जेठ ५, कास्की ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज पाँच जना मन्त्री नियुक्त गर्नुभएको छ । पाँचै जना प्रदेश सरकारमा यसअघि नै मन्त्री रहेका थिए । पुनः नियुक्त भएका मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाउनुभएको छ ।
सपथ ग्रहण समारोहमा राजीव गुरूङ ‘दीपक मनाङे’ भने उपस्थित हुनुभएको थिएन । पुनः नियुक्त भएका मन्त्रीहरूमा किरण गुरूङ र मनाङेले मात्रै जिम्मेवारी पाएका छन् । यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री रहेका गुरूङले पुनः सोही मन्त्रालय पाउनुभएको छ ।
यस्तै, युवा तथा खेलकुद मन्त्री रहेका मनाङे पनि सोही मन्त्रालयमा नियुक्त हुनुभएको छ । बाँकी ३ जना मन्त्री भने बिनाविभागीय छन् । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री रहेका रामशरण बस्नेत, सामाजिक विकास मन्त्री रहेकी नरदेवी पुन, पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री रहेका विकास लम्साल बिनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका छन् ।