काठमाडौँ । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर बिहीबार साँझ काठमाडौं आइपुगेका छन् । भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोरले विगतमा ट्रम्पको निकट सहयोगी मानिन्छन् ।
दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् ।
काठमाडौँ स्थित अमेरिकी दुताबासले गोर काठमाडौँ आइपुगेको जानकारी दिदै भनेको छ- ‘हामी दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोरलाई काठमाडौंमा हार्दिक स्वागत गर्दछौं। भ्रमणका क्रममा विशेष दूत गोरले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यवसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्नुहुनेछ ।’
गोरले नेपाल भ्रमणका क्रममा सगरमाथा क्षेत्रको भ्रमण, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्ने तय भएको छ । गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्ने बारे अझै स्पष्ट नभएको बुझिएको छ । यसअघि सहायक विदेशमन्त्री कपूरसँग प्रधानमन्त्री शाहले भेटेका थिएनन् ।
उनी शनिबार नयाँ दिल्ली फर्किने बताइएको छ ।


