रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्न कास्की अदालतको आदेश – Kanika Khabar
Friday, May 22Nepali News Portal

रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्न कास्की अदालतको आदेश

    मा प्रकाशित

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

शुक्रबार न्यायधाीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहनेगरी संशोधन गर्न आदेश दिएको हो ।

आदेशमा अभियोजनकर्ताको संशोधनको मागमा कुनै दुरासय नदेखिई जाहेरवाला र अभियोग लगाइएका व्यक्तिहरूसमेतका दुवै पक्षका हक अधिकारप्रति संवेदनशीलता नै देखिएको समेतबाट निवेदकको निवेदन माग बेहोरा मनासिव रहेको देखिँदा निवेदन मागवमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मूल, थप र पुरक अभियोगपत्रहरूमा सहकारी ठगीको अभियोग दावी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको अभियोग दावी कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संशोधन गरिदिएको उल्लेख छ ।

साथै आदेशमा यो संशोधन आदेशलाई प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मुल, थप र पुरक अभियोगपत्रहरूको अभिन्न अग मानी मिसिल संलग्न राखी नियमानुसार गर्न भनिएको छ ।

तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएको थियो । सोहि निवेदन अनुसार लामिछानेसँगै जिबी राई,  पूर्वडिआइजी छविलाल जोशी र अन्य प्रतिवादीहरूको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णय सदर भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्