन चाहने विभिन्न व्यक्तिसँग प्रारम्भिक छलफल तथा भेला समेत भइसकेको भन्दै अग्रजको सम्मान, तल्लो तहका कार्यकर्ताको योगदानको कदर, युवाको ऊर्जा र सक्षम व्यक्तिको नेतृत्वलाई एकै ठाउँमा जोडेर कांग्रेसलाई सक्रिय, अनुशासित, समावेशी र जनतासँग जोडिएको सङ्गठन बनाउने उद्देश्य अभियानले अघि सारेको बताइएको छ । प्रेस विज्ञप्ति कांग्रेसका युवा नेता प्रदिप मजगैयाले पढेर सुनाएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्