विष्णु पौडेलको ‘यु–टर्न’ – Kanika Khabar
Friday, August 14Nepali News Portal

विष्णु पौडेलको ‘यु–टर्न’

    मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पाेखरेलविरुद्ध चरम गुटबन्दी गरिरहेका उपाध्यक्ष विष्णु पौडेल एकाएक फेरिएपछि निकटस्थ नेताहरू असन्तुष्ट बनेका छन्।

विधान महाधिवेशनको चर्चा र केन्द्रीय कमिटीकाे बैठक अघिसम्म पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा माहोल बनाउन आफूपक्षीय सांसद तथा केन्द्रीय सदस्यहरूलाई हौस्याएका पौडेलले अन्तिम समयमा यू–टर्न गरेपछि ओली-शंकर पक्षको तारो बनेकाहरूले आक्रोश पोखे।

अध्यक्ष ओली र महासचिव पोखरेलले आफ्नो वर्चस्व कायम गर्न केन्द्रदेखि स्थानीय कमिटीसम्म गुटबन्दी गरेको, आन्तरिक लोकतन्त्र ध्वस्त पारेको भन्दै पौडेलले आफूनिकट नेताहरूलाई भण्डारीको पक्षमा लाग्न खटाएका थिए।

पौडेलको स्वार्थ थियो ११औं महाधिवेशनमा अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग मिलेर विद्या भण्डारीलाई सघाउने र १२‍औं महाधिवेशनमा भण्डारीको सहयोगमा पार्टीको नेतृत्व हत्याउने। उता महासचिव पोखरेल यसैपनि अध्यक्ष ओली पक्षधर मानिन्छन्। ओलीले पोखरेललाई छाडेर पौडेललाई नेतृत्व हस्तान्तरण गर्ने सम्भावना प्रायः कम नै छ। सोही कारण उपाध्यक्ष पौडेल भण्डारीनिकट मानिन्थे।

पौडेल र गुरुङ विधान महाधिवेशनको चर्चासँगै भण्डारी पक्षमा खुलेको एमाले वृत्तमा खासखुस पहिल्यैदेखि थियो। त्यसो त दुवै नेताहरू विद्यानिकट नै थिए। कतिसम्म भने सरकार गठन हुँदा पौडेल र गुरुङ विद्याकै कोटामा मन्त्री बनेको चर्चा थियाे। पौडेल अर्थमन्त्री र गुरुङ सञ्चारमन्त्री छन्।

त्यसो त प्रदेश अधिवेशनमा समेत पौडेलले भण्डारीसँगको सहकार्यमा ओली र पोखरेलविरुद्ध गुटबन्दी गरेका थिए। भण्डारीको आड पाएका पौडेल अध्यक्ष ओलीको सर्वसहमतिको दवाबमा समेत झुकेनन्। र, प्रदेश कमिटीहरूमा ओली-शंकर समूहलाई मात खुवाउन पनि सफल भए। पार्टीमा शक्ति प्रदर्शनको हैसियत पनि बनाए।

तिनै पौडेल अन्तिममा विद्यालाई साथको खाँचो परेका बेलामा एकाएक ओली र पोखरेलको नीतिमा समाहित भएपछि निकटस्थ नेताहरू असन्तुष्ट बनेका हुन्।

पौडेलनिकट एक पोलिटब्यूरो सदस्य भन्छन्, ‘खासमा विष्णु कमरेडको मुटु रहेनछ। एक वर्षअघिसम्म गुटबन्दी गराउनुभयो। शंकर कमरेडको नजरमा नराम्रो गराउनुभयो। अहिले उतै लाग्नुभयो। उहाँ वामदेवभन्दा कम हुनुहुँदो रहेनछ। अन्तिममा आफ्नो ठाउँ सुरक्षित गर्नुभयो। अनि हामी?’

त्यस्तै, उपाध्यक्ष पौडेलले आफूपक्षका नेताहरूमार्फत पूर्वराष्ट्रपति भण्डारीलाई गतवर्ष लुम्बिनी प्रदेश भ्रमण गराएका थिए। त्यहाँ रहँदा ओली समूहको चेपुवामा परेका र असन्तुष्ट पक्षहरू भण्डारीको पक्षमा खुलेका थिए।

पौडेलनिकट तर अहिले असन्तुष्ट लुम्बिनीका एक केन्द्रीय सदस्यले मन्त्रीको लोभमा ओलीको चेपुवामा परेको आरोप लगाए। मन्त्री पद आउने-जाने भएकोले पार्टीभित्र आफ्नो समूह बलियो बनाउन लाग्नुपर्नेमा पौडेल मन्त्रीमै अल्झिएको उनको भनाइ छ। पौडेलले यस्तै ढुलमुले चरित्र देखाएमा शंकर पोखरेलले अध्यक्षमा बाजी मार्ने उनको बुझाइ छ।

ती नेता भन्छन्, ‘उहाँ (विष्णु पौडेल) कै निर्देशनमा पूर्वराष्ट्रपतिलाई लुम्बिनी लगियो। त्यत्रो कार्यक्रम गरियो। उहाँ आफैं मन्त्रीको लोभमा ओलीको चेपुवामा पर्नुभयो। उहाँलाई ओलीले नेतृत्व हस्तान्तरण गर्ने कल्पना पनि नगरौं। अब अर्को महाधिवेशनमा विष्णु पौडेलको नेता पनि शंकर कमरेड बन्नुहुन्छ। दुईमत नै छैन।’

पौडेलनिकट एक सांसद पनि उनीबाट आफूहरूलाई धोका भएको बताउँछन्। ओली-पोखेरलबाट उपेक्षामा परेको महसुस गरेका पौडेलले भण्डारीलाई ल्याउन सके आफूहरूलाई सहज हुने बताउने गरेका थिए। अन्तिममा आएर पौडेलबाटै धोका पाएको महसुस गरेका ती सांसदले अब उनलाई आफ्नो नेता मान्न सोच्नुपर्ने अवस्था आएको बताए।

उनी भन्छन्, ‘ओली र शंकरले पार्टी चल्दैन, विद्या भण्डारी आए हामीलाई सहज हुन्छ भन्नुभयो। अनि हामी लागेका थियौं। अहिले आफैं ओलीको जालमा फस्नुभयो। राष्ट्रपति हुँदा सकेसम्म प्रयोग गरेर ओलीले अहिले विष्णुको ढाडमा टेकेर विद्या कमरेडको टाउकोमा हान्नुभयो। उहाँले पनि ओलीबाट धोका पाउनेमा शंकै छैन। अब उहाँ हाम्रो नेता रहनुभएन।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्