स्वीकृत पाठ्यक्रम मात्र लागु गर्न विद्यालयहरुलाई निर्देशन – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

स्वीकृत पाठ्यक्रम मात्र लागु गर्न विद्यालयहरुलाई निर्देशन

    मा प्रकाशित

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तक र पाठ्यसामग्री सम्बन्धी कडाइ गर्न निर्देशन दिएको छ ।

केन्द्रका अनुसार नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यक्रम विकास केन्द्रले तयार पारेका वा स्वीकृति दिएका सामग्री मात्रै विद्यालयमा लागू गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । साथै, केन्द्रले पाठ्यपुस्तकको पृष्ठ संख्या र मूल्य पनि निर्धारित मापदण्डअनुसार हुनुपर्ने स्पष्ट पारेको छ ।

तर केही प्रकाशनले अनुमति नलिई, कम गुणस्तरका कागज प्रयोग गरी र बढी मूल्य तोकेर पाठ्यपुस्तक बिक्री गरेको गुनासो आएको केन्द्रले जनाएको छ । यस्ता सामग्री विद्यालयमा प्रयोग भइरहेको समेत पाइएको छ ।

यसले विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक बोझ परेको भन्दै केन्द्रले गम्भीर ध्यानाकर्षण जनाएको छ । विद्यालयबाटै पोशाक, किताब तथा स्टेशनरी बिक्री वितरण हुने जस्ता गतिविधि पनि कानूनविपरीत भएको उल्लेख गरिएको छ ।

केन्द्रले स्थानीय तहसँग समन्वय गरेर यस्ता गतिविधिको अनुगमन गर्न र दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । साथै, गरिएको कारबाहीको विवरण केन्द्रमा पठाउन पनि आग्रह गरिएको छ ।

केन्द्रले भनेको छ-

शैक्षिक सत्र २०८३ का लागि विद्यालय तहमा नेपाल सरकारले स्वीकृत गरेको पाठ्यक्रम तथा पाठ्यक्रम विकास केन्द्रबाट विकास भएका तथा सो केन्द्रबाट स्वीकृति प्रदान गरेका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र विद्यालयहरुमा लागु गर्नुपर्ने, पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको पृष्ठ सङ्ख्या र मूल्य समेत पाठ्यक्रम विकास केन्द्रको मापदण्ड अनुसार हुनुपर्ने नीतिगत र कानुनी व्यवस्था छ ।

सो सम्बन्धमा केही प्रकाशनले कानुन नै उल्लङ्घन गरी बढी मूल्य तोकिएका कागजको गुणस्तर न्यून भएका र स्वीकृति नै नलिएका तथा मूल्य नतोकेका पाठ्यपुस्तक तथा पाठ्यसामग्री बिक्री गरेको तथा विद्यालयहरुले प्रयोग गर्न लागेको गुनासो प्राप्त भएको छ ।

नेपाल सरकारको नीति र कानुन विपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त बोझ दिने, गुणस्तरहीन सामग्री प्रकाशन र वितरण गर्ने, विद्यालयहरुबाटै पोशाक, पाठ्यपुस्तक स्टेशनरी बिक्रीवितरण गर्ने जस्ता कार्यहरु भए/नभएको स्थानीय तहसँगसमेत समन्वय तथा अनुगमन गरी कारवाही गर्नु/गराउनु हुन र सोको जानकारी यस केन्द्रमा पठाउनुहुन अनुरोध छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्