
दाङ । विद्यार्थीको प्रतिभा पहिचान, सिर्जनात्मक क्षमता अभिवृद्धि र प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘जर्नी टु जिनिअस एक्स्पो २०२६’ लाई लक्षित गरी प्याब्सन दाङ र निमा एजुकेसन फाउन्डेसनबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आगामी पौष १०, ११ र १२ गते आयोजना हुन लागेको एक्स्पोलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुई संस्थाबिच यही कार्तिक १७ गते समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको हो ।
प्याब्सन दाङका तर्फबाट प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार तथा जर्नी टु जिनिअस एक्स्पो २०८३ को मूल आयोजक समितिका संयोजक नारायण प्रसाद अधिकारी र निमा एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निश्चल प्रधानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार विद्यार्थीहरूमा आधुनिक कम्प्युटरसम्बन्धी ज्ञान तथा सीपको विकास, लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) को कार्यान्वयन, पाठ्यपुस्तकको प्रभावकारी प्रयोग र २१औँ शताब्दीमा आवश्यक पर्ने सीपहरूको प्रवर्द्धनका लागि सहकार्य गरिनेछ ।
यस सहकार्यले विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनुका साथै विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र प्रविधिको प्रयोगमा अभ्यस्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी आधुनिक कम्प्युटिङ कोर्स, डिजिटल सिकाइ प्रणाली र नवीनतम शैक्षिक अभ्यासमार्फत विद्यार्थीको क्षमता विकासमा जोड दिइनेछ ।
प्याब्सन दाङले आयोजना गर्न लागेको जर्नी टु जिनिअस एक्स्पोले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान गर्ने, खोज तथा अनुसन्धानमा रुचि बढाउने र पाठ्यपुस्तकमा आधारित ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
विज्ञान, प्रविधि, नवप्रवर्तन, सिर्जनशीलता र डिजिटल सीपलाई प्राथमिकता दिइने एक्स्पोले विद्यालयस्तरको शिक्षालाई परम्परागत सिकाइ पद्धतिबाट व्यावहारिक, खोजमूलक र प्रविधिमैत्री दिशातर्फ अघि बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
‘प्रतिभादेखि उत्कृष्टतातर्फको यात्रा’ भन्ने मूल नारासहित आयोजना हुन लागेको एक्स्पोले विद्यार्थीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च प्रदान गर्नुका साथै विद्यालय, शिक्षक र विद्यार्थीबीच नवीनतम शैक्षिक अभ्यास आदानप्रदान गर्ने साझा अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ ।


