काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आफ्नो विजयलाई नयाँ जिम्मेवारीको रुपमा लिएको बताएका छन् ।
सभापतिमा विजयी भएपछि सानेपास्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै आफुले जिम्मेवारी पाएको रुपमा लिएको बताउदै आफुले पार्टीका काम गर्ने तरिका बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले काँग्रेस छोडेका र असन्तुष्ट रहेका सबैलाई फर्काउने बताउदै आफुहरु इतिहासको ब्याज खान नआएको भन्दै उनले आफुहरुले महाधिवेशनबाट विश्वास जितेर नयाँ इतिहास बनाउन आएको जिकिर गरे ।
सभापति थापाले भ्रष्टाचारको विषयमा शुन्य सहनशीलताको नीति लिने भन्दै कुनै पनि नेता आफूसहित कुनैकिसिमको अनियमिततामा मुछिएको पाइएमामा त्यसको भारी पार्टीले नबोक्ने स्पष्ट गरे ।
उनले भने- ‘नौजवानहरूको बीचमा गएर हामी भन्नेछौं, नेपाली कांग्रेससँग गौरवशाली इतिहास छ, तर हामी इतिहासको ब्याज खान आएको होइन, हामी इतिहासलाई रटेर पनि बस्दैनौं । हामी नयाँ इतिहास आफैं रच्छौं । नयाँ इतिहास रच्ने कुराको तागत लिएर हामी अधिवेशनबाट आएका छौं भनेर ती नौजवान साथीहरूका बीचमा जाने छौं ।’
सभापति थापाले आफुलाई सहयोग गरेका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई धन्यवाद दिदै आफुहरुले कांग्रेसमा विगतमा नेताहरुले स्थापित गरेको नेताहरुले झगडा गर्ने प्रवृतिलाई गगन-विश्वको सम्बन्धले पुनर्परिभाषित गर्ने बताए ।


