भदौ १०, दाङ ।
सत्तारुढ दल नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । क्रियाशील सदस्यताको विषय टुंग्याएपछि महाधिवेशन तयारीको विषयले तीब्रता पाएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रशासनिक कामहरु धमाधम भइरहेको जानकारी दिए । उनका अनुसार विवाद नरहेका ४० जिल्लाका क्रियाशील सदस्यताको पोको पारेर ठिक पारेर राखिएको छ । अन्य जिल्लाबारे पनि तयारीहरु भइरहेको उनले जानकारी दिए ।
उनले पहाडी र दुर्गम जिल्लाहरुमा शुक्रबार काठमाडौंबाट निर्वाचन सामग्रीहरु वितरण गरिने जानकारी दिए । उनले भने, ‘क्रियाशील सदस्यता, निर्वाचन निर्देशिकालगायतका निर्वाचन सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ । दुर्गम र पहाडी जिल्लाहरुमा सबैभन्दा छिटो हुने यातायातका साधनबाट भोलि नै सामग्री पठाउँछौं ।’
केन्द्रीय निर्वाचन समितिले विहीबार निर्वाचन अधिकृतहरुलाई अनुशिक्षण गर्ने कार्यक्रम तय भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृतहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार नै जिल्लामा खटाइने छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतहरु जिल्ला जिल्लामा पुग्ने छन् । निर्वाचन समितिले निर्वाचन अधिकृत र केन्द्रीय प्रतिनिधिहरुको नाम भने गोप्य राखेको छ ।


