शरद सागर देवकोटा
लमही १४ साउन ।
दाङको लमही बजारमा माक्स नलगाउने माथि प्रहरीले निगरानी बढाएको छ । वडा प्रहरी कार्यालय लमहीले माक्स नलगाई हिँडडुल गर्नेलाई तुरुन्त माक्स किन्न लगाई प्रयोग गर्न लगाएको छ । लकडाउन खुलेसँगै सर्वसाधारणले स्वास्थ्य सुरक्षामा ध्यान नदिई जथाभावी हिँड्न थालेकोले प्रहरीले यस्तो कदम चालेको हो । प्रहरीले चेकजाँचको क्रममा बाटो हिँड्ने सर्वसाधारण र सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रीले माक्स गोजीमा हालेर हिड्ने गरेको बताइएको छ । प्रहरीले माक्स खाई ? भनेपछि गोजीबाट झिकेर लाउने गरेको प्रहरीले बताएको छ । कोरोना भाइरस अब सिधै समुदायमा सर्ने चेतावनी विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि दिएको छ । कोराना भाइरस समुदायमा सर्न नदिन प्रहरी प्रशासनले यो कदम चालेको हो ।