काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद र संसदीय समितिमा प्रश्न सोध्ने विपक्षी धाकधम्की दिएको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले बजेट बारेको जवाफ दिने क्रममा र संसदीय समितिमा अर्थमन्त्री डा. वाग्लेले विपक्षी दलका सांसदहरुलाई धम्काएको आरोप लगाएका हुन् ।
उनले भने, ‘सबै सांसदहरुले उठाएका विषयहरु आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टिकरणका कुराहरु हुन्छन् । कार्यपालिका व्यवस्थापिकाप्रति जवाफदेही हुनुपर्छ ।’
सांसद पुनले अर्थमन्त्री वाग्लेले सात वटा करका दरहरु हेरफेर गरें भनेर खुलमखुल्ला स्वीकार गरेको र विगतमा धेरै भएको थियो अहिले थोरै भएको छ भनेर उम्किन नपाउने बताउदै यसको संसदीय छानबिन हुनुपर्ने माग गरेका छन् ।


