दाङ । दाङको तुलसीपुरस्थित गुमराहचोक नजिकै दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ ड्वाँङपुरका ३३ वर्षीय कमलेश चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसपीपुरका प्रमुख होमबहादुर पराजुलीले बताए । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बाँकेको नेपालगञ्जस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा दिउँसो पौने ४ बजे मृत्यु भएको हो ।
दुर्घटनामा तुलसीपुर–६ का ३० वर्षीय बसन्त बस्नेत र उनका २५ वर्षीय भाइ विवेक बस्नेत घाइते भएका छन् । सहोदर दाजुभाइ दुवै जना शिक्षक रहेको प्रहरीले बताएको छ ।
घाइतेमध्ये मोटरसाइकल चालक दाजु बसन्तको तुलसीपुरस्थित सिटी हस्पिटलमा घाँटी नजिकैको हड्डीको शल्यक्रिया गरिएको छ भने पछाडि सवार भाइ विवेकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


