शिवु खनाल
देउखुरी, २२ मंसिर ।
लमही नगरपालिकाको मातहतमा रहेको लमही अस्पतालको लागी खरिद गरी ल्याइएको कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडान भएतापनि केमिकल नहुदा संचालनमा आउन सकेको छैनन् । छ महिना अघि ल्याइएको बायोकेमेस्ट्री एनलाइजर मेशिन सञ्चालनमा आउन सकेको छैन । प्रयोगमा नआइकिन विगत छ महिना देखि बायोकेमेस्ट्री एनलाइजर र इलेक्ट्रोलाइट एनलाइजर मेशिन अस्पतालको प्रयोगशालामा प्रयोगविहीन अवस्थामा थन्किएर बसेको छ । मेसिन सञ्चालनमा नआउँदा बिरामी समस्यामा परेका छन् । बायोकेमेस्ट्री एनलाइजर मेशिनबाट एकैपटक धेरैजनाको टेस्ट चेकजाँच गर्न सकिने र रिपोर्ट छिटो आउने मेशिन हो तर, केमिकल नभएकै कारण अलपत्र उक्त मेशिन जडान भएदेखि अहिलेसम्म संचालनमा आउन नसकेको हो ।
मेशिन राख्ने कोठाको व्यवस्थापन भएको छैन । मेशिन गत असारमै आएको हो, तर जडान भए देखि एकपटक पनि संचालनमा आउन सकेको छैन, लमही अस्पतालका एक कर्मचारीले भन्नुभयो । ‘मेशिन संचालनमा नआउदा लमही अस्पतालमा सेवा लिन आउने बिरामीलाई सेवा दिन समस्या भएको छ । तर, यस विषयमा नगरपालिकाले ध्यान नदिदा र चरम लापरबाहीका कारण प्रयोगशालामा भएका मेशिननै काम नलाग्ने अवस्थामा पुगेको र विरामीलाई अस्पताल ल्याउनासाथ निजीतिर पठाउने गरिएको छ । यस्तै इलेक्ट्रोलाइट एनलाइजर मेशिनबाट शरिरमा हुने सोडियम र पोटासियमको मात्र चेकजाँच गर्ने हो तर, केमिकल नभएकै कारण मेशिन अलपत्र अवस्थामा छन् । प्रयोगशालामा रहेका मेशिन सञ्चालन गर्ने केमिकल पनि छैन । भित्र भएका मेशिनसमेत सञ्चालन नआउँदा सेवा लिन आएका बिरामीले निजि पोलिक्लिन धाउनु परेको छ ।
इ.सि.जि गर्ने मेसिन पनि विग्रियो
लमही अस्पतालमा रहेको इ.सि.जि गर्ने मेशनि पनि विग्रिएको अवस्थामा छ । अस्पतालमा रहेको इ.सि.जि गर्ने मेशिन विग्रिएपछि इ.सि.जि गर्नको लागी अनेत्र बाहिर जानुपर्ने समस्या उत्पन्न भएको छ । यता लमही अस्पतालका हेल्थ असिस्टेन्ट आनन्द गुप्ताले इ.सि.जि गर्ने मेशनि एक्कासी विग्रिएको जानकारी दिनुभयो । उहाँले मंगलवारसम्म ठिकै चलेको मेशिनले अहिले एक्कासि काम गर्न छाडेको बताउनुभयो ।
प्रयोगशाला भित्रका अन्य मेशिनको केमिकल पनि सकियो
लमही अस्पतालको प्रयोगशालामा रहेका मेशिनहरुमा प्रयोग हुने केमिकल सकिएको छ । यस विषयमा अस्पताल प्रमुखले चासो नदिएकै कारण केमिकल खरिदमा समस्या परेको कर्मचारीले आरोप लगाएका छन् । सामान्य रूपमा चेकजाँच हुने युरिया क्रेटेनिन, कलेजो सम्बन्धिको चेकजाँचको केमिकल सकिदा सेवाग्रहीलाई लमही अस्पतालबाट अनेत्र पठाउनुपर्ने बाध्यता आएको छ । देउखुरीकै केन्द्र विन्दु मानिने लमही अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले पछिल्लो समय यता निकै सास्ती खैप्नुपरेको दुखेको पोखेका छन् ।
केमिकल खरिदको निर्देशन आइनः कर्मचारी
लमही अस्पतालको प्रयोगशाला भित्र रहेका दुईवटा मेशिन केमिकल नहुदाँ अलपत्र थन्किएर बसेका छन् । केमिकल सकिएको विषयमा पटकपटक अस्पतालमा जानकारी गराउँदा पनि आफुहरुलाई केमिकल खरिदको निर्देशन नआएको अस्पतालका कर्मचारीको भनाइ छ । केमिकल खरिदको निर्देश नआको हुनाले अहिलेसम्म केमिकल खरिद गर्ने नसकिएको हो ।
चर्को शुल्क असुल्दै लमही अस्पताल
नेपाल सरकारबाट निशुल्क चेकजाँच तथा औषधी वितरण गर्न भनी तोकिएका डेङ्गु, कालाजार, स्क्रपटाइफस, मलेरियापारासाइड, एचआईभी मध्य लमही अस्पतालले चर्को रुपमा शुल्क असुल्दै आएको रहस्य खुलेको छ । लमही अस्पतालबाट डेङ्गु रोग चेकजाँच गरे वाफत सात सय र स्क्रपटाइसफस चेकजाँच गरेवाफत बाह्रसय रुपैँयाँ विरामीहरुबाट उठाउदै आएको रहस्य खुलेको हो । यता नेपाल सरकारबाट निशुल्क चेकजाँच तथा औषधी वितरण गर्न भनी तोकिएका डेङ्गु, कालाजार, स्क्रपटाइफस, मलेरियापारासाइड, एचआईभीको कत्ति पैसा नलाग्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लमही अस्पतालले उक्त रकम के उद्देश्यले लिएको हो ? नेपाल सरकारबाटै निशुल्क चेकजाँच तथा औषधी वितरण गर्न भनी तोकिएकाबाट विरामीहरुसंग पैसा मागेको भए उनिहरुलाई कार्वाही हुने बताउनुभयो । डेङ्गु र स्क्रपटाइफस रोग चेकजाँच तथा औषधी विररणको रागी राज्यले नै बजेट पठाउने भएकोले निःशुल्क हुनुपर्ने हो । विरामीबाट चर्को रुपमा पैसा उठाएको भए तत्कालै छानविन गरि कार्वाही हुन्छ ढुक्क हुनुहोस्, स्वास्थ्य प्रमुख शाहीले भन्नुभयो ।
हाम्रो केही लाग्दैन : अस्पताल समिति
यता लमही अस्पताल व्यवस्थापन समितिका सदस्य सागर सुबेदीले समितिले निर्णय नगरेको विषयमा विरामीहरुबाट शुल्क लिएको पाइएको बताउनुभयो । कार्यालय प्रमुखले आफ्नो जिम्मेवारी बहन नगर्दा अस्पतालमा यस्तो समस्या आइपरेको हो, उहाँले भन्नुभयो,—। ‘कार्यालय प्रमुखले हाम्रो केही कुरै सुन्नुहुन्न, सबै समस्या उहाँकै कारण पैदा भएको ।’
मा प्रकाशित