काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा अधिवेशन प्रक्रिया अघि बढेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ । महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन पनि जारी रहेको कांग्रेसले जनाएको छ । यसक्रममा असोज १० देखि १३ गतेसम्म प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन जारी रहेका छन् भने मनाङ, मुस्ताङ र बैतडीमा सम्पन्न भइसकेका छन् । त्यसैगरी संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा अधिवेशनको उद्घाटन सत्र सुरु भई निर्वाचन प्रक्रिया चलिरहेको कांग्रेसले जनाएको छ । कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न तहका अधिवेशनमार्फत प्रतिनिधि चयन तथा नेतृत्व छनोटको प्रक्रिया अघि बढिरहेको छ ।
२- धाप बाँध आयोजनाले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ । नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकाको सुख्खायामको पानीको आवश्यकता पूर्ति गर्न निर्मित धाप बाँध र यसको मुख्य संरचना हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको हो । भारी वर्षापछि धाप बाँधको अवस्थाबारे प्रश्न उठेपछि नागमती तथा धाप बाँध आयोजनाले अवस्था स्पष्ट पारेको हो । आयोजनाले बाँध क्षेत्रमा केही दिनअघि देखिएको जोखिम पनि पूर्णरुपमा हटेको वस्तुस्थितिकै भिडियो पनि सार्वजनिक गरेको छ । आयोजनाकाअनुसार निरन्तरको मनसुनजन्य वर्षाका कारण जलाशय तथा आसपासका क्षेत्रमा पानीको बहाव बढेपछि प्राविधिक टोलीले बाँधको अवस्था, जलसतह तथा पानीको आवगमन माथि नियमित निगरानी गरिरहेको छ । गत भदौ २४ गते साँझ स्याडल ड्याम-१ नजिकै सडक किनारामा पहिरो गएपछि सुरक्षात्मक कदम छिटो चालिएको थियो । आयोजनाका अनुसार सोही दिन साँझदेखि आउटफ्लोमार्फत करिब ४०० लिटर प्रतिसेकेन्ड पानी निरन्तर बाहिर पठाइएको छ । जसका कारण जलाशयको जलसतह २.३८ मिटरले घटेर हाल २०८४.८० मिटरमा आएको छ भने कुल सञ्चित पानीको करिब ३५ प्रतिशत हिस्सा सुरक्षित रूपमा निकासा भइसकेको छ । आयोजनाकाअनुसार धाप बाँधको सामान्य जलसतह २०८७.१४ मिटर रहेको छ । यदि आगामी दिनमा भारी वर्षा भई जलसतह यो बिन्दुभन्दा माथि पुगेमा अतिरिक्त पानी स्पिलवे बाट स्वतः बाहिर जाने प्राविधिक व्यवस्था मिलाइएको छ । हाल वर्षाको मात्रा घट्दै गएकाले बाँधमा भित्रिने पानीको मात्रा पनि कम हुँदै जाने अनुमान गरिएको छ । आयोजनाले पहिरो प्रभावित क्षेत्रमा आवश्यक पानी निकास, तटबन्ध तथा आपत्कालीन व्यवस्थापनका कार्यहरू द्रुत गतिमा अघि बढाएको छ । बाँधको सुरक्षा र प्राविधिक मूल्याङ्कन निरन्तर भइरहेकाले कुनै अप्रिय जोखिम नरहेको र सर्वसाधारणलाई अनावश्यक त्रास नमान्न तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आयोजनाले अनुरोध गरेको छ ।
३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा सीएनएनलाई एयर फोर्स वनमा यात्रा गर्न ह्वाइट हाउसले रोक लगाएको छ । सीएनएन त्यस दिन प्रमुख अमेरिकी टेलिभिजन सञ्जालहरूको पालोअनुसार राष्ट्रपतिको भ्रमणको समाचार संकलन गर्ने जिम्मेवारीमा थियो । सीएनएनसहित पाँच प्रमुख टेलिभिजन सञ्जालले पालैपालो राष्ट्रपतिको गतिविधि खिचेर अन्य सञ्चारमाध्यमलाई उपलब्ध गराउने व्यवस्था गरिएको थियो । अदालतले यसअघि सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध कार्यान्वयन नगर्न आदेश दिएपछि शुक्रबारबाट उक्त सञ्चार समूहको समाचार संकलन पुनः सुरु भएको थियो । तर शनिबारको टेनेसी भ्रमणका लागि सीएनएनलाई पुनः एयर फोर्स वनमा जान नदिइएपछि टेलिभिजन समाचार संकलनको पालो प्रणाली फेरि प्रभावित भएको छ । यसअघि सीएनएनमाथि प्रतिबन्ध लगाएपछि अन्य प्रमुख टेलिभिजन सञ्जालले पनि पालोअनुसारको भिडियो संकलन रोक्दै सीएनएनको पहुँच पुनःस्थापित हुनुपर्ने बताएका थिए । सीएनएन, एमएस नाउ र पोलिटिकोले ह्वाइट हाउसको प्रतिबन्धविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । अदालतले उनीहरूलाई प्रारम्भिक आदेशका लागि निवेदन दिन सोमबारसम्मको समय दिएको छ ।
४- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँएका छन् । प्रधानमन्त्री शाह आज दिउसो काठमाडौँ आइपुगेका हुन् । प्रधानमन्त्री शाहलाई विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ र पर्यटनमन्त्री गणेश पौडेलले स्वागत गरेका थिए । महासभामा भाग लिन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका पुगेका थिए। उनले महासभालाई ८ गते सम्बोधन गर्दै नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए । महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण सिर्जना भइरहेका संकटको उदाहरणका रूपमा उल्लेख गरेका थिए। उनले हिमाली क्षेत्रमा जलवायुजन्य जोखिम बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।
५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको सातदिने युद्धविराम प्रस्ताव अस्वीकार गरेको वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । रिपोर्टअनुसार ट्रम्पले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः हवाई हमला गर्न सकिने बताएका छन् । इरानले युद्धविरामसँगै होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्ताव अघि सारेको थियो। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकाबाट आवश्यक सर्त पूरा भएमा जलडमरूमध्य खोल्ने प्रक्रिया सुरु गर्न सकिने बताएका छन् । इरानको प्रस्तावबारे अमेरिकाबाट औपचारिक जवाफको प्रतीक्षा भइरहेको इरानी पक्षले जनाएको छ । यसैबीच, ट्रम्पले इरानसँग निर्वाचनपछि सम्झौता हुन सक्ने बताउँदै आएका छन् । रोयटर्सले भने वाल स्ट्रिट जर्नलको उक्त रिपोर्टलाई तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।
६- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा दिइएको छ।कांग्रेसको सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिका संयोजक एवं सहमहामन्त्री उदयशमशेर राणाले तीनै नेतासँग भेट गरी उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा दिएको जानकारी दिएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १६ गते काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ । कांग्रेसले उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी हुन आग्रह गरेको छ । कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।
७- कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र तनहुँ जोड्ने मोटरेबल पुलको पहुँचमार्ग नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासीको बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका–मन्दार जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको डेढगाउँतर्फको पहुँचमार्ग नदी कटानका कारण भासिएको हो । पुलको एक छेउ पूर्ण रूपमा भाँसिएपछि उक्त सडकमा सवारीसाधन तथा पैदल यात्रासमेत बन्द भएको छ । स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त बाटो प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यात्रालाई सुरक्षित बनाउन वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।
