काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा ल्याउन गरेको प्रयास असफल भएको छ । विहिबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले प्रतिनिधि सभाको नियमावली अनुसार हरेक महिनाको सात गते भित्र प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने प्रावधान अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गरेका थिए । विपक्षी दलहरुले प्रधानमन्त्रीलाई संसदमा ल्याउन माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले बैठक स्थगित गरेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्री शाह तत्काल संसदमा आउन नमानेको बताइएको छ । संसदको कार्यवयवस्था समितिमा रहेका एक सांसदले दिएको जानकारी अनुसार सभामुखले अर्को साताको कुनै दिन सांसदका प्रश्नको जवाफ दिन दिन तोक्न सुझाव दिए पनि प्रधानमन्त्री शाहले अस्वीकार गरेका थिए । प्रधानमन्त्री शाहले उपयुक्त समयमा जवाफ दिने भन्दै तत्काल संसदमा आउन अस्वीकार गरेपछि सभामुख फर्किएका थिए । त्यसपछि प्रतिनिधि सभाको बैठक शुरु गर्दै उनले विपक्षी दलहरुको नाराबाजीलाई नजर अन्दाज गर्दै संसद सुचारु गरेका थिए ।
२- बिपक्षी दलका सांसदहरुको नाराबाजीका बीचमा प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक विपक्षी सांसदहरुले नाराबाजी गरिरहेकै समयमा सभामुख डिपी अर्यालले प्रक्रिया अगाडी बढाएर पारित गराएका हुन् । विपक्षी दलहरुले प्रधानमन्त्रीलाई संसदमा उपस्थितिका लागि रुलिङको माग गर्दै प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेर नाराबाजी गरेका थिए । विहिबारको प्रतिनिधि सभाको बैठकको शुन्य समय र विशेष समयपछि विपक्षी दलहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध शुरु गरेका थिए । विरोधकै बीचमा सभामुख अर्यालले संसदको कारवाही अगाडी बढाउदै प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । अब प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते मंगलबार बस्ने गरि तोकिएको छ ।
३- ब्राजिलका स्टार फुटबलर नेइमार फेरि घाइते भएका छन् । विश्वकपका लागि ब्राजिल टोलीमा परेपछि सान्तोसबाट खेलिरहेका नेइमारलाई पिँडुलामा समस्या देखिएको हो । उनको क्लब सान्तोसका अनुसार परीक्षणमा नेयमारको दायाँ पिँडुलामा २ मिलिमिटरको सुन्निने समस्या देखिएको छ । क्लबले यो चोट सामान्य रहेको जनाएको भए पनि विश्वकपअघि उनको फिटनेसलाई लिएर चिन्ता बढेको छ । ३४ वर्षीय नेइमार यसअघि सन् २०२३ मा घुँडाको गम्भीर चोटपछि लामो समय मैदान बाहिर रहेका थिए । ब्राजिल टोलीमा मे २७ मा सामेल हुनुअघि उनी फिट हुने अपेक्षा गरिएको छ । सान्तोसका मेडिकल प्रमुख रोड्रिगो जोगाइबले नेइमार अर्को सातासम्म राष्ट्रिय टोलीका लागि तयार हुने बताएका छन् । लामो समयपछि राष्ट्रिय टोलीमा फर्किन पाउँदा भावुक बनेका नेइमारले आफ्नो नाम घोषणा भएपछि धेरै घण्टा रोएको बताएका छन् । ब्राजिलका प्रशिक्षक कार्लो आन्चेलोट्टीले पूर्ण रूपमा फिट खेलाडी मात्रै टोलीमा चाहेको बताइरहेका बेला नेइमारको चोटले थप चासो बढाएको छ ।
४- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सुशासन, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै सार्वजनिक सेवामा प्रविधिको प्रयोग बढाउने जनाएको छ। युवालाई सरकारी सेवामा आकर्षित गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ । पूर्वाधारतर्फ सडक विस्तार, तमोर–चिसाङ डाइभर्सन, तमोर–लेउती सुरुङमार्ग र चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ। ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ । सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ। पाथीभरा, हलेसी, कन्याम, श्रीअन्तुलगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिनेछ । कृषिमा चिया, अलैँची, अदुवा, दूध तथा तरकारी उत्पादन र निर्यातमा जोड दिइएको छ भने शिक्षातर्फ प्राविधिक शिक्षा र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिने तथा मानसिक स्वास्थ्य र लागुपदार्थ दुर्व्यसन नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ ।
