जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।
सोमबार मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट गत वर्ष भन्दा १३ प्रतिशत कम हो ।
जसमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात ३५.६४ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात ६४.३६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री भट्टराईले बजेटको स्रोत व्यवस्थापनतर्फ संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, संघीय वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख, आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख र चालु आर्थिक वर्षको मौज्दातबाट ६ अर्ब आठ करोड ५२ लाख जुटाउने बजेट वक्तव्यमा उल्लेख गरेका छन् । त्यस्तै अपुग एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने बताइएको छ ।
बजेटमा पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ भने प्रदेशका कर्मचारीको तलब र प्रोत्साहन भत्तामा १० प्रतिशतले वृद्धि गरिएको छ ।


