काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणलाई आइसीसीले औपचारिक मान्यता दिएको जानकारी दिएको हो । आइसीसीले मान्यता दिएपछि प्राप्त भएमा नेपाली क्रिकेटको विकास, विदेशी खेलाडीको सहभागिता र प्रतियोगिताको व्यावसायिक विस्तारमा सहयोग पुग्ने भएको छ । आईसीसीको स्वीकृतिले टेस्ट खेल्ने देशका अन्तर्राष्ट्रिय खेलाडीहरुलाई फ्रेन्चाईजीहरुले सहभागिता गराउन सक्ने छन् । यसबाट टोलीहरूले प्रायोजन, विज्ञापन तथा व्यावसायिक साझेदारी विस्तार गर्ने अवसर पाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्लेषण गरिएको छ । यसअघि एनपीएलमा आइसीसीको आंशिक स्वीकृति रहेको थियो, जसका करण सिमित टिमले मात्र अन्तराष्ट्रिय खेलाडी भित्राउने अवसर पाएका थिए । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।
२- यस वर्षको दशैँ अवधिभर नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दशैँका बेला ठूलो वर्षाको सम्भावना नरहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । असोज ३१ गते शनिबार फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा देशका पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने पूर्वानुमान छ । मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । फूलपातीको राति हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्नेछ । कात्तिक १ गते आइतबार अष्टमीका दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । अष्टमीको राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ । कात्तिक २, ३ र ४ गते अर्थात् नवमीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाको पूर्वानुमानअनुसार दशैँका अधिकांश दिन मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्नुपर्नेछ ।
३- सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् । सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी विपद् सामना गर्ने तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्ने विषयको आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी गराएका थिए । जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी र उत्थानशीलता सुदृढ गर्नुपर्नेमा सभामुख अर्यालले जोड दिएका थिए। यस विषयमा अन्तर्राष्ट्रिय तथा अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।
४- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन हुने भएको छ । सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ । नेपालमा सम्मेलन आयोजना हुनुलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति थप बलियो बनाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन् ।
५- भारतको ककरोच जनता पार्टी (सिजेपी) का अध्यक्ष अभिजित दिपके पक्राउ परेका छन् । दिल्लीको सेन्ट्रल पार्कमा शुक्रबार प्रदर्शन गर्नुअघि सीजेपीका संस्थापक अभिजित दिपकेलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै भारतको दिल्ली प्रहरीले अखिल भारतीय विद्यार्थी संघकी अध्यक्ष नेहा बोरालाई पनि प्रदर्शन सुरु हुनुअघि नियन्त्रणमा लिएको बताइएको छ । दिल्लीस्थित मण्डी हाउसबाट जुलुसको नेतृत्व गर्ने तयारीमा रहेकी बोरालाई प्रहरीले मार्च सुरु हुनुअघि नै नियन्त्रणमा लिएको बताइएको छ । यसअघि प्रहरीले सूचना जारी गर्दै सेन्ट्रल पार्क क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरिएको घोषणा गरेको थियो । सिजेपी नेताहरु आशुतोष रांका र सौरव दासलाई भने यसअघि नै नियन्त्रणमा लिएर अदालतले पाँच दिनको न्यायिक हिरासतमा पठाएको छ ।
६- निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार देशभर कुल १ करोड ९० लाख ९१ हजार ३७५ मतदाता कायम भएका छन् । आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य २१४ जना रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तुलनामा मतदाता संख्या १ लाख ८७ हजार ६८६ ले बढेको छ । उक्त निर्वाचनमा महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए । आयोगले २०८२ चैत २२ गतेदेखि नियमित रूपमा मतदाता नामावलीमा नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका मतदाताको नाम हटाउने काम गर्दै आएको थियो । यस क्रममा २०८३ भदौ १५ गतेसम्म नाम दर्ता गराएका र सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई समावेश गरी असोज १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको थियो । प्रारम्भिक नामावलीमा १ करोड ९२ लाख ९४ हजार ९६१ मतदाता समावेश थिए। चैत २२ देखि भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जनाको नाम थपिएको थियो भने मृत्यु, दोहोरो नाम तथा नागरिकता त्याग वा रद्दलगायतका कारण ३९ हजार ८० जनाको नाम हटाइएको थियो । त्यसपछि प्रारम्भिक नामावलीमाथि दाबीविरोध तथा विवरण जाँचबुझ गर्ने क्रममा थप २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको आयोगले जनाएको छ । जसमध्ये मृत्यु भएका ४५ हजार ३२२ जना र दोहोरो नाम, नागरिकता त्याग वा रद्द तथा दाबीविरोधलगायतका कारण १ लाख ५८ हजार २६४ जनाको नाम हटाइएको हो । यसरी आवश्यक संशोधन र अद्यावधिकपछि आयोगले असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको हो । आयोगले अन्तिम मतदाता नामावली आफ्नो आधिकारिक वेबसाइट www.election.gov.np मा सार्वजनिक गरेको छ । साथै सातै प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहअनुसारको मतदाता संख्यासम्बन्धी विवरणसमेत वेबसाइटमा उपलब्ध गराइएको आयोगले जनाएको छ ।
७- राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन् । यसैगरी, राष्ट्रपतिले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी विधेयक पनि प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिएका छन् ।
८- मधेस सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ । शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र नेकपा एमालेले बुझाएको हो । एमालेले नेपाली कांग्रेस र नेपाली कम्यनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तया जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न १५ बुँदे समझदारी भएकोमा उक्त समझदारी पुरा नभएकोले समर्थन फिर्ता लिएको जनाएको हो । यसैगरि, एमालेबाट प्रदेश सरकारमा मन्त्री रहेका चार मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री मो. समीर, खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्मा, श्रम तथा यातायात मन्त्री शारदा देवी थापा र शिक्षा तथा खेलकुद मन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन् ।
९- चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै सो निर्णय गरेको हो। यो सङ्ख्या गत वर्षभन्दा ४ सय १८ ले बढी हो । सिट निर्धारण प्रक्रियाका लागि देशभरका कुल ९० वटा शिक्षण संस्थाले स्व-मूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए । विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमनको प्रतिवेदनलाई आधार बनाएर ९० मध्ये ८४ वटा शिक्षण संस्थालाई यस वर्ष सिट निर्धारण गरिएको छ । आयोगका सदस्य सचिव हरि प्रसाद निरौलाका अनुसार, कार्यक्रमगत हिसाबले एमबीबीएसतर्फ गत वर्षको तुलनामा कुल ११० सिट वृद्धि गरिएको छ । जसअन्तर्गत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएसका लागि ५० सिट प्राप्त गरेको छ । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०-३० सिट थप गरिएको छ । ‘निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सिट वृद्धि गरिएको छैन। एमबीबीएसमा बढेको सिट सरकारी संस्थाको मात्र हो,’ सदस्य सचिव निरौलाले बताए । उनका अनुसार, एमबीबीएसबाहेक अन्य विधामा पनि सिट बढाइएको छ । बिएससी नर्सिङतर्फ गत वर्षको तुलनामा २ सय १० सिट वृद्धि गरिएको छ भने बिएमएसमा ९८ सिट थप गरिएको छ ।
