समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य – Kanika Khabar
Thursday, October 1Nepali News Portal

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

    मा प्रकाशित

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहिवार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको बताउनुभयो । उहाँले सरकारका कामको मूल्यांकन परिणामका आधारमा गर्नुपर्ने उल्लेख गर्दै जनताले अब विकासको प्रतिफल खोजिरहेको बताउनुभयो । ‘विकासको पहलकदमी लिएका छौँ । अहिले जनताले परिणाम खोजेका छन् । कुराले मात्रै चिउरा भिज्दैन । आलोचना गरेर मात्रै विकास हुँदैन,’उहाँले भन्नुभयो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासमा प्रदेश सरकारसँगै संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । संघीय सरकारअन्तर्गतका कतिपय आयोजना बजेट अभाव र अन्य कारणले अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उहाँले त्यस्ता आयोजनालाई अघि बढाउन संघीय सरकारसँग निरन्तर समन्वय र पहल भइरहेको जानकारी दिनुभयो ।
उहाँले संघीय सरकारका सशर्त कार्यक्रम तथा आयोजनामा बजेट रोकिँदा प्रदेशका जिल्लामा विकास निर्माण प्रभावित भएको बताउनुभयो । अर्घाखाँचीमा मात्रै संघीय सरकारका २७ वटा सशर्त आयोजना रहेको उल्लेख गर्दै उहाँले विनियोजन भएका आयोजना तथा बजेट कार्यान्वयनको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका विकास आयोजनालाई राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा नभई आवश्यकता र परिणामका आधारमा मूल्यांकन गर्नुपर्ने बताउनुभयो । विकास निर्माणका विषयमा हुने गलत प्रचारको अन्त्य गर्नुपर्ने भन्दै उहाँले राम्रो काम गर्ने कार्यालय तथा कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । ‘सोलोडोलोमा मूल्यांकन गरिनु हुँदैन । राम्रा काम भएका छन । काम गर्नेहरुको मुल्यांकन हुन जरुरी छ’उहाँले भन्नुभयो,‘राम्रा काम गर्ने कार्यालय र कार्यालयभित्रका कर्मचारीलाई हामीले दिलैदेखि धन्यवाद दिनुपर्छ ।’
वनसम्बन्धी कानुन संशोधन नहुँदा प्रदेश र स्थानीय तहको विकास तथा राजस्व संकलनमा समेत असर परेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । वन तथा नदीजन्य पदार्थबाट अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको उल्लेख गर्दै उहाँले संघीय सरकारसँग कानुनी तथा नीतिगत सुधारका लागि निरन्तर पहल भइरहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, सिँचाइ तथा सडकको क्षेत्रमा पछिल्लो समय उल्लेख्य काम भएको बताउनुभयो । अर्घाखाँचीको उदाहरण दिँदै उहाँले जिल्लामा पक्की तथा झोलुंगे पुल निर्माण, सिँचाइ पूर्वाधार विस्तार, विद्युतीकरण, विद्यालयको भौतिक सुधार र आधारभूत अस्पतालमा चिकित्सक पठाउने काम भएको बताउनुभयो ।
उहाँले विकासको वर्तमान अवस्थालाई विगतसँग तुलना गरेर मूल्यांकन गर्नुपर्ने बताउनुभयो । २०७४ सालअघिको अवस्था र त्यसपछिको अवधिमा भएका विकासलाई हेर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा पूर्वाधार तथा सेवा विस्तार भएको बताउनुभयो । ‘३५ वर्षमा केही भएन भनेर गलत भाष्य खडा गर्न खोजिएको छ । यो गलत हो । यो बीचमा अर्घाखाँचीले मुहार फेरेको छ,’उहाँले भन्नुभयो ।
लुम्बिनी प्रदेशको विकासका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजाने उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्