काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- असार १० गतेभित्र अनिवार्य रुपमा सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने व्यवस्था भएपनि पछिल्लो अपडेट अनुसार ५९७ स्थानीय तहले मात्र बजेट सार्बजनिक गरेको पाइएको छ । बजेट सार्बजनिक भएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिलेसम्म ५९७ स्थानीय तहले मात्र विवरण पेश गरेका छन् । जसमा कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये १०१, मधेश प्रदेशका १३६ स्थानीय तह मध्ये ९३, बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये ९०, गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्ये ८१, लुम्बिनी प्रदेशका १०९ स्थानीय तह मध्ये ९२, कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६८र सुदूरपश्चिमका ८८ स्थानीय तह मध्ये ७२ ले मात्र बजेट सार्बजनिक गरेको विवरण मन्त्रालयमा पेश गरेका छन् । अहिलेसम्म १५६ स्थानीय तहले बजेटको विवरण भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नबुझाएको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ मा हरेक स्थानीय तहले आगामी आर्थिक वर्षका लागि आम्दानी–खर्चको अनुमानित विवरण (बजेट) असार १० भित्र नगरसभा वा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा असार १० सम्म बजेट पेस र असारभित्र पारित गरिसक्नुपर्ने भनिए पनि बजेट नल्याएको खण्डमा के हुने भन्ने कुनै व्यवस्था छैन । तर अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ ले तोकेको समयमा स्थानीय तहले बजेट नल्याएमा केन्द्र सरकारले उपलब्ध गराउदै आएको अनुदान रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ ।
२- प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सडक दुर्घटनामा निधन भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । स्वर्गद्वारी गाउँपालिकाको वडा नम्बर २ स्थित बाङ्गेसल्लामा आफैले चलाएको लु.प्र.०१-००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रीत भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान शुरु गरेको बताएको छ ।
३- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा सीमित संस्करणको नयाँ स्मारक राहदानी (पासपोर्ट) सार्वजनिक गरेका छन् । उनले नयाँ पासपोर्टको नमुना सार्वजनिक गर्दै यसलाई विशेष सम्झना स्वरूप तयार गरिएको बताएका हुन् । सार्वजनिक गरिएको नमुनामा ट्रम्पको ठूलो तस्बिर राष्ट्रपति कार्यकक्षको प्रसिद्ध डेस्कमाथि देखाइएको छ । पृष्ठभूमिमा अमेरिकाको स्वतन्त्रता घोषणापत्रको मूल पाठ राखिएको छ भने तल उनको हस्ताक्षर समावेश गरिएको छ । अर्को पृष्ठमा चित्रकार जोन ट्रम्बुलले बनाएको ‘स्वतन्त्रता घोषणापत्र’ सम्बन्धी ऐतिहासिक चित्र राखिएको छ । यो राहदानीमा प्रयोग गरिएको ट्रम्पको तस्बिर वासिङ्टनस्थित राष्ट्रिय चित्र सङ्ग्रहालयमा रहेको उनको आधिकारिक चित्रका आधारमा तयार गरिएको देखिन्छ । यसअघि अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको नमुनाभन्दा यो डिजाइन फरक रहेको छ । ह्वाइट हाउसले पनि यही डिजाइन भएको तस्बिर सार्वजनिक गर्दै ‘अमेरिकाको २५०औँ वार्षिकोत्सवको सम्झनामा नयाँ अमेरिकी राहदानी’ भन्ने सन्देश राखेको थियो। यस राहदानीको घोषणा पहिलो पटक गत अप्रिलमा अमेरिकाको २५०औँ वार्षिकोत्सव मनाउने कार्यक्रमअन्तर्गत गरिएको थियो । यसको बाहिरी तथा भित्री आवरणमा विशेष कलात्मक डिजाइन र ऐतिहासिक तस्बिरहरू समावेश गरिएको सरकारले जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यो सीमित संस्करणको राहदानी उपलब्ध भएपछि वासिङ्टनस्थित राहदानी कार्यालयबाट प्रत्यक्ष रूपमा राहदानी नवीकरण गर्ने सेवाग्राहीलाई प्राथमिक रूपमा उपलब्ध गराइनेछ । अन्य कार्यालय तथा अनलाइनमार्फत राहदानी नवीकरण गर्नेहरूका लागि भने हालकै डिजाइनको राहदानी कायम रहनेछ । हाल प्रयोगमा रहेको अमेरिकी राहदानीको भित्री आवरणमा चित्रकार पर्सी मोरानले बनाएको फ्रान्सिस स्कट कीको ऐतिहासिक चित्र रहेको छ । त्यही युद्धपछि उनले अमेरिकाको राष्ट्रिय गान बनेको गीत लेखेका थिए, जसका केही हरफहरू पनि राहदानीको भित्री भागमा छापिएका छन् ।
४- धनुषाको जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ मुखियापट्टी बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा बस्ने १८ वर्षीय सुधिर मुखिया रहेका छन् । चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘इगल राप्टोर’ लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद गरेको हो। दुवै जनालाई हातहतियारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५- देशका पश्चिमी तथा मध्य तराई क्षेत्रमा आज पनि अत्यधिक गर्मी कायम रहेको छ । जल तथा मौसम विभागको पछिल्लो अपडेट अनुसार सबैभन्दा बढी तापक्रम बाँकेको बैजापुरमा ४०.१ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका तराईका अधिकांश जिल्लामा अधिकतम तापक्रम ३५ देखि ४० डिग्री सेल्सियस बीच पुगेको देखिएको छ । बाँकेको बैजापुरपछि नेपालगञ्ज, भैरहवा, दाङ, चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सप्तरीलगायतका तराई क्षेत्र पनि अत्यधिक गर्मीको चपेटामा रहेका छन् । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ३८ डिग्रीभन्दा माथि पुगेको छ भने गण्डकी र बागमतीका भित्री तथा पूर्वी तराईमा पनि ३४ देखि ३७ डिग्री सेल्सियससम्म तापक्रम पुगेको देखिन्छ । यसको प्रभावले दिउँसोको समयमा उकुसमुकुस गर्मी बढेको छ । यता पहाडी तथा हिमाली क्षेत्रमा भने तापक्रम तुलनात्मक रूपमा कम रहेको छ । अधिकांश पहाडी जिल्लामा २० देखि ३० डिग्री सेल्सियस तथा उच्च हिमाली क्षेत्रमा २० डिग्रीभन्दा कम तापक्रम मापन विभागले जानकारी दिएको छ ।
६- भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ९२० जनाको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा ४० जना विभिन्न देशका विदेशी नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पोर्चुगलका समुदाय मामिलासम्बन्धी राज्यमन्त्री एमिडियो साउसाका अनुसार भूकम्पमा २८ जना पोर्चुगाली नागरिकको ज्यान गएको छ । यस्तै, भेनेजुएलास्थित चिनियाँ दूतावासलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्थाले सात जना चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ । स्पेनका विदेशमन्त्री होसे म्यानुएल अल्बारेसका अनुसार पाँच जना स्पेनी नागरिकको मृत्यु भएको छ भने ११९ जना अझै बेपत्ता छन् । ब्राजिल सरकारले पनि आफ्ना दुई जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । त्यस्तै, इटालीको विदेश मन्त्रालयले एक इटालियन–भेनेजुएली नागरिकको ज्यान गएको जनाएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले भूकम्पपछि भएको अन्तर्राष्ट्रिय उद्धार तथा राहत प्रयासलाई निकै प्रभावकारी रहेको बताएका छन् । उनका अनुसार रुस, युक्रेन, अमेरिका, युरोप तथा मध्यपूर्वका विभिन्न देशबाट उद्धार टोलीहरू भेनेजुएला पुगेका छन् । संकटको बेला राजनीतिक मतभेदभन्दा मानवीय सहयोग प्राथमिकतामा परेको उनले उल्लेख गरेका छन् । फ्लेचरका अनुसार संयुक्त राष्ट्रसंघले हाल ३९ वटा उद्धार टोली परिचालन गरेको छ भने करिब दुई हजार अन्तर्राष्ट्रिय उद्धारकर्मी भेनेजुएलामा राहत तथा उद्धार कार्यमा खटिएका छन् । उद्धार कार्यमा १११ वटा विशेष तालिमप्राप्त खोजी कुकुर पनि प्रयोग गरिएको छ। ती कुकुरले गन्ध पहिचान गर्ने क्षमता र कठिन भूभागमा खोजी गर्न सक्ने भएकाले उद्धार अभियानमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
७- डोटीको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीच भागमा फसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही ठाउँका स्थानीयहरु सेती नदीस्थित शिव मन्दिरमा पुजा गर्न गएकोमा नदीमा तटबन्ध निर्माण गर्न बाधिएको अस्थायी बाँध फुट्दा उनीहरु नदीको बीच भागमा फसेका थिए । सो लगत्तै सशस्त्रको ३६ नम्बर गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक शुसिल भट्टको कमाण्डमा खटिएको टोलीले रवर वोटको प्रयोग गरी नदीमा फसेकाहरुको उद्धार गरेको हो । उद्धार गरिएकाहरुमा सोही नगरपालिका–२ बस्ने ८६ बर्षिय मोहन पाठक, ७६ बर्षिय प्रेम बहादुर कठायत, ७० बर्षिय शिवराज कठायत, ६९ बर्षिय बालुराम कठायत, ७४ बर्षिय हेमराज जोशी, ६५ बर्षिय बाटु कठायत, ८० बर्षिय पदम राज भट्ट, ६० बर्षिया संजा श्रेष्ठ, ३८ बर्षिय दिपकराज पाठक, ९ बर्षिय कृष्ण कठायत र ६ बर्षिय ब्रण्डन कठायत छन् । यद्यपि, फ्लेचरले पछिल्लो १८ महिनामा संयुक्त राष्ट्रसंघको मानवीय सहायता बजेट झन्डै आधाले घटेकाले राहत तथा उद्धार अभियानका लागि आवश्यक स्रोत जुटाउनु चुनौतीपूर्ण बनेको बताएका छन्। जल तथा मौसम विज्ञान विभागले पछिल्ला दिनहरूमा विशेषगरी पश्चिम तराईमा अत्यधिक गर्मी रहने सम्भावना औँल्याउँदै अनावश्यक रूपमा लामो समय घाममा नबस्न, प्रशस्त पानी पिउन, हल्का तथा सूती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीले विशेष सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।
८- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने काठमाडौँ र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने काठमाडौँमा १३ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २४ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा १० जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा १४ जना, गण्डकी प्रदेसमा १७ जना, काठमाडौँ बाहेक बागमती प्रदेशमा ३ जना र सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
९- अमेरिका र इरानबीच युद्धविराम उल्लङ्घनको आरोप-प्रत्यारोपसँगै तनाव फेरि चुलिएको छ। दुवै देशले एकअर्कामाथि युद्धविराम तोडेको आरोप लगाउँदै सैन्य कारबाहीको दाबी गरेका छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसैनिक बलले अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार यो कारबाही अमेरिकी आक्रमणको प्रतिउत्तरका रूपमा गरिएको हो । इरानी संसद सदस्य इब्राहिम अजिजीले अमेरिका युद्धविराम पालना गर्न प्रतिबद्ध नरहेको आरोप लगाएका छन् । उनले अमेरिका वार्ताकै क्रममा फेरि इरानमाथि आक्रमणमा उत्रिएको भन्दै अमेरिकी राष्ट्रपति वार्ता र युद्धविराम दुवैप्रति प्रतिबद्ध नरहेको टिप्पणी गरेका छन् । उनले युद्धविराम उल्लङ्घनको परिणाम अमेरिकाले पछि पछुताउनुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन् । यता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको र अमेरिका त्यसको पूर्ण पालना गरिरहेको बताएका छन् । यदि सम्झौता कार्यान्वयनबारे इरानलाई कुनै असहमति भए वार्ताबाट समाधान खोज्न सकिने, तर हिंसात्मक गतिविधिको जवाफ पनि कडा रूपमा दिइने उनले स्पष्ट पारे । अमेरिकाले गएराती करिब एक घण्टासम्म इरानका विभिन्न सैन्य संरचनामाथि आक्रमण गरेको थियो । अमेरिकी सेनाले क्षेप्यास्त्र र मानवरहित हवाई उपकरणका अड्डा तथा तटीय राडार केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम उल्लङ्घन गरेपछि जवाफी कारबाही गरिएको बताएका छन् । अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानले होर्मुज जलडमरूमध्यमा सिंगापुरको मालवाहक जहाज एमभी एभर लभ्ली माथि मानवरहित हवाई उपकरणबाट आक्रमण गरेको थियो । त्यसपछि क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको अमेरिकाको दाबी छ । यद्यपि इरानले भने अमेरिकी दाबी अस्वीकार गर्दै आफ्नो सैन्य कारबाही अमेरिकी आक्रमणको प्रतिरक्षात्मक जवाफ मात्र भएको जनाएको छ । दुवै पक्षका परस्परविरोधी दाबीका कारण क्षेत्रीय तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ ।
१०- फिफा विश्वकप अन्तर्गत आइतबार बिहान हुने जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कप्तान लियोनेल मेसीलाई विश्राम दिने तयारी गरेको छ । मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले मेसी सुरुआती टोलीमा नहुने र आवश्यक परेपछि मात्र मैदान प्रवेश गर्ने बताएका छन् । अर्जेन्टिनाले जोर्डनविरुद्ध भोली बिहान ७: ४५ बजेदेखि खेल्दैछ । स्कालोनीले पत्रकार सम्मेलनमा मेसीलाई बेन्चमा राख्ने योजना रहेको जानकारी दिँदै टोलीमा परिवर्तन गर्नु आगामी नकआउट चरणलाई ध्यानमा राखेर गरिएको स्पष्ट पारेका छन् । उनका अनुसार टोलीको छनोट अर्को प्रतिद्वन्द्वीलाई हेरेर नभई खेलाडीको अवस्था र रणनीतिका आधारमा हुनेछ । अर्जेन्टिनाले अल्जेरिया र अस्ट्रियामाथि लगातार जित निकाल्दै समूह ‘जे’ को विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ । त्यसैले बायाँ तिघ्राको मांसपेशीको समस्याबाट गुज्रिरहेका मेसीलाई थप जोखिममा नराख्ने निर्णय गरिएको हो । यस विश्वकपमा पाँच गोल गरिसकेका मेस्सी हाