एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ – Kanika Khabar
Saturday, June 27Nepali News Portal

एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

    मा प्रकाशित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार हिनामिना गरी व्यक्तिगत लाभ लिएको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ । विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा उनले विभिन्न प्रक्रिया दुरुपयोग गर्दै विद्यालयलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ ।

अनुसन्धानका क्रममा विद्यालयलाई हानि पुर्‍याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वसँग सम्बन्धित कम्पनीको नाममा बिक्री गरिएको खुलेको सीआईबीले जनाएको छ ।

यस्तै, विद्यालयका लागि सवारीसाधन खरिद गर्न छुट्याइएको रकमसमेत आफू आबद्ध कम्पनीका नाममा जग्गा र सवारीसाधन खरिद गर्न प्रयोग गरी विद्यालयको सम्पत्तिमा हानि पुर्‍याएको आरोप उनीमाथि लागेको छ ।

यस घटनामा विद्यालयको रकम हिनामिना गरी ठगी र आपराधिक विश्वासघात गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो । शेर्पाविरुद्ध दुई वर्षअघि नै उजुरी परे पनि प्रहरीले दर्ता गरेको थिएन । पछि अदालतले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाउन आदेश दिएपछि सीआईबीले मुद्दाको अनुसन्धान सुरु गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्