८- ओपनएआईले आफ्ना कृत्रिम बुद्धिमत्तामा आधारित बटहरूले अमेरिकी धितोपत्र तथा विनिमय आयोग, जनगणना ब्युरो र शिक्षा विभागसहित विभिन्न सरकारी तथा सार्वजनिक संस्थाका वेबसाइटमा अनधिकृत गतिविधि गरेको स्वीकार गरेको छ । ओपनएआईका अनुसार उसका केही बटले सार्वजनिक सूचना खोज्ने क्रममा वेबसाइटका सुरक्षा उपाय छल्ने प्रयास गरेका थिए । जनगणना ब्युरोबाट सूचना लिँदा सफ्टवेयर विकासकर्ताका लागि राखिएका उपकरणसमेत प्रयोग गरिएको थियो । कम्पनीले बटले पहुँच गरेको सरकारी सूचना सार्वजनिक रहेको जनाएको छ । तर धितोपत्र तथा विनिमय आयोगबाट प्राप्त केही सूचना अर्को वेबसाइटमा प्रकाशित भएको र यस्तो कार्य आफ्नो उद्देश्यविपरीत भएको ओपनएआईले बताएको छ । यसै क्रममा ओपनएआईका बटले प्रयोगकर्ताका कम्तीमा ५३ वटा तस्बिर अन्यत्र पठाएको पनि पाइएको छ । प्रयोगकर्ताले आफ्ना सामग्री कृत्रिम बुद्धिमत्ता प्रणालीको प्रशिक्षणका लागि प्रयोग गर्न अनुमति दिएका भए पनि यस्तो प्रयोग उचित नभएको कम्पनीले स्वीकार गरेको छ । ओपनएआईले यस्ता घटनाको विस्तृत समीक्षा गरिरहेको र अधिकांश घटना गम्भीर प्रकृतिका नरहेको जनाएको छ । कम्पनीका अनुसार समीक्षा पूरा गर्न अझै केही महिना लाग्नेछ । कृत्रिम बुद्धिमत्ताका यस्ता गतिविधिप्रति चिन्ता बढिरहेका बेला ओपनएआईका प्रमुख साम अल्टम्यानसहित विभिन्न कृत्रिम बुद्धिमत्ता कम्पनीका प्रमुखहरूले विश्वव्यापी सुरक्षा मापदण्ड बनाउनुपर्नेमा जोड दिएका छन् ।
९- नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ । महाधिवेशनका विभिन्न समितिबीच समन्वय र सहजीकरण गर्न, व्यवस्थापनका विषयमा आवश्यक निर्णय लिन तथा सबै समितिले आफ्नो जिम्मेवारीअनुसार काम गरे–नगरेको सुनिश्चित गर्न समितिहरू गठन गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो । त्यसैको निरन्तरतामा विभिन्न विषयगत समिति गठन गरिएको हो । १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगनकुमार थापा तोकिएका छन् । आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे र सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा तोकिएका छन् । त्यस्तै, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त, महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति तथा प्रदेश र स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामालाई जिम्मेवारी दिइएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी, स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामा, भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट र आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमला तोकिएका छन् । यसैगरी, स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङलाई जिम्मेवारी दिइएको छ । यसैगरी, विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको कांग्रेसले जनाएको छ ।
१०- नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमको समीकरण पुरा भएको छ । प्रारम्भिक चरणबाट नेपाल र अफगानिस्तान तथा मलेसिया र हङकङ विजेता र उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन् । समुह चरणबाट जापान र ओमान बाहिरिएका छन् । अब क्वाटरफाइनलमा पाकिस्तान र हङकङ, भारत र पाकिस्तान खेल्ने छन् । त्यस्तै नेपाल र श्रीलंका तथा बंगलादेश र मलेसियाले खेल्ने तय भएको छ । क्वाटरफाइनलका खेल सोमबार र मंगलबार हुने छन् । नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेको थियो भने जापानविरुद्धको खेल पुरा हुन नपाउदा अंक बाँडेको थियो । क्वाटरफाइनलमा विजेता देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलका खेल विहिबार हुने छन् । सेमिफाइनलका विजेता फाइनल खेल्ने छन् भने पराजित हुने देश कास्य पदकका लागि खेल्ने छन् । फाइनल र कास्य पदकको खेल आगामी शनिबार हुने छन् ।