५- इरानसँगको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच मतभेद खुला रूपमा देखिएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार नेतन्याहू इरानमाथिको आक्रमण जारी राख्न चाहन्छन् भने ट्रम्पले हाल वार्ता र सम्झौतामार्फत समाधान खोज्नुपर्ने पक्षमा रहेका छन् । रिपोर्टअनुसार मंगलबार दुई नेताबीच करिब एक घण्टा टेलिफोन संवाद भएको थियो । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले नेतन्याहूले ट्रम्पलाई इरानमाथि प्रस्तावित आक्रमण रोक्नु गल्ती हुने भन्दै सैन्य कारबाही निरन्तर राख्न आग्रह गरेको जनाएको छ । यसअघि ट्रम्पले आइतबार नेतन्याहूलाई अमेरिका इरानमाथि नयाँ लक्षित आक्रमणको तयारीमा रहेको जानकारी दिएका थिए । उक्त अभियानलाई ‘अपरेशन स्लेजह्यामर’ नाम दिइएको थियो । तर करिब २४ घण्टापछि ट्रम्पले मंगलबारका लागि तय गरिएका आक्रमण तत्कालका लागि स्थगित गरिएको घोषणा गरे । ट्रम्पले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सजस्ता खाडी मुलुकको आग्रहपछि आक्रमण रोक्ने निर्णय गरिएको बताएका छन् । अमेरिका इरानसँग तनाव घटाउने र युद्धविराम कायम राख्ने प्रयासमा रहे पनि इजरायलमा फेरि युद्ध चर्काउने चर्चा बढेको छ । अल जजिराको रिपोर्टअनुसार नेतन्याहू सरकार इरानप्रति कडा नीति कायम राख्ने पक्षमा छ । इजरायली टेलिभिजन प्रस्तोता शिमोन रिक्लिनले प्रत्यक्ष कार्यक्रममा तेहरानमाथि पुनः आक्रमण हुन सक्ने दाबी गरेका थिए। उनले इरानको कथित युरेनियम भण्डारण स्थललाई निशाना बनाउन सकिने पनि बताएका थिए। पछि उनले त्यो केवल काल्पनिक चर्चा भएको स्पष्ट पारे । उनको अभिव्यक्तिपछि इजरायलमा विवाद सुरु भएको छ। धेरै नेताहरूले यस्ता विषय राष्ट्रिय सुरक्षासँग सम्बन्धित हुने भएकाले सार्वजनिक रूपमा बोल्न नहुने बताएका छन् । विशेषज्ञहरूका अनुसार इजरायल इरानमाथि दबाब कायम राख्न चाहन्छ, तर अमेरिकाको समर्थनबिना ठूलो सैन्य आक्रमण गर्न उसलाई सहज हुने छैन ।
६- जर्मनीले फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि आफ्नो टिमको घोषणा गरेको छ । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने विश्वकप सुरु हुन तीन सातामात्र बाँकी रहँदा मुख्य प्रशिक्षक युलियन नागेल्समानले बिहीबार अन्तिम टोली सार्वजनिक गरेका हुन् । घाइते भएका कारण सर्ज ग्नाब्री र मार्क आन्द्रे टर स्टेगन टोलीमा परेका छैनन् । यसअघि टोलीमा पर्ने चर्चा चलेका कोलोनका सइद एल माला पनि अन्तिम सूचीमा अटाउन सकेनन् । बायर्न म्युनिखका अनुभवी गोलरक्षक मानुएल नोयर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास फिर्ता गर्दै टोलीमा समावेश भएका छन् । जर्मनीको विश्वकप टोलीः गोलरक्षकः ओलिभर बाउमान, मानुएल नेउएर, अलेक्जान्डर न्युबेल । डिफेन्डर: जोसुआ किमिच, निको श्लोटरबेक, नाथानिएल ब्राउन, डेभिड राउम, वाल्डेमार एन्टोन, एन्टोनियो रुडिगर, जोनाथन टा, र मलिक थियाउ । मिडफिल्डर: जमाल मुसियाला, जेमी लेवेलिङ, अलेक्जान्डार पाभ्लोभिच, नादिम अमिरी, लियोन गोरेट्स्का, पास्कल ग्रोस, लेनार्ट कार्ल, फेलिक्स नमेचा, लिरोय साने, एन्जेलो स्टिलर र फ्लोरियन भिर्ट्ज । फरवार्ड: काइ हाभर्ट्ज, डेनिज उन्डाभ, म्याक्सिमिलियन बाएर र निक वोल्टेमाडे । जर्मनी विश्वकपमा समुह इ मा कुराकाओ, आइभरी कोष्ट र इक्वेडरसँग रहेको छ । जर्मनीले विश्वकपमा आफ्नो पहिलो खेल जुन १४ मा कुरकाओसँग खेल्ने छ भने दोस्रो खेल जुन २० मा आइभरी कोष्टसँग र तेस्रो खेल इक्वेडरसँग जुन २५ मा खेल्ने तालिका रहेको छ ।
७- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सम्मानका लागि सरकारले भगीरथ प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीहरूलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे । मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेको उपाधि प्रसंशनीय रहेको बताए । उनले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गरेर खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानलाई सरकारको तर्फबाट सकेसम्म बढाउने प्रयत्न गरिने बताउनुभयो । कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीलाई राष्ट्रिय झन्डा र जर्सी हस्तान्तरण गरेका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले सरकारको नीति अनुसार नेपाली फुटबलले नयाँ उचाई लिने विश्वास व्यक्त गरे । साफ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् । मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् । साफ महिला च्याम्पियनसिप प्रतियोगिता जेठ ११ देखि जेठ २३ गतेसम्म भारतको गोवास्थित फतोरदा रंगशालामा सञ्चालन हुनेछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् । प्रतियोगिताको पहिलो खेल जेठ ११ गते समुह ए मा रहेको नेपालले भुटानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ । नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
८- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत एक सातासम्म सञ्चालन गरेको बजार अनुगमनका क्रममा १० वटा फर्म तथा कम्पनीलाई कारबाही गरेको छ । विभागले वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म नियमित बजार अनुगमन सञ्चालन गरेको जनाएको छ । उक्त अवधिमा उपभोक्ता हित संरक्षण, मूल्यसूची अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन, बिल बिजकको प्रयोग, गुणस्तर कायम तथा बजार अनुशासन अनुगमन गरिएको थियो । विभागका अनुसार कुल २०५ वटा फर्म तथा पसलमा अनुगमन गरिएकोमा उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन गर्ने १० वटा फर्म तथा कम्पनीलाई ५ लाख ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, थप अनुसन्धान तथा प्रमाण परीक्षणका लागि ४ वटा फर्मसँग आवश्यक कागजात माग गरिएको विभागले जनाएको छ । सामान्य प्रकृतिका त्रुटि तथा कमजोरी भेटिएका १९१ वटा फर्मलाई निर्देशन, सचेतना तथा सुधारका सुझाव दिइएको छ । विभागले बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ । साथै व्यवसायीलाई प्रचलित कानुन पालना गर्न, मूल्यसूची अनिवार्य राख्न, गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन र उपभोक्ताको अधिकार सम्मान गर्न आग्रह गरिएको छ । उपभोक्तालाई पनि कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि तथा बिल नदिने जस्ता गतिविधि देखिए विभागमा उजुरी तथा जानकारी गराउन अनुरोध गरिएको छ ।
९- नेप्सेमा आज गिरावट आएको छ । आज विहिबार नेप्से १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३५८ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर ६.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १४.९५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको १७ करोड ७२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको १५ करोड कारोबार भएको छ ।
१०- खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । चार सदस्यमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ । विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ अनुसार नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयले उल्लेख गरेको छ । इच्छुक उम्मेदवारले ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्नेछ । आवेदन दिन इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयअन्तर्गत रहेको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा निवेदन बुझाउनुपर्नेछ । यसअघि आयोगका अध्यक्षसहित चार सदस्य ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो । त्यसपछि सरकारले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित समितिमा सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् । सूचना प्रकाशित भएपछि अबको आवश्यकता विद्युत् उत्पादन मात्र होइन, त्यसलाई प्रभावकारी बजार र दिगो नियमनमार्फत समृद्धिमा रूपान्तरण गर्नु रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपाल विद्युत् क्षेत्रको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उनले आयोगको भूमिका महसुल निर्धारण, उपभोक्ता संरक्षण, सेवा प्रदायकको दिगोपन र दीर्घकालीन लगानी प्रवर्द्धनसँग प्रत्यक्ष जोडिएको बताउनुभयो । कर्णालीका ग्रामीण भान्सादेखि तराईका औद्योगिक क्षेत्र तथा अन्तरदेशीय विद्युत् व्यापार सम्मलाई समेट्ने गरी ऊर्जा बजारको संरचना निर्माण गर्न सक्षम नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले सरकार आयोगको स्वतन्त्र भूमिका र कार्यादेशप्रति गम्भीर रहेको स्पष्ट पार्दै आयोगको विश्लेषण र सुझावले मन्त्रालयका नीतिगत निर्णयलाई मार्गदर्शन गर्ने बताए ।सरकार उच्च क्षमता भएका व्यक्तिहरूको खोजीमा उल्लेख गर्दै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई नजिकबाट बुझेको व्यक्ति प्रतिस्पर्धामा आउनुपर्ने बताएका छन् ।
११- कृषकले बिक्री गरेको कृषि उपजको भुक्तानी २५ दिनभित्र अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न सरकारले सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत कृषकको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । सरकारले कृषि उपज खरिद गर्दा उधारो कारोबार गर्न पाइए पनि अधिकतम २५ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो । तोकिएको अवधिभित्र रकम भुक्तानी नगरे ब्याजसहित रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ । यो निर्णय सम्पूर्ण फर्म, उद्योगी, संस्थान, सहकारी, कम्पनी तथा कृषि उपज खरिद गर्ने व्यक्ति र निकायमा अनिवार्य रूपमा लागू हुने जनाइएको छ । यस्तै, उक्त व्यवस्था कार्यान्वयनका क्रममा कुनै गुनासो वा समस्या भए प्रमाणसहित मन्त्रालयका वरिष्ठ अर्थविज्ञ डा. मणिरत्न अर्याललाई सम्पर्क नम्बर ९८४५०६९८२६ मा सिधै सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
१२- सांसद महावीर पुनले बाँदरको आतंकको समाधान अहिले संसारमै नभएको दाबि गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पुनले आफूले ७ वर्ष अघि देखि नै यस विषयमा काम गर्न खोजेको र यसको समाधान फेला नपारेको बताए । उनले रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमै नभएको दाबि गरे । उनले आफुले बाँदर भगाउने प्रविधि संसारभर खोजेको समेत बताए । उनले भने- ‘बाँदर आतंकको कुरा अहिले तपाईंहरूले उठाउनुभएको छ, मैले आजभनदा ७ वर्षअघि देखि नै उठाएको हो । राष्ट्रिय आविष्कार केन्द्रले ५०–६० लाख रुपैयाँ अनुसन्धानका लागि प्रयास गरेको हो । मैले हरेक गाउँपालिकालाई एक एक लाख उठाउनुस्, त्यसमा अनुसन्धान गरेर बाँदर आतंक कम गर्नेबारे अनुसन्धान गर्नैपर्छ भनेको हुँ । यसका लागि अनुसन्धान गर्नुपर्छ, यहाँ संसद्मा कराएर हुँदैन ।’ सांसद पुनले बाँदरको नियन्त्रणको उपाय पत्ता लगाउन अनुसन्धान गर्नुपर्ने बताउदै यसका लागि सरकारसँग बजेट छुट्याउन समेत माग गरेका छन् ।
१३- शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता १ महिना भित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरु र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ । यसअघि एसइईको नतिजा कहिले प्रकाशन हुने र कक्षा ११ को पठनपाठन सुरु हुने भन्ने अन्यौलता थियो । विद्यार्थी र अभिभावको अन्यौलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठनपाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसइईको नतिजा चाडै प्रकाशन भएकाले पठनपाठन पनि समयमै सुरु गर्न लागेको हो । कक्षा ११ को पठनपाठन असार १ गतेदेखि आरम्भ गर्दा विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने साथै विद्यालय तहका सबै कक्षाको पठनपाठनमा एकरूपता कायम हुने गरी व्यवस्था गरिएको छ ।
१४- नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुख डिपी अर्याललाई अघिल्लो संसद अधिवेशनमा रास्वपाले निलो स्कार्प घाटिमा बाधेर वेल घेरेको घटना सम्झाएका छन् । विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद राईले विगतमा हालको सत्तारूढ दलले प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर वेल घेर्ने, वेलमै बसेर पुस्तक पढ्ने लगायत गतिविधि गरेको स्मरण गराउदै सो कार्यमा वर्तमान सभामुख समेत रहेको स्मरण गराए । साथै राईले श्रम संस्कृति पार्टीले सरकारको जवाफदेहिता माग गर्दै सदनमा केहि दिनदेखि प्लेकार्ड प्रदर्शन गरिरहेको उल्लेख गर्दै सभामुखले उक्त गतिविधिलाई अमर्यादित भनेकोप्रति समेत टिप्पणी गरेका थिए । उनले भने, ‘सभामुख महोदय, यहाँ बिर्सन नहुने एउटा प्रंसग उल्लेख गरौं । आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहिता खोज्दै निलो स्कार्प घाटिमा बाधेर वेल घेरेको थियो, वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो । त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो । मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित ? सम्मानिय सभामुख महोदय, त्यो पनि गलत थियो र अहिले पनि गलत र अर्मायदित भइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो ।’ सरकार र प्रधानमन्त्री सदनप्रति जिम्मेवार नभएको बताउदै परम्परा भत्काउँदै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैतिर हस्तक्षेप गर्दै हिंडेको आरोप लगाएका हुन् । सांसद राईले अहिले सरकार क्रमभङ्गता शब्दमा रमाएको र सत्तारुढ दलका सांसदहरु रफ्फु लगाउँदै हिंडेको आरोप लगाएका छन् ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ९३ हजार ८ मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९२ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले बढेर ५०५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९६० मा कारोबार भएको थियो ।
१६- डाबर नेपालले उत्पादन गरेको मह अखाद्य भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको हो । विभागले सूचना जारी गर्दै बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको डाबर नेपाल प्रालिबाट उत्पादन गरेको मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यूनस्तरको पाइएको जनाएको छ । प्रयोगशाला परीक्षणमा महले तोकिएको मापदण्ड पूरा नगरेको पुष्टि भएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र नगराउन, बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई आदेश दिएको छ ।
१७- अमेरिका र क्युबाबीच बढ्दो तनावका बीच सैन्य गतिविधि पनि तीव्र बनेको छ । अमेरिकी विमानवाहक युद्धपोत ‘युएसएस निमिट्ज’ आफ्नो आक्रमण समूहसहित क्यारिबियन सागर क्षेत्रमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो तैनाथी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाविरुद्ध कडा अभिव्यक्ति दिन थालेपछि भएको हो । अमेरिकी प्रशासनले क्षेत्रीय सैन्य उपस्थिति थप बलियो बनाउन युद्धपोत पठाइएको जनाएको छ । अमेरिकी नौसेनाको उक्त शक्तिशाली आक्रमण समूहमा लडाकु विमान, विद्युतीय युद्ध प्रणालीयुक्त विमान तथा सहयोगी हवाई साधनहरू समावेश रहेका छन् । साथै विनाशकारी युद्धपोत र इन्धन आपूर्ति जहाज पनि समूहसँगै रहेका छन् । अमेरिकी दक्षिणी कमान्डले ‘युएसएस निमिट्ज’ ले ताइवान जलडमरूमध्यदेखि अरब सागर क्षेत्रसम्म विभिन्न अभियानमा आफ्नो युद्ध क्षमता प्रदर्शन गरिसकेको जनाएको छ । सन् १९७५ मा सेवामा आएको यो विमानवाहक युद्धपोतले हालै ब्राजिलको रियो दि जेनेरियो तटमा ब्राजिली नौसेनासँग संयुक्त अभ्यास समेत गरेको थियो । यसबीच ट्रम्प प्रशासनले क्युबामाथि थप दबाब बढाएको छ । अमेरिकी न्याय विभागले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध सन् १९९६ मा अन्तर्राष्ट्रिय जलक्षेत्रमा दुई नागरिक विमान खसालिएको घटनासम्बन्धी हत्या तथा अन्य अपराधका औपचारिक आरोप लगाएको छ । उक्त घटनामा चार जनाको मृत्यु भएको थियो । राष्ट्रपति ट्रम्पले यसलाई क्युबा–अमेरिकी समुदायका लागि महत्वपूर्ण क्षण भएको बताएका छन् । उनले क्युबाबाट अमेरिका पुगेका र आफ्ना परिवारसँग भेट्न पुनः क्युबा जान चाहने नागरिकका लागि पनि यो ठूलो विषय भएको बताएका छन् । यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्पेनी भाषामा क्युबाली जनताका नाममा सन्देश जारी गर्दै क्युबाको कम्युनिष्ट सरकारलाई विद्युत् संकट र आर्थिक समस्याका लागि जिम्मेवार ठहर गरेका छन् । उनले अमेरिकाको इन्धन नाकाबन्दी नीतिको समेत समर्थन गरेका छन् । अमेरिकी गुप्तचर संस्था सिआइएका निर्देशक जोन राटक्लिफले हालै क्युबाली अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनले वार्ताको ढोका सधैँ खुला नरहने चेतावनी दिएपछि कूटनीतिक क्षेत्रमा थप तनाव बढेको बताइएको छ ।
१८- शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीन वटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ । मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषद्को २९औं बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो । शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिषद्ले शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ । मन्त्रालयका अनुसार, स्वीकृत नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रमको कार्यान्वयनबाट प्रशिक्षकहरूको क्षमता विकास भई शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिमहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय शिक्षामा कुशल शैक्षिक नेतृत्वको विकास गर्ने र विद्यालयको समग्र प्राज्ञिक तथा प्रशासनिक पक्षको गुणस्तर अभिवृद्धिमा ठोस सहयोग पुर्याउने बताइएको छ । परिषद् बैठकले शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूका लागि स्वीकृत गरेको सेवाकालीन पाठ्यक्रमले सङ्घीयताको मर्म अनुरूप तिनै तहका राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकास गर्ने लक्ष्य राखेको छ। यसबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै विभिन्न शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा मद्दत पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ ।
१९- एस्टन भिल्ल्लाले युइएफए युरोपा लिगको उपाधि जितेको छ । गएराती टर्कीको टुप्रास स्टेडियममा सम्पन्न फाइनल खेलमा एस्टन भिल्लाले जर्मनी क्लब एससी फ्रेइबर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो । एस्टन भिल्लाको जितमा योउरी टिएलेमान्स, एमिलिआनो बुएन्डिया र मोर्गन रोजर्सले एक एक गोल गरेका थिए । एस्टन भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । अहिलेसम्म युरोपा लिगको उपाधि सबै भन्दा बढी पटक जित्ने क्लब भने सेभिया रहेको छ । सेभियाले ७ पटक उपाधि जितेको छ ।
२०- कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १४८ रनको लक्ष्य पछाएको कोलकोताले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा मनिष पाण्डेले सर्बाधिक ४५ र रोभमन पावेलले ४० रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर कोर्बिन बोचले ३ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो । मुम्बईका लागि कोर्बिन बोचले सर्बाधिक ३२ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले २६ र तिलक बर्माले २० रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर सौरभ दुवे, क्यामरुन ग्रीन र कार्तिक त्यागीले २-२ विकेट लिएका थिए । कोलकोताको यो जितपछि प्लेअफको आशा जीवित राखेको छ । कोलकोताको १३ खेलमा १३ अंक भएको छ र हाल छैठौं स्थानमा रहेको छ । अब आफ्नो अन्तिम खेलमा कोलकोताले सँग खेल्ने छ । त्यस्तै प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको मुम्बईको यो यस सिजनमा नवौं हार हो । मुम्बईको १३ खेलमा ८ अंक रहेको छ र नवौं स्थानमा रहेको छ ।