१०- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर ४ अर्ब ८८ करोड ८९ हजार १०८ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर १४.८२ प्रतिशतले बढेको छ भने बेनी हाइड्रोको शेयर १२.४६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एसबीएल डिभेन्चरको शेयर ५.८४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २० करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एनआइएमबी बैंकको १८ करोड २९ लाख बराबरको कारोबार भएको छ ।
११- सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ । शुक्रबार, बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२ को आधारमा गहुँको समर्थन मूल्य तोकेको हो । गत आर्थिक वर्षमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ थियो । यस वर्ष मूल्य प्रतिक्विन्टल १६२ रुपैयाँले बढाइएको छ ।
१२- आज बसेका मन्त्रिपरिषद्को बैठकका पाँच निर्णय सरकारले सार्वजनिक गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकका मुख्य निर्णयहरू: १- नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने । २- जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मन प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने । ३- बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने । ४- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को प्रारम्भ हुन बाँकी दफाहरू मध्ये दफा १७ को खण्ड (ङ), दफा २५ र दफा २६ संवत् २०८३ साल कात्तिक १५ गतेदेखि प्रारम्भ गर्ने । ५- आ.ब. २०८३÷८४ को लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य रू. ४१०७÷– प्रति क्वीन्टल तोक्ने । (क) बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. १ र २ लाई एवं मिति २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित बागलुङ जिल्लाका थप दुई वटा स्थानीय तह गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई तीन महिनाको अवधिको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने । (ख) उक्त स्थानीय तहका क्षतिग्रष्त निजी आवासका प्रभावित परिवारहरूले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा त्यस्ता परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनाका लागि तत्काल राहत स्वरूप बसोबास र जिविकोपार्जनका लागि ४ जनासम्मको सदस्य सङ्ख्या भएका परिवारलाई प्रति परिवार प्रति महिना रु. १५,०००।– र सोभन्दा बढी सदस्य भएको परिवारको लागि प्रति सदस्य थप रु. २,०००।– प्रति महिना प्रदान गर्ने । ७- सामुद्रिक पारवहन सहयोग सम्बन्धी बिमस्टेक सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने । ८- राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने । ९- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति (गठन) (चौथो संशोधन) आदेश, २०८३ स्वीकृत गर्ने । १०- दाना पदार्थ (दोस्रो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने । ११- पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने । १२- अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने स्वीकृति प्रदान गर्ने । १३- आ.व.२०८१÷८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने ।
१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीभन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न सजिलो रहेको बताएका छन् । उनले रुस–युक्रेन युद्ध धेरैअघि नै अन्त्य भइसक्नुपर्ने भन्दै जेलिन्स्कीको आलोचना गरेका छन् । एक अन्तर्वार्तामा ट्रम्पले जेलिन्स्कीले सम्झौताका लागि तयार रहेको बताए पनि निर्णय गर्ने बेला पछि हट्ने गरेको आरोप लगाए । उनले रुस र युक्रेन दुवैले युद्ध रोक्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन् । ट्रम्पले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरिरहेका आक्रमणप्रति पनि असन्तुष्टि जनाएका छन् । विश्वका विभिन्न क्षेत्रमा डिजेलको अभाव भइरहेका बेला यस्ता आक्रमणले थप चिन्ता बढाउन सक्ने उनको भनाइ छ । उनले पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनलाई अर्बौँ डलरको आर्थिक तथा सैन्य सहायता उपलब्ध गराए पनि युद्ध अन्त्य हुन नसकेको टिप्पणी गरे । ट्रम्पले युक्रेनले अन्ततः कुनै न कुनै सम्झौतामा पुग्नुपर्ने बताएका छन् । युद्धको पृष्ठभूमिबारे चर्चा गर्दै ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा क्रिमियामाथि युक्रेनको नियन्त्रण गुमेको प्रसङ्ग पनि उठाएका छन् । रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेको थियो। युक्रेन र अधिकांश अन्तर्राष्ट्रिय समुदायले क्रिमियालाई युक्रेनकै भूभाग मान्दै आएका छन् । ट्रम्पले युद्धका क्रममा रुस र युक्रेन दुवैले ठूलो मानवीय क्षति बेहोरेको उल्लेख गर्दै युद्ध छिट्टै अन्त्य हुने आशा व्यक्त गरेका छन् । यद्यपि, शान्ति सम्झौताका लागि दुवै पक्ष कुन सर्तमा सहमत हुन सक्छन् भन्नेबारे उनले स्पष्ट पारेका छैनन् ।
१४- नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको मर्मत आफैँले गर्ने भएको छ । कांग्रेसले असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा महाधिवेशनका कार्यक्रम आयोजना गर्दा क्षति पुगेका संरचना र मैदान पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन आफ्नै खर्चमा नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्ने भएको हो । काठमाडौं महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई जिम्मेवारी दिएको छ । मर्मतसम्बन्धी सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्बिरोध निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चभित्रका सम्पूर्ण भागहरूमा भूमि सम्याएर उच्च गुणस्तरको दुबो घाँस रोप्ने र प्राविधिक रेखदेखसहित त्यसको उचित स्याहार गरिनेछ । यस कार्यका लागि लाग्ने सम्पूर्ण आर्थिक भार तथा लागत कांग्रेस स्वयंले व्यहोर्ने सहमति भएको छ । पुनर्स्थापनाका लागि ४५ दिनको समय दिइएको छ ।
१५- जापानको मौसम विज्ञान निकायले ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी जारी गरेपछि देशभर त्रास फैलिएको छ । होक्काइदोदेखि तोकाई क्षेत्रसम्म शक्तिशाली भूकम्पको धक्का महसुस हुन सक्ने चेतावनी दिइएको थियो । तर, करिब १२ मिनेटपछि उक्त चेतावनी फिर्ता लिइएको छ । जापानको मौसम विज्ञान निकायले भूकम्पको तीव्रता आवश्यकताभन्दा बढी अनुमान गर्दा गलत चेतावनी जारी भएको स्वीकार गर्दै माफी मागेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । जापानको भूकम्प पूर्वचेतावनी प्रणालीले जमिनमा जडित संवेदकबाट प्राप्त प्रारम्भिक तथ्याङ्कका आधारमा भूकम्पको तीव्रता र सम्भावित प्रभावको अनुमान गर्छ । प्रारम्भिक तथ्याङ्क अपूर्ण हुँदा अनुमान गलत हुन सक्ने भए पनि यसपटकको त्रुटिलाई गम्भीर मानिएको छ । अहिलेसम्म ९.९ म्याग्निच्युडको भूकम्प अभिलेख गरिएको छैन । प्रारम्भिक तथ्याङ्क अपूर्ण हुनु, भूकम्प निगरानी केन्द्रबाट टाढा उत्पन्न हुनु वा एकै समयमा आसपासका क्षेत्रमा धेरै भूकम्प आउनुले अनुमानमा असर पार्न सक्छ । तर, यस घटनामा संवेदक वा सफ्टवेयरमा समस्या आएको पुष्टि भएको छैन ।
१६- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका कमजोरी र विकृति हटाएर पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टी आन्तरिक अलमलमा रुमल्लिएर बस्न नहुने बताउदै पार्टी भित्रका फोहोर सफा गरेर अगाडी बढ्ने बताएका हुन् । उनले भने- ‘अब हामी घरभित्र अलमलिएर बस्ने होइन। पार्टीलाई थप सफा बनाएर लैजानुपर्छ,पार्टीभित्रको फोहोर पनि सफा गरेर लैजानुपर्छ ।’ थापाले नेपाली कांग्रेसले फरक–फरक पुस्तालाई जोड्दै अघि बढ्नुपर्ने बताउदै सामाजिक सञ्जालमा लोकप्रिय हुने होडमा मात्रै लागेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने बताए । उनले भने- ‘अब कसले सुन्छ, कसले सुन्दैन भनेर रिल्सको पछि कुदेर हुँदैन । विभिन्न मुद्दा र विषय छन् । यी विषयमा बन्द कोठामा बसेर चिन्तन गर्नुपर्छ, बहस गर्नुपर्छ ।’ कांग्रेसलाई समयानुकूल बनाउँदै विभिन्न पुस्ताका विचार र आवाजलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले आफु सभापतिको रुपमा पार्टीको आन्तरिक काममा बढी नअल्मलिने बताउदै देशभर घुमेर जनतासँग भेट्ने र पार्टी बाहिरका काममा बढी समय दिन चाहेको बताए । उनले पार्टीको आन्तरिक काम उपसभापति र महामन्त्रीसहित केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुले गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।
१७- अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई पनि गोली लागेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ । रिपोर्ट अनुसार स्थानीय समयअनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको थियो। मृतकमध्ये पाँच, आठ र ११ वर्षका तीन बालबालिका तथा एक शिक्षक रहेका छन् । प्रहरी अधिकारीहरू विद्यालयभित्र प्रवेश गर्दा गोली चलाउने आशङ्का गरिएका व्यक्ति मृत अवस्थामा भेटिएको बताएका छन् । आक्रमणकारीले विद्यालयका बन्द ढोकामा गोली चलाएर जबर्जस्ती भवनभित्र प्रवेश गरेको बताइएको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजसहित केही सञ्चारमाध्यमले गोली चलाउने आशङ्का गरिएका व्यक्ति १६ वर्षीय किशोर भएको जनाएका छन्। तर प्रहरीले उनको पहिचान औपचारिक रूपमा सार्वजनिक गरेको छैन । प्रहरीले आक्रमणकारी सोही विद्यालयका विद्यार्थी थिए वा थिएनन् भन्नेबारे पनि जानकारी दिएको छैन । मृतक तथा घटनामा संलग्न व्यक्तिको पहिचान र घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
१८- रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरलाई विपक्षी खेलाडीको कपाल तानेको र रेफ्रीसँग आक्रामक व्यवहार गरेको भन्दै चार लिग खेलमा प्रतिबन्ध लगाइएको छ । भिल्लारियलविरुद्धको खेलमा ७३औँ मिनेटमा नाथन सालिबाको कपाल तानेपछि भिनिसियसले सोझै रातो कार्ड पाएका थिए । स्पेनिस फुटबल महासङ्घको अनुशासन समितिले घटनाका लागि दुई र रेफ्रीसँगको विरोधका लागि थप दुई खेलको प्रतिबन्ध लगाएको हो । प्रतिबन्धका कारण उनले सेभिया, बार्सिलोनाविरुद्धको एल क्लासिको, रेसिङ सान्टाडेर र भ्यलेन्सियाविरुद्धका खेल गुमाउने भएका छन् । रियल म्याड्रिडका प्रशिक्षक जोसे माउरिन्होले महत्त्वपूर्ण खेलअघि प्रतिबन्धको निर्णय सार्वजनिक गरिएको समयप्रति असन्तुष्टि जनाएका छन् । उनले निर्णय प्रक्रियामा पारदर्शिता नभएको भन्दै आलोचना गरेका छन् ।
१९- पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको अवसरमा देशमा राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा सामाजिक क्षेत्र अन्योल र असमञ्जसको अवस्थामा रहेको बताएका छन् । उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र देशभक्तिको भावना बलियो बनाउन सबै नेपालीलाई आग्रह गरेका छन् । विजयादशमीको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले गत भदौमा आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै विपत्तिको सामना गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन् । ‘यस वर्षको बडादसैँमा पनि हाम्रा निम्ति सुखद रहने भनी दश गते भोटेकोशीमा परेको भीषण बाढीले विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा र यही असोजमा परेको अविरल वर्षा तथा देशको भूभागमा आएको बुढीगण्डकी बाढीका कारण जनधनको अपार क्षति हामीले भोग्नु पर्यो,’ सन्देशमा भनिएको छ । उनले विपत्तिपछि क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । साथै, बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्परामा आँच आउन नदिनुपर्नेमा जोड दिएका छन् । पूर्वराजा शाहले नेपालको पहिचान भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै भनेका छन्, ‘नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो ।’ उनले देशको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गर्दै राज्य प्रणाली सञ्चालनमा देखिएका कमजोरी सुधार्नुपर्ने बताएका छन् । उनका अनुसार सुशासन, निष्पक्षता, जनउत्तरदायी व्यवस्था र राष्ट्रिय एकता सुदृढ बनाउनु आवश्यक छ । ‘नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना झन् बलियो बन्दै जाओस्। विभाजित होइन, एकताबद्ध नेपाल, परनिर्भर होइन आत्मनिर्भर नेपाल, कमजोर होइन सबल र सक्षम नेपाल निर्माण गर्ने सोच हामी सबैमा जागृत होस्,’ सन्देशमा भनिएको छ । उनले बडादसैँले सत्य, न्याय र शक्तिको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै सबै नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
२०- यमनका हुथी विद्रोहीले प्रयोग गर्ने सस्तो ड्रोन रोक्न साउदी अरबले महँगो हवाई प्रतिरक्षा प्रणाली प्रयोग गर्नुपर्दा सुरक्षा खर्च बढ्दै गएको छ । करिब १५ लाख रुपैयाँ पर्ने एउटा ड्रोन नष्ट गर्न झन्डै ३० करोड रुपैयाँ पर्ने प्रतिरोधी क्षेप्यास्त्र प्रयोग गर्नुपर्ने अवस्था रहेको विवरणमा उल्लेख छ । साउदी अरबले आधुनिक लडाकु विमान, क्षेप्यास्त्र र हवाई प्रतिरक्षा प्रणालीमा अर्बौँ डलर खर्च गर्दै आएको छ । तर हुथी विद्रोहीले कम उचाइमा उड्ने सस्ता ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दा तिनलाई राडारबाट समयमै पत्ता लगाउन र आकाशमै नष्ट गर्न कठिन भइरहेको छ । यसले आर्थिक क्षतिसँगै महँगा प्रतिरोधी क्षेप्यास्त्रको मौज्दातमा समेत दबाब बढाएको छ । युक्रेन र मध्यपूर्वमा जारी युद्धका कारण प्रतिरोधी क्षेप्यास्त्रको विश्वव्यापी माग बढेकाले साउदी अरबलाई लामो समयसम्म यस्तै रणनीतिबाट आक्रमण रोक्न थप कठिन हुन सक्ने आकलन गरिएको छ । हुथी विद्रोहीले आफ्नै हतियार उत्पादन गर्ने क्षमता पनि बढाउँदै लगेका छन् । यमन साउदी अरबको दक्षिणपश्चिममा पर्ने भएकाले त्यस दिशाबाट हुने आक्रमण रोक्ने सुरक्षा व्यवस्थामा पनि कमजोरी रहेको विश्लेषण गरिएको छ । साउदी अरबले सन् २०१५ मा हुथी विद्रोहीविरुद्ध यमनमा सैन्य अभियान सुरु गरेको थियो । केही सातामै विद्रोहीलाई कमजोर बनाउने अपेक्षा गरिए पनि युद्ध लम्बियो। हुथीले यमनको ठूलो भूभागमा आफ्नो नियन्त्रण कायम राख्नुका साथै साउदी अरबमाथि पनि पटकपटक आक्रमण गरे । सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युद्धविराम भए पनि द्वन्द्वको स्थायी समाधान हुन सकेको छैन । साउदी अरबको चुनौती हतियारमा मात्र सीमित छैन । सेनाबीचको समन्वय, छिटो निर्णय गर्ने क्षमता र आधुनिक उपकरण सञ्चालन गर्ने तालिम पनि महत्त्वपूर्ण छन्। यमनभित्र हुथीविरोधी समूहहरू विभाजित रहेकाले उनीहरूलाई एकजुट बनाएर विद्रोहीको प्रभाव घटाउन पनि कठिन भइरहेको छ । हुथी विद्रोही इरानका प्रभावशाली सहयोगी समूह मानिन्छन्। उनीहरूले साउदी अरब र अमेरिकाको सैन्य तथा आर्थिक लागत बढाउन सक्दा इरानलाई क्षेत्रीय दबाब सिर्जना गर्ने अवसर मिल्छ । यसले यमनमा केवल हवाई आक्रमण र महँगा हतियारको भरमा विजय हासिल गर्न कठिन हुने देखाएको छ ।