११- अविरल वर्षाका कारण नारायणी नदीमा जलसतह बढेर बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ताबाट सशस्त्र प्रहरीले २९ जना स्थानीय बासिन्दाको सकुशल उद्धार गरेको छ । अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा थारुटोलाका घरमा पानी पसेपछि असोज १० गते बिहान पौने ९ बजेतिर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको नेतृत्वमा खटिएको २१ जनाको टोलीले बाढीमा फसेका २९ जना स्थानीय बासिन्दालाई सकुशल उद्धार गरेको हो । उद्धार टोलीले स्थानीय बासिन्दाका साथै एउटा गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ। उद्धार गरिएका सबै नागरिक तथा चौपायालाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।
१२- माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले गलत हातमा पुगेको कृत्रिम बुद्धिमत्ता (एआई) अत्यन्त शक्तिशाली र खतरनाक बन्न सक्ने चेतावनी दिएका छन् । उनले यसको दुरुपयोग भएमा एक अर्ब मानिससम्मको ज्यान जान सक्ने बताएका छन् । एक अन्तर्वार्तामा गेट्सले खराब नियत भएका व्यक्तिको हातमा कृत्रिम बुद्धिमत्ताका उपकरण पुग्नु अहिलेसम्मका कुनै पनि हतियारभन्दा बढी खतरनाक हुन सक्ने बताएका छन् । उनले कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने जोखिमलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएका छन् । गेट्सले अमेरिकी सरकारलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी कानुन बनाउन पनि आग्रह गरेका छन् । कम्पनीहरूको आफ्नै नियन्त्रण मात्र पर्याप्त नहुने भन्दै उनले सरकारी निगरानी र स्पष्ट नियम आवश्यक रहेको बताएका छन् । अगस्टमा प्रकाशित आफ्नो लेखमा पनि गेट्सले कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने तीन प्रमुख जोखिमबारे उल्लेख गरेका थिए । यसैबीच, अस्ट्रेलियामा पहिलोपटक कृत्रिम बुद्धिमत्ता प्रणालीले सरकारी प्रणालीमा अनधिकृत पहुँच बनाएको घटना सार्वजनिक भएको छ । ओपनएआईको एउटा कृत्रिम बुद्धिमत्ता प्रणालीले अस्ट्रेलियाको स्वास्थ्यसम्बन्धी तथ्यांक प्रणालीमा प्रवेश गरी विभिन्न फाइलमा पहुँच बनाएको र स्वास्थ्य खर्च तथा औषधि अनुदानसँग सम्बन्धित जानकारी प्राप्त गरेको बताइएको छ । ओपनएआईले उक्त घटनाबारे अस्ट्रेलिया सरकारलाई ५४ दिनपछि जानकारी गराएको थियो । त्यसपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले न्युयोर्कमा रहेका ओपनएआईका प्रमुख साम अल्टम्यानसँग टेलिफोनमार्फत कुराकानी गर्दै घटनाबारे जानकारी दिन भएको ढिलाइप्रति असन्तुष्टि जनाएका थिए । ओपनएआईका प्रमुख अल्टम्यानले पनि कृत्रिम बुद्धिमत्तामाथि मानव नियन्त्रण कायम राख्नु आवश्यक भइसकेको बताएका छन्। मानव नियन्त्रण गुमेमा गम्भीर परिणाम आउन सक्ने उनको भनाइ छ । अस्ट्रेलिया सरकारले उक्त घटनामा कम्पनीमाथि आपराधिक कारबाही गर्नुपर्ने अवस्था छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्ने भएको छ। साथै, अस्ट्रेलियाका सुरक्षा निकायले उक्त अनधिकृत प्रवेशलाई समयमै किन पहिचान गर्न सकेनन् भन्ने विषयमा पनि अनुसन्धान हुने भएको छ । ओपनएआईले पनि आफ्ना कृत्रिम बुद्धिमत्ता प्रणालीले कम्पनीको उद्देश्यविपरीत केही कदम चालेको स्वीकार गरेको छ । अल्टम्यानले कृत्रिम बुद्धिमत्ताको सुरक्षा सुनिश्चित गर्न विश्वका सबै देश मिलेर साझा सुरक्षा मापदण्ड तय गर्नुपर्ने बताएका छन् । प्रविधि थप शक्तिशाली हुँदै गए पनि त्यसलाई मानव नियन्त्रणभित्र राख्न आवश्यक रहेको उनको भनाइ छ ।
१३- नेपाल र सेनेगलबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका अफ्रिकी एकीकरण, परराष्ट्र मामिला तथा विदेशमा रहेका सेनेगली नागरिकसम्बन्धी मन्त्री शेख नियाङले आज कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहअघि भएको संक्षिप्त भेटवार्तामा दुवै मन्त्रीले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए । भेटमा नेपालमा हालै भएको विनाशकारी जलवायुजन्य विपत्तिपछिको उद्धार, पुनःस्थापना तथा पुनर्निर्माण प्रयासबारे पनि छलफल भएको थियो । दुवै मन्त्रीले नेपाल र सेनेगलका जनता तथा दुई देशको साझा प्रगति र समृद्धिका लागि द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका देशको संख्या १८८ पुगेको छ ।
१४- बलिउडका चर्चित कलाकारको लोकप्रियता र चलचित्रको कमाइसँगै उनीहरूको सम्पत्ति चलचित्रबाहिरका व्यवसायमा पनि फैलिँदै गएको छ । एमथ्रीएम हुरुन रिच लिष्टका अनुसार अभिनेता शाहरुख खान र उनको परिवार बलिउडका सबैभन्दा धनी व्यक्तिका रूपमा देखिएका छन् । सूचीअनुसार शाहरुख खान र उनको परिवारको कुल सम्पत्ति १२ हजार ४९० करोड भारतीय रुपैयाँ अर्थ १९ हजार ९८४ करोड नेपाली रुपैयाँ बराबर रहेको छ । उनीहरूको व्यवसायिक साम्राज्यमा चलचित्र निर्माण कम्पनी रेड चिलिज इन्टरटेनमेन्टको महत्वपूर्ण भूमिका रहेको छ । चलचित्र निर्माणसँगै मनोरञ्जनका विभिन्न क्षेत्रमा विस्तार भएको यस व्यवसायका कारण शाहरुखको सम्पत्ति अभिनयबाट हुने आम्दानीमा मात्र सीमित छैन । सूचीको दोस्रो स्थानमा अभिनेत्री जुही चावला र उनको परिवार रहेका छन् । उनीहरूको अनुमानित सम्पत्ति ७ हजार ७९० करोड भारतीय रुपैयाँ अर्थात् १२ हजार ४६४ करोड नेपाली रुपैयाँ बराबर रहेको छ । परिवारको व्यवसायिक गतिविधिमा नाइट राइडर्स स्पोर्ट्ससँगको सम्बन्ध महत्वपूर्ण रहेको छ । यसले जुही चावलाको व्यवसायिक संलग्नतालाई चलचित्र क्षेत्रभन्दा बाहिर खेलकुदसम्म विस्तार गरेको छ । अभिनेता ऋतिक रोशन २ हजार १६० करोड भारतीय रुपैयाँ अर्थात ३ हजार ४५६ करोड नेपाली रुपैयाँ अनुमानित सम्पत्तिसहित तेस्रो स्थानमा छन् । उनको प्रमुख व्यवसायिक पहिचान एचआरएक्स ब्रान्डसँग जोडिएको छ । स्वास्थ्य, व्यायाम तथा जीवनशैलीका क्षेत्रमा विस्तार भएको यो ब्रान्डले ऋतिकको व्यवसायलाई चलचित्रभन्दा बाहिर पुर्याएको छ । चलचित्र निर्माता तथा निर्देशक करण यश जोहर १ हजार ८८० करोड भारतीय रुपैयाँ अर्थात् ३ हजार ८ करोड नेपाली रुपैयाँ बराबर सम्पत्तिसहित चौथो स्थानमा छन् । उनको व्यवसायिक पहिचान धर्मा प्रोडक्सनसँग जोडिएको छ । हिन्दी चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय धर्मा प्रोडक्सन उनको प्रमुख व्यवसायिक आधारका रूपमा रहेको छ । सूचीको पाँचौँ स्थानमा अभिनेता अमिताभ बच्चन र उनको परिवार रहेका छन् । उनीहरूको अनुमानित सम्पत्ति १ हजार ६३० करोड भारतीय रुपैयाँ अर्थात २ हजार ११९ करोड नेपाली रुपैयाँ बराबर रहेको छ । अन्य कलाकारको तुलनामा अमिताभ र उनको परिवारको व्यवसायिक श्रेणीमा लगानीलाई प्रमुख रूपमा उल्लेख गरिएको छ । लामो समयदेखि विभिन्न क्षेत्रमा गरिएको लगानीले उनीहरूको कुल सम्पत्ति निर्माणमा भूमिका खेलेको छ । हुरुनको सूचीले बलिउडका ठूला कलाकारको आर्थिक प्रभाव चलचित्रको कमाइमा मात्र सीमित नरहेको देखाएको छ । उनीहरूले आफ्नो लोकप्रियतालाई चलचित्र निर्माण, खेलकुद, स्वास्थ्य तथा जीवनशैलीका ब्रान्ड र विभिन्न लगानीमा विस्तार गर्दै व्यवसायिक साम्राज्य निर्माण गरेका छन् । यसले पछिल्लो समय बलिउडमा कलाकारको पहिचान केवल पर्दामा देखिने भूमिकासँग सीमित नरही व्यवसाय, लगानी र विभिन्न क्षेत्रको स्वामित्वसम्म विस्तार हुँदै गएको देखाएको छ ।
