सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता – Kanika Khabar
Sunday, October 18Nepali News Portal

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

    मा प्रकाशित

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।

आइतबार बिहान करिब २: ३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल नदीमा खसेको हो । दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक ओखलढुंगाका करिब २९ वर्षीय आशिष बिष्ट, खोटाङ दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई तथा दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक घाइते भएका छन् ।

उनीहरूलाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो । पछि चारै जनालाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।

चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ताहरूको खोजी गरिरहेको छ । दुर्घटनाको कारण तथा मृतक र बेपत्ताहरूको थप पहिचान खुल्न बाँकी छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्