आज दिनभरका प्रमुख २० समाचार बुलेटिन – Kanika Khabar
Monday, October 12Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    मा प्रकाशित

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१-  नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने भएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। विभागले असोज २६ गते जारी गरेको सार्वजनिक सूचनामार्फत संशोधित व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ । संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारी साधनको पहिलोपटक नामसारी गर्दा डिलरले गरेको जाँचलाई मान्यता दिइनेछ। यसका लागि सवारी साधन पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन । त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि दर्ता तथा नामसारी गर्न सकिनेछ। त्यसका लागि वारेसनामा पाएको व्यक्तिले नेपालको सरकारले जारी गरेको सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्नेछ । संशोधित व्यवस्थाले सवारी साधनको बीमा तथा बीमा नवीकरण प्रक्रियालाई पनि सहज बनाएको छ। अब बीमा गर्न वा नवीकरण गर्न सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन । त्यसैगरी, सवारी साधनको नामसारी गर्दा आवश्यक जैविक विवरण लिन सहज बनाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ। विभागले सवारी दर्ता तथा नामसारीसम्बन्धी सूचना जारी गरेपछि सम्बन्धित विक्रेता, वितरक वा कम्पनीले जैविक विवरण लिन सकिने व्यवस्था मिलाउनुपर्नेछ । संशोधित व्यवस्थाले सवारी दर्ता तथा नामसारीका लागि कार्यालय धाउनुपर्ने बाध्यता घटाउँदै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

२-  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।विभागले सार्वजनिक सूचना जारी गर्दै वनस्पति घिउ, बेकरी सर्टनिङ, परिष्कृत घिउ तथा तेलमा विभिन्न रासायनिक पदार्थ मिसाएर पूजा तथा दीप प्रज्वलनका लागि उत्पादन गरिएका पदार्थ खाद्य घिउसँग मिल्दोजुल्दो देखिने भएकाले उपभोक्ता झुक्किन सक्ने जनाएको छ ।विभागका अनुसार यस्ता प्रयोजनका लागि उत्पादन गरिने पदार्थको प्याकेटमा ‘खानाको लागि होइन’ भन्ने उल्लेख गरी कालो क्रस चिह्न स्पष्ट देखिने गरी राख्नुपर्नेछ। साथै, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम लेबल विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।विभागले खाद्य र अखाद्य पदार्थ मिसावट गर्ने, गलत लेबल लगाउने वा गैरखाद्य पदार्थलाई खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गराउने कार्य गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

३- भारतको केन्द्र सरकारले राजधानी नयाँदिल्लीस्थित जन्तरमन्तरलाई निर्धारित प्रदर्शन स्थलको सूचीबाट हटाएको छ । सरकारले ३३ वर्षअघि जन्तरमन्तरलाई विरोध प्रदर्शन गर्ने स्थानका रूपमा तोकेको थियो । अब प्रदर्शन तथा धर्नाका लागि रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानलाई निर्धारित स्थल तोकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । गृह मन्त्रालयले विरोध प्रदर्शन तथा धर्नाका लागि वैकल्पिक स्थान पहिचान गर्न गठन गरेको समितिको सिफारिसका आधारमा यी तीन स्थान तोकिएको बताइएको छ । यद्यपि, ती स्थानमा प्रदर्शन आयोजना गर्ने प्रक्रिया र नियमसम्बन्धी संशोधित मानक सञ्चालन कार्यविधि छुट्टै जारी गरिने जनाइएको छ । हालको आदेशमा विस्तृत नियम समावेश गरिएको छैन । जन्तरमन्तरमा प्रदर्शन गर्न रोक लगाइएपछि कक्रोच जनता पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया रोक्नुपर्ने मागसहित सोमबार प्रदर्शनको अनुमति मागेको थियो । तर प्रहरीले अनुमति दिन अस्वीकार गरेको थियो । यसअघि उक्त पार्टीले राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै जुन २० देखि जुलाई २५ सम्म जन्तरमन्तरमा प्रदर्शन गरेको थियो । ३६ दिनसम्म चलेको प्रदर्शनमा अभियन्ता सोनम वाङचुक पनि अनशनमा बसेका थिए । धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जुलाई २५ मा प्रदर्शन अन्त्य गरिएको थियो । जन्तरमन्तरलाई प्रदर्शन स्थलको सूचीबाट हटाउनुको आधिकारिक कारण सार्वजनिक गरिएको छैन । तर, संसद् भवनबाट करिब डेढ किलोमिटर मात्रै टाढा रहेकाले सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हुन सक्ने अनुमान गरिएको छ । जुन–जुलाईमा भएको प्रदर्शनका क्रममा सहभागीहरू संसद् भवननजिक पुगेपछि उनीहरूलाई रोक्न प्रवेशद्वार बन्द गर्नुपरेको विवरण पनि सार्वजनिक भएको थियो । जन्तरमन्तरमा पुनः प्रदर्शन गर्न विपक्षी दलहरूले पनि तयारी गरिरहेको बताइएको छ । राहुल गान्धीसहित विपक्षी नेताहरूले त्यहाँ धर्ना दिने तयारी गरेको विवरणमा उल्लेख छ । रामलीला मैदान संसद् भवनबाट करिब तीनदेखि चार किलोमिटर टाढा छ भने बुराडी र सीबीडी मैदान राजधानीका अन्य क्षेत्रमा पर्छन् । यसअघि अक्टोबर ९ मा भारतको सर्वोच्च अदालतले पनि जन्तरमन्तरको विकल्पमा ठूलो क्षेत्रफल भएका प्रदर्शन स्थल खोज्नुपर्ने धारणा राखेको थियो । अदालतले पानी, शौचालय र स्वास्थ्य उपचारजस्ता आधारभूत सुविधा उपलब्ध हुने स्थानको आवश्यकता औँल्याएको थियो ।

४- सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले यसका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको बजेटमा धान खरिद गर्ने योजना बनाएको हो । मन्त्रालयले वैज्ञानिक विधिबाट निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने तयारी गरेको जनाएको छ। धान खरिद गर्ने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले कृषि मन्त्री गीता चौधरीले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन् । आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैँ र तिहारको बीचमा धान खरिद प्रक्रिया सुरु गर्ने योजना बनाएको छ। सरकारले तोकेको मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता घट्ने अपेक्षा गरिएको छ । सरकारको यो योजनाले किसानलाई उत्पादन बिक्री गर्न सहज बनाउने तथा धानको बजार व्यवस्थापनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

५-  नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । पौडेलको आजै हृदयघातका कारण निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको छ । राजनीतिमा सक्रिय रहेका पौडेल एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए । त्यसपछि नेपालले प्रचण्डसँग एकता गरेपछि नेकपा संयुक्तमा आवद्ध भएका थिए । पौडेल जनता टेलिभिजनका अध्यक्ष समेत रहेका थिए । नेता पौडेले नेकपा एमालेका तत्कालीन नेता स्वर्गीय मोदनाथ प्रश्रितका छोरा हुन् ।

६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुविरुद्धको घेराबन्दी जारी रहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुहरुविरुद्धको घेराबन्दी अहिले पनि नरोकिएको बताउदै पार्टी एक भएर यसको सामना गर्नुपर्ने बताएका थिए । ओलीले सम्बोधनमा समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको टिप्पणी गर्दै देश र जनताका लागि मात्र नभएर समाजमा न्याय, शान्ति र लोकतन्त्रका लागि समाजवाद आन्दोलन आवश्यक रहेको बताए । उनले आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन नभएको बताउदै संगठित शक्तिले प्रतिवादका माध्यमबाट गर्ने आन्दोलन आफुहरुले गर्ने भनेको स्पष्ट गरेका थिए । ओलीले अहिले लोकतन्त्रलाई नै खतरा पुर्‍याउने काम भइरहेको आरोप लगाउदै त्यसको बचाउका लागि आफूहरूले आन्दोलनसम्म गर्न सक्ने धारणा राखे । उनले भने- ‘हामीमाथि अहिले पनि घेराबन्दी चलिरहेको छ। ७७, ७८ र ८० सालमा हामीमाथि कम्तीको घेराबन्दी थिएन । हाम्रा नेताहरूलाई त्यसबेला तितरबितर पारियो। हामीले पार्टीलाई फेरि पुनर्गठन गर्‍यौं । अहिले त्यस्तै हाम्राविरुद्ध मोर्चाबन्दी भइरहेको छ ।’

७- गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन् । गृहमन्त्री गुरुङलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा, दूतावासका अधिकारी तथा भारत सरकारका प्रतिनिधिहरूले स्वागत गरेका थिए । गुरुङ मंगलबार हुने बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका हुन् । ‘सुरक्षामा आधारित, समृद्धितर्फको यात्रा’ भन्ने नारासहित आयोजना हुने बैठकमा उनी सहभागी हुने कार्यक्रम छ । गृहमन्त्री गुरुङ बुधबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

८- नेपाली सेनालाई ग्यास उद्योग सञ्चालनलगायत व्यापारिक गतिविधिमा संलग्न नगराउन सरकारसँग विभिन्न अधिकारकर्मी तथा नागरिक अगुवाहरूले आग्रह गरेका छन् । उनीहरूले सैनिक कल्याणकारी कोषमार्फत ग्यास उद्योग सञ्चालन गर्ने अनुमति दिने सरकारी निर्णयले नेपाली सेनाको पेसागत मर्यादामा असर पर्न सक्ने बताएका छन्। उपभोग्य वस्तुको बजार नियन्त्रण गर्ने उद्देश्यले सेनालाई व्यापारिक गतिविधिमा संलग्न गराउनु उचित नहुने उनीहरूको भनाइ छ । हस्ताक्षरकर्ताहरूले नेपाली सेनाले राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन, उद्धार तथा राहतमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् । विशेषगरी दुर्गम क्षेत्रमा सडक खोल्ने तथा बाढीपहिरोबाट प्रभावित नागरिकको खोजी, उद्धार र राहतमा सेनाले पुर्‍याएको योगदानको उनीहरूले प्रशंसा गरेका छन् । विकास निर्माणका काममा सेनालाई निरन्तर संलग्न गराउँदा उसको मूल जिम्मेवारीबाट ध्यान विचलित हुन सक्ने उनीहरूको तर्क छ । यसअघि द्रुतमार्ग निर्माण, सुकुम्बासी बस्ती खाली गराउने तथा कपडा उद्योग सञ्चालनजस्ता गतिविधिमा सेनालाई जिम्मेवारी दिइएको विषय पनि उनीहरूले उठाएका छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सक्रिय सहभागिताका कारण नेपाली सेनाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा कायम गरेको उल्लेख गर्दै उनीहरूले सेनाका काम पारदर्शी, जवाफदेही र कानुनी शासनका मूल्य–मान्यताअनुसार सञ्चालन हुनुपर्ने बताएका छन् । सेनाको संवैधानिक तथा कानुनी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक स्रोतसाधन उपलब्ध गराउन र संस्थाको आधुनिकीकरणमा ध्यान दिन सरकारसँग आग्रह गर्दै उनीहरूले नेपाली सेनालाई कुनै पनि व्यापारिक स्वार्थसँग नजोड्न माग गरेका छन् । उक्त आग्रहमा सुशील प्याकुरेल, कनकमणि दीक्षित, कृष्ण गौतम, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सोम निरौला, अभिषेक अधिकारी, बद्रीप्रसाद भुसाल, रमेश अधिकारी, भगवती अधिकारी र इन्द्र अर्याललगायतले हस्ताक्षर गरेका छन् ।

९- सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्डलाई प्रदान गरिने भएको छ । स्विडेनको रोयल एकेडेमी अफ साइन्सेजले समष्टिगत आर्थिक स्थिरताका लागि सूक्ष्म आर्थिक आधारसम्बन्धी योगदानका लागि उनीहरूलाई पुरस्कार दिने निर्णय गरेको हो । हल र वुडफोर्डले आर्थिक मन्दी र तीव्र वृद्धिबीचको उतारचढाव नियन्त्रण गर्न सहयोगी नयाँ आर्थिक नमुना विकास गरेका छन् । उनीहरूको अनुसन्धानले ब्याजदर, सरकारी खर्च र मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई स्थिर बनाउन प्रभावकारी उपाय अपनाउन सहयोग पुर्‍याएको छ । उनीहरूले विकास गरेका नमुनाले घरपरिवार र व्यवसायका निर्णयले समग्र अर्थतन्त्रमा पार्ने प्रभावलाई समेट्छन् । यसले ऊर्जा सङ्कट वा उपभोगमा अचानक आउने परिवर्तनजस्ता आर्थिक चुनौती सामना गर्न सरकार र केन्द्रीय बैंकलाई थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

१०- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका एक करोड २७ लाख १९ हजार ७३४ कित्ता शेयर ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३६० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयर १४.९९ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयर पनि १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिज लाइन इनर्जीको शेयर ६.२९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २५ करोड १९ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको १९ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

११- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज २५ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, झिंगे दाउ-२, आचार्य, बा: एक योद्धा, तिनीहरु इलेफेन्ट इन द फग, चमेलीको पोई र चंगुलको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।  जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २६ करोड २ लाख ७० हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४४ हजार ६१२ टिकट बिक्री गरेको छ । त्यसैगरी भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म ९ करोड ८८ लाख ९२ हजार कमाई गरेको छ भने यस चलचित्रका ३ लाख ४७ हजार ८८२ टिकट विक्री भएका छन् । त्यस्तै, भदौं २६ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र बेहुलीले २ करोड ९९ लाख ४० हजार कमाई गरेको छ भने यस चलचित्रका एक लाख ६ हजार ५४३ टिकट विक्री भएको छ । त्यस्तै, असोज २ गते देखि प्रदर्शनमा आएको झिंगेदाउ- २ ले एक करोड ४६ लाख १२  हजार कमाई गरेको छ । यस फिल्मले ४८ हजार ११८ टिकट विक्री गरेको छ । त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म एक करोड ३१ लाख कमाइ गरेको छ । यस चलचित्रले ३७ हजार ८८ टिकट बिक्री गरेको छ । यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ । त्यस्तै असोज ९ गतेदेखि प्रदर्शनमा आएको फिल्म आचार्यले एक करोड ६२ लाख २७  हजार कामाई गरेको छ भने यस फिल्मका ५६ हजार १९९ टिकट विक्री भएका छन् । त्यसैगरी, असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको फिल्म बा: एक योद्धाले अहिलेसम्म ३ करोड ५ लाख २२ हजार कमाई गरेको छ । यस फिल्मका एक लाख ७ हजार ५३३  टिकट विक्री भएका छन् । त्यस्तै असोज १६ गतेबाट रिलिज भएको चमेलीको पोईले ५५ लाख कमाएको छ भने चंगुलले केवल एक लाख ३८ हजार ३८० मात्र कमाएको छ ।

१२- प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अधिकारीहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा, इमानदारी र अनुशासन प्रहरी सेवाका महत्त्वपूर्ण आधार भएको बताएका छन् । उनले संविधान, प्रचलित कानुन, नियम र कार्यविधिको पालना गर्दै जिम्मेवारीप्रति जवाफदेही हुन प्रहरी अधिकारीहरूलाई आग्रह गरेका छन्। शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र सङ्कटका बेला नागरिकको जिउधनको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको रहेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले व्यक्तिगत स्वार्थमा नलाग्न र सङ्गठनको मर्यादाविपरीतका गतिविधिमा संलग्न नहुन पनि प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्। प्रहरीले भेदभावरहित ढङ्गले काम गर्दै आम नागरिकले अनुभूति गर्ने गरी सेवा दिनुपर्ने उनको भनाइ छ । उनले बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्ति परिवर्तन भइरहेकाले निष्पक्ष, वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धानका लागि सूचना प्रविधिको सही उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । यस्तो अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताएका छन् । १६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले सफल कार्यकालको शुभकामना दिएका छन् । उनले तालिमका क्रममा सहयोग गर्ने अभिभावक, परिवारजन र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानप्रति पनि आभार व्यक्त गरेका छन् ।

१३- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक ९ गते सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिइएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिएका छन् । असोज २० गते बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

१४- उत्तर कोरियाले सोमबार आफ्नो पूर्वी समुद्री क्षेत्रतर्फ कैयौँ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । लामो समयदेखि कूटनीतिक वार्ता रोकिएको अवस्थामा भएको यो घटनाले दुई कोरियाबीचको तनाव थप बढाएको छ । दक्षिण कोरियाली सेनाका अनुसार क्षेप्यास्त्रहरू उत्तर कोरियाको राजधानी प्योङयाङ आसपासबाट प्रहार गरिएका थिए । जापानको रक्षा मन्त्रालयले कम्तीमा दुईवटा क्षेप्यास्त्र समुद्रमा खसेको जनाएको छ। ती जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको अनुमान गरिएको छ । यसअघि दक्षिण कोरियाले शुक्रबार स्वदेशमै विकसित पहिलो अतिध्वनिक हतियारको उडान परीक्षण गरेको थियो । ध्वनिको गतिभन्दा कम्तीमा पाँच गुणा तीव्र गतिमा उड्न सक्ने उक्त हतियारलाई क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली छल्न सक्ने गरी विकास गरिएको बताइएको छ । उत्तर कोरियाले आफ्नो आणविक हतियार क्षमता विस्तार गर्ने क्रममा पछिल्ला दिनमा क्षेप्यास्त्र परीक्षण, सैन्य अभ्यास र नयाँ युद्धपोत परिचालन गर्दै आएको छ । नेता किम जोङ उनले अमेरिका र दक्षिण कोरियासँगको रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्ने प्रस्ताव पनि अस्वीकार गर्दै आएका छन् । गत महिना अन्तरकोरियाली सीमाक्षेत्रनजिक बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि तनाव थप चुलिएको थियो । दक्षिण कोरिया र संयुक्त राष्ट्रसंघीय कमान्डले उक्त विस्फोट उत्तर कोरियाले बिछ्याएका उपकरणका कारण भएको निष्कर्ष निकालेका थिए । तर उत्तर कोरियाले जिम्मेवारी अस्वीकार गरेको छ । अमेरिका र उत्तर कोरियाबीच सन् २०१९ मा आणविक वार्ता भङ्ग भएयता सम्बन्ध सुधार हुन सकेको छैन । उत्तर कोरियाले अमेरिकाले आफूविरुद्धको नीति परिवर्तन गर्नुपर्ने र वार्ताको पूर्वसर्तका रूपमा आणविक हतियार त्याग्नुपर्ने माग हटाउनुपर्ने बताउँदै आएको छ ।

१५-  नेपाली कांग्रेसको महाधिवेशनमा खुलातर्फबाट उपसभापति पदमा सर्वाधिक मत प्राप्त गरी विजयी भएका चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । भण्डारीले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै आफूले प्राप्त गरेको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका हुन् । उनले ‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ भन्दै महाधिवेशनमा सहभागी भएर आफूलाई अमूल्य मत दिने प्रतिनिधि तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

१६- पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा खैबर पख्तुनख्वा प्रान्तमा सङ्कटकाल र गभर्नर शासन लागू गरेका छन् । बिग्रँदो सुरक्षा अवस्थालाई कारण देखाउँदै यो निर्णय गरिएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । पाकिस्तानको राष्ट्रपतिको सचिवालयका अनुसार संविधानको धारा २३२ र २३४ अन्तर्गत सङ्कटकाल घोषणा गरिएको हो । सङ्घीय सरकारले प्रान्तीय सरकारको आतङ्कवादविरुद्धको प्रयासप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णय गरेको जनाएको छ । गभर्नर फैसल करिम कुन्दीले ११ सदस्यीय सल्लाहकार परिषद्को सहयोगमा शासन सञ्चालन गर्नेछन् । यो व्यवस्था प्रारम्भमा छ महिनाका लागि लागू हुनेछ । मुख्यमन्त्री सोहेल अफ्रिदीको नेतृत्वमा अक्टोबर ४ देखि सुरु भएको विरोध मार्च र सरकार–विपक्षबीचको वार्ता असफल भएपछि राजनीतिक तनाव बढेको हो । विपक्षी दलले जेलमा रहेका पाकिस्तान तहरिक–ए–इन्साफका संस्थापक इमरान खानलाई भेट्न अनुमति दिनुपर्ने माग गरेको थियो । जमियत उलेमा–ए–इस्लामका प्रमुख मौलाना फजलुर रहमानले सङ्कटकाल र गभर्नर शासनलाई लोकतन्त्रमाथिको आक्रमण भन्दै विरोध गरेका छन् । यसैबीच, सङ्घीय सरकारले संविधानको धारा २४५ अन्तर्गत पाकिस्तानी सेनालाई पनि खैबर पख्तुनख्वामा परिचालन गर्ने निर्णय गरेको छ । सेनाले नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्ति र सरकारी संरचनाको संरक्षणमा प्रशासनलाई सहयोग गर्नेछ ।

१७-  नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा आजदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास वितरण गर्ने भएको छ । संघले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा विभिन्न बिक्री केन्द्रबाट वितरणको व्यवस्था मिलाएको जनाएको छ । पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज भइरहेको उल्लेख गरेको छ । संघका अनुसार भदौ महिनामा मात्रै ४ लाख २१ हजार ६६१ सिलिन्डर ग्यास बिक्री तथा वितरण भएको थियो ।  काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गए पनि चाडबाडको समयमा केही उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र एकअर्काको खाली सिलिन्डर साट्नसमेत समस्या भएको गुनासो आएपछि वितरणको विशेष व्यवस्था मिलाइएको संघले जनाएको छ । संघका अनुसार आजदेखि असोज ३० गते शुक्रबारसम्म तोकिएका स्थानबाट बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास वितरण गरिनेछ । ग्यास वितरणका लागि सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्स, पेप्सीकोलास्थित पेप्सीकोला बिक्री केन्द्र, बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि रहेका नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणीका बिक्री केन्द्र तोकिएका छन्। त्यस्तै, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण, हरिसिद्धिमा श्रीराम, चपली बूढानीलकण्ठमा भागु, हरिसिद्धिमा नेपाल र एचपी, कलंकीमा गीता तथा आरके ट्रेडर्स र सतुङ्गलमा श्रीमाया बिक्री केन्द्रबाट पनि ग्यास वितरण गरिने संघले जनाएको छ । संघले तोकिएका बिक्री केन्द्रमा सम्बन्धित ग्यास उद्योगकै सिलिन्डर साट्ने व्यवस्था गरिएको जनाएको छ। अन्य बिक्री केन्द्रमा सिलिन्डर साट्न नपाइने भएकाले उपभोक्तालाई सम्बन्धित उद्योगको सिलिन्डर लिएर मात्र ग्यास खरिद गर्न संघले अनुरोध गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष विद्यान चन्दले उपभोक्तालाई तोकिएको समय र स्थानबाट ग्यास खरिद गर्न आग्रह गरेका छन् ।

१८- भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १४ रनको जित निकालेको छ । यससँगै भारतले पाँच खेलको शृङ्खलामा २-१ को अग्रता बनाएको छ । इन्दौरस्थित होल्कर क्रिकेट मैदानमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २२३ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ६९ रन बनाएका थिए । इशान किशनले ३७ तथा तिलक वर्माले २८ रनको योगदान दिएका थिए । २२४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा लक्ष्य पूरा गर्न सकेन । भारतले १४ रनले खेल जित्दै तेस्रो टी–२० आफ्नो पक्षमा पारेको हो । वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर २०९ रन बनाएको थियो ।  यसअघि शृङ्खलाको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल वेस्ट इन्डिजले आफ्नो पक्षमा पारेको थियो । तेस्रो खेलको जितसँगै भारतले शृङ्खलामा २-१ को अग्रता बनाएको छ । अब शृङ्खलाको चौथो खेल बुधबार हुदैछ ।

१९- प्रिमियर लिगमा विवादमा रहेकै समयमा आइतबार राति सम्पन्न प्रिमियर लिगको लिभरपुलविरुद्धको खेलमा म्यानचेस्टर सिटीले ३-० को शानदार जित हासिल गरेको छ । म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्ड, जेरेमी डोकु र रयान चेर्कीले एक एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको ६ खेलमा ९ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

२०- नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य विजयी भएका छन् भने समावेशी उपसभापतिमा विनोद चौधरी विजयी भएका छन् । त्यस्तै, खुलातर्फको महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् भने महिलातर्फको महामन्त्रीमा भने डा. डिला संग्रौला विजयी भएकी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्