१५- त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार राति त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडाका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका बेला वर्षासँगै भिरबाट ढुंगा खसेर उनीहरूलाई लागेको थियो । ढुंगाले लागेर मनरुप केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । चन्द्ररुप केसीको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थल अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको थियो ।
१६- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु न्यायलाई व्यवहारमा उतार्न देशहरूको जिम्मेवारी, क्षमता र जलवायु जोखिमअनुसार आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालले आयोजना गरेको ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आह्वान’ विषयक उच्चस्तरीय विशेष कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम सामना गर्न विज्ञान, नीति र लगानीलाई हिमाल, स्वच्छ पानीका प्रणाली तथा समुद्रबीचको पारिस्थितिक सम्बन्धलाई ध्यानमा राखेर अघि बढाउनुपर्ने बताएका हुन् । उनले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रक्रियामा हिमाली क्षेत्रलाई अझ बढी प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनामा हिमालका विषयलाई व्यवस्थित रूपमा समेट्नुपर्ने उनको भनाइ छ । मन्त्री खनालले विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यलाई कायम राख्नुपर्ने बताएका छन् । जलवायुजन्य विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणाली सुदृढ गर्ने, उत्थानशील पूर्वाधार निर्माण गर्ने, विपद् आउनुअघि नै आवश्यक कदम चाल्ने तथा वैज्ञानिक सहकार्य बढाउनुपर्ने उनले बताएका छन् । विकासशील देशलाई पर्याप्त, अनुमान गर्न सकिने र सहज रूपमा उपलब्ध हुने जलवायु वित्त, प्रविधि तथा क्षमता विकासको आवश्यकता रहेको बताउँदै उनले जलवायुजन्य क्षति तथा नोक्सानी कोषलाई पर्याप्त रकमसहित प्रभावकारी र सहज पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघीय महासभाका अध्यक्ष खलिलुर रहमान, ताजिकिस्तानका विदेशमन्त्री सिरोजिद्दिन मुहरिद्दिन, माल्दिभ्सकी विदेशमन्त्री इरुथिशाम आदम, किर्गिज गणतन्त्रका विदेशमन्त्री झिनबेक कुलुबायेभ, संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगकी कार्यकारी सचिव अरमिडा साल्सियाह अलिस्जाहबाना, न्युजिल्यान्डको विदेश तथा व्यापार मन्त्रालयकी उपसचिव ग्याब्रिएल रस तथा संयुक्त राष्ट्र विकास कार्यक्रमकी एसिया तथा प्रशान्त क्षेत्रीय सहायक महासचिव कन्नी विनाराजालगायतले सम्बोधन गरेका थिए ।
१७- प्रिमियर लिगको आर्थिक नियम उल्लंघनसम्बन्धी म्यानचेस्टर सिटीमाथिका ११५ आरोपमा फैसला भएको छ । बीबीसीका अनुसार सिटीलाई अधिकांश आरोपमा दोषी ठहर गरिएको छ । सिटीमाथि सन् २००९ देखि २०१८ सम्म सही वित्तीय विवरण नदिएको, खेलाडी तथा प्रशिक्षकलाई गरिएको भुक्तानीको विवरणमा अनियमितता गरेको, युरोपेली वित्तीय नियम उल्लंघन गरेको, आर्थिक दिगोपनसम्बन्धी नियम तोडेको तथा प्रिमियर लिगको अनुसन्धानमा सहयोग नगरेको आरोप लागेको थियो । प्रिमियर लिगले फेब्रुअरी २०२३ मा सिटीमाथि ११५ आरोप लगाएको थियो । त्यससम्बन्धी सुनुवाइ सेप्टेम्बर २०२४ मा सुरु भएको थियो । फैसलाको पूर्ण लिखित विवरण भने सार्वजनिक हुन बाँकी छ । त्यसपछि सिटीमाथि अंक कटौती, जरिवाना वा प्रिमियर लिगबाट हटाएर तल्लो श्रेणीमा घटुवा गर्नेसम्मका कारबाही हुन सक्नेछन् । सिटीले भने आरोप अस्वीकार गर्दै आएको छ । क्लबले फैसलाविरुद्ध अपिल गर्ने सम्भावना रहेको बताइएको छ । आरोप पुष्टि भएमा सन् २०११–१२, २०१३–१४ र २०१७–१८ सिजनमा जितेका प्रिमियर लिग उपाधिसहित विगतका उपलब्धिमा समेत प्रश्न उठ्न सक्ने बताइएको छ । यस प्रकरणमा सिटीमाथि विभिन्न प्रकारका कारबाही गर्न सक्नेछ । यसमा अंक कटौती, आर्थिक जरिवाना तथा प्रिमियर लिगबाट निष्कासनसम्मका विकल्प रहेका छन् । अंक कटौती तत्काल वा निलम्बित रूपमा लागू हुन सक्छ भने जरिवाना पनि तत्काल वा निलम्बित हुन सक्नेछ । अंक कटौती अत्यधिक भएमा सिटीलाई प्रिमियर लिगबाट घटुवा हुने अवस्था पनि आउन सक्ने अनुमान गरिएको छ । त्यस्तै, प्रिमियर लिगबाट निष्कासन भएमा क्लबले आफ्नो सदस्यता गुमाएर सिजनको अन्त्यपछि तल्लो श्रेणीमा खेल्नुपर्ने हुनसक्ने समेत बताइएको छ । यद्यपि, आयोगको पूर्ण लिखित फैसला सार्वजनिक नभएसम्म सिटीमाथि वास्तवमा कुन सजाय लागू हुन्छ भन्ने स्पष्ट भएको छैन ।
१८- नेसन्स लिगको नयाँ सिजनको पहिलो खेलमा फ्रान्सले टर्कीलाई १-० ले पराजित गरेको छ । फ्रान्सका लागि खेलको एकमात्र गोल कप्तान किलियन एम्बाप्पेले गरेका थिए । टर्कीको कोकाइली रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि पहिलो हाफमा गोल हुन सकेन । खेलको ५४औँ मिनेटमा एम्बाप्पेले माइकल ओलिसेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर गोल गरेलगत्तै एम्बाप्पे घाइते भएका थिए र ५९औँ मिनेटमा उनलाई मैदानबाट बाहिर निकालिएको थियो । उनको स्थानमा डिजिरे डुए मैदान प्रवेश गरेका थिए । फ्रान्सका लागि यो नयाँ प्रशिक्षक जिनेदिन जिदानको पहिलो प्रतिस्पर्धात्मक खेल थियो । जिदानले विश्वकपपछि फ्रान्सको प्रशिक्षक पद सम्हालेका थिए । खेलको अन्तिमतिर टर्कीका गोलरक्षक उगुर्चान चाकिरले क्षेत्रबाहिर हातले बल रोकेपछि रातो कार्ड पाएका थिए। त्यसपछि टर्की १० खेलाडीमा सीमित भएको थियो । फ्रान्सको प्रशिक्षक बनेका जिनेदिन जिदानको नेतृत्वमा पहिलो खेलमा जित हासिल गरेको छ । टर्कीले भने पहिलो खेलमै हार बेहोरेको छ । फ्रान्सले अब २८ सेप्टेम्बरमा बेल्जियमसँग खेल्नेछ भने टर्कीले सोही दिन इटालीको सामना गर्नेछ ।
१९- नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । जापानसँगको खेल बर्षाले रद्ध भएपछि नेपाल प्रारम्भिक चरणको समुह ए मा शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको हो । बर्षाका कारण १५ ओभरमा खेलाइएको यो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । त्यसपछि दोस्रो इनिंग हुन नसकेपछि खेल रद्ध गरिएको थियो । खेल रद्ध भएपछि नेपाल र जापानले एक एक अंक बाँडेका थिए । जस अनुसार समुह ए मा नेपाल ३ शिर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ भने अफगानिस्तान २ अंकसहित दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै एक अंक रहेको जापान भने प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने छ भने अफगानिस्तानले भारतको सामना गर्ने छ । क्वाटरफाइनलमा भारत र अफगानिस्तान आगामी सोमबार खेल्ने छन भने नेपालले श्रीलंकाको सामना मंगलबार बिहान ५:४५ बजे गर्ने छ ।
२०- स्पेसएक्स र टेस्लाका प्रमुख एलन मस्कले भविष्यमा कृत्रिम बुद्धिमत्ताका लागि आवश्यक ठूलो हिस्सा कम्प्युटिङ अन्तरिक्षमै हुने दाबी गरेका छन् । गुगलका वरिष्ठ निर्देशक ट्राभिस बिल्सको एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै मस्कले भविष्यमा कुल कम्प्युटिङको शतप्रतिशतसम्म अन्तरिक्षमा पुग्न सक्ने बताएका हुन् । यसअघि उनले आगामी वर्ष एनभिडियाका शक्तिशाली कृत्रिम बुद्धिमत्ता कम्प्युटर अन्तरिक्षमा पठाउने योजनाको संकेत गरेका थिए । स्पेसएक्सले स्थानीय कम्प्युटिङ क्षमता भएका कक्षीय उपग्रहमार्फत अन्तरिक्षमै कृत्रिम बुद्धिमत्तासम्बन्धी काम गर्न सकिने अवधारणामा काम गरिरहेको छ । यस्ता उपग्रहले अन्तरिक्षमा उपलब्ध ऊर्जा र चिस्याउने सुविधाको उपयोग गर्न सक्ने तथा स्टारलिङ्कका उच्च क्षमताका लेजर सम्पर्कमार्फत तथ्यांक पृथ्वीसम्म पठाउन सकिने अवधारणा छ । यसले भविष्यमा कृत्रिम बुद्धिमत्ताका लागि आवश्यक केही कम्प्युटिङ संरचना पृथ्वीका तथ्यांक केन्द्रमा नभई अन्तरिक्षमा स्थापना गर्ने सम्भावना देखाएको छ । यता गुगलले पनि अन्तरिक्षमा ठूलो स्तरको कृत्रिम बुद्धिमत्ता संरचना निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययनका लागि ‘प्रोजेक्ट सनक्याचर’ अघि बढाएको छ । यसअन्तर्गत गुगलले आफ्ना टेन्सर प्रोसेसिङ युनिटलाई अन्तरिक्षमा परीक्षण गर्नेछ । पहिलो अभियानमा एउटा नमुना उपग्रह प्रक्षेपण गरी अन्तरिक्षको वातावरणमा ती चिपले कसरी काम गर्छन् भन्ने परीक्षण गरिनेछ । पहिलो परीक्षण अभियान अक्टोबर १ मा स्पेसएक्सको फाल्कन–९ रकेटमार्फत प्रक्षेपण गर्ने तयारी गरिएको छ । यसलाई ठूलो कक्षीय कृत्रिम बुद्धिमत्ता तथ्यांक केन्द्रको सुरुवातभन्दा पनि प्रारम्भिक प्राविधिक परीक्षणका रूपमा हेरिएको छ । गुगलका अनुसार अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता कम्प्युटिङको सम्भावना खोज्नुको प्रमुख कारण सूर्यबाट प्राप्त हुने ऊर्जा हो । पृथ्वीको तल्लो कक्षामा रहेका उपग्रहले लामो समयसम्म सूर्यको प्रकाश प्राप्त गर्न सक्ने भएकाले भविष्यमा त्यसबाट ठूलो मात्रामा सौर्य ऊर्जा उत्पादन गरी कम्प्युटिङ प्रणाली सञ्चालन गर्न सकिने कम्पनीको धारणा छ । धेरै उपग्रहलाई एकआपसमा जोडेर कक्षामै ठूलो कृत्रिम बुद्धिमत्ता काम सञ्चालन गर्न सक्ने समूह निर्माण गर्ने सम्भावनासमेत गुगलले अध्ययन गरिरहेको छ । गुगलका वरिष्ठ निर्देशक ट्राभिस बिल्सका अनुसार एउटा सानो उपग्रहमा दर्जनौँ टेन्सर प्रोसेसिङ युनिट चिप राख्न सकिन्छ । ठूलो र जटिल कृत्रिम बुद्धिमत्ता काम सञ्चालन गर्न आवश्यक परे यस्ता धेरै उपग्रहलाई आपसमा जोडेर समूहका रूपमा सञ्चालन गर्न सकिने अवधारणा छ । गुगलले विभिन्न कक्षाको अध्ययनपछि सूर्य उदाउने र अस्ताउने समयसँग मिल्ने कक्षा यसका लागि बढी उपयुक्त हुन सक्ने जनाएको छ। यस्तो कक्षामा सौर्य प्यानलले लामो समयसम्म सूर्यको प्रकाश पाउने भएकाले निरन्तर ऊर्जा आपूर्ति गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गुगलका अनुसार अन्तरिक्षलाई ठूलो स्तरको कृत्रिम बुद्धिमत्ता कम्प्युटिङका लागि प्रयोग गर्ने काम तत्काल सम्भव हुने छैन। पहिलो परीक्षणको मुख्य उद्देश्य कुन प्रविधिले काम गर्छ, कहाँ समस्या आउँछ र के–कस्ता प्राविधिक चुनौती समाधान गर्नुपर्छ भन्ने पत्ता लगाउनु हो । प्रारम्भिक परीक्षणबाट प्राप्त अनुभव र तथ्यांकका आधारमा भविष्यका ठूला अन्तरिक्ष अभियानको योजना बनाइने गुगलले जनाएको छ। मस्कले साझा गरेको भिडियोमा बिल्सले सूर्यबाट प्राप्त हुने प्रशस्त ऊर्जालाई उपयोग गर्दै कक्षीय तथ्यांक केन्द्रमार्फत कृत्रिम बुद्धिमत्ता संरचनालाई ठूलो स्तरमा विस्तार गर्न सकिने सम्भावनाबारे बताएका छन् ।


