कनिका खबर
असोज २५, दाङ ।
लकडाउन खुकुलो गरेसँगै कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा फैलदै जान थालेपछि सरकारले झन कडा लकडाउन गर्न सक्ने संकेत गरेको छ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको हो । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपीलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने सङ्केत गरेका छन् ।
प्रवक्ता ज्ञवालीले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपील गरेका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे । दशै, तिहार र छठजस्ता चाडपर्वहरुमा भींडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे ।