शिवराज खनाल
देउखुरी,१२ मंसिर ।
नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध तयार पारेको अरोप पत्र महाकाण्डको डकुमेन्ट भएको संज्ञा नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले दिएका छन् ।
दाङको लमहीमा पत्रकारहरुसंग कुरा गर्दै उनले‘ वर्तमान सरकारको बारेमा मैले त काण्डै काण्डको डकुमेन्ट तयार पारेको थिए तर त्यही पार्टीका अध्यक्ष प्रचण्डले महाकाण्डको डकुमेन्ट तयार पारेको बताएका हुन । उनले भने–‘‘महाकाण्डको डकुमेन्टलाई आधार मानेर केपी ओलीसंग सबैले जवाफ माग्नुपर्छ ।’
त्यस्तै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय अध्यक्ष समेत रहेका महरले नेपाली कांग्रेस पार्टीभित्रको गुटवन्दीका कारण नेपाल विद्यार्थी संघको भविस्य अन्धकारतर्फ ढकेलिएको बताए । पार्टी भित्रको गुटवन्धीको असर विद्यार्थी संगठनमा प्रत्यक्ष देखिएको बताएका हुन ।‘ मेरो मान्यता ३२ बर्ष भित्रका साथीहरुलाई विद्यार्थी संगठनको नेतृत्वमा ल्याउनुपर्छ भन्ने थियो । तर, पार्टीका नेताहरुले यसलाई मान्नुभएन’उनले भने,‘समयमा महाधिवेसन सम्पन्न गर्नुपथ्र्यो । विवादका विचमा सकिएन ।’
नेपाली कांग्रेस भित्र साँझा नेतृत्व भेटाउन गाह्रो परेको उल्लेख गरे । ‘९९ प्रतिशत नेता गुटवन्दीमा छ । साझा नेता भेट्टाउन मुस्किल प¥यो’उनले भने,‘पार्टी बलियो बनाउनुपर्ने ठाउँमा गुट बनाउने खेल भैरहेको छ ।’
पार्टी भित्रको गुटवन्दीको अन्त्य आफ्नो अनिवार्य सर्त भएको बताएका हुन ।‘गुटवन्दीले गर्दा बुथबाट हराउने खेल हुन्छ । स्वतन्त्र रुपले चुनाव लड्ने वातावरण बनाउनुपर्छ’उनले भने,‘गुटवन्दीको असरले गर्दा राम्रो मान्छे छायाँमा अवस्था भयो ।’ यस्तै नेकपा भित्रको अहिलेको विवादले पार्टी फुटको आधार तयार नभएको बताए ।‘नेकपा फुट्ने कुनै आधार तयार भएको छैन्’उनले भने,‘हामीले अरुको पार्टीको भन्दा आफ्नै पार्टीको महाधिवेसनलाई ध्यान दिनुपर्छ ।’
पत्रकार संग भएको छलफल कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी, महाधिवेसन प्रतिनिधि प्रदिपराज शर्मा लगायत नेतृत्वको उपस्थिती रहेको थियो । प्रेस युनियनका जिल्ला सहसचिव शिवराज खनालको अध्यक्षता तथा नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरको प्रमुख आतिथ्यतामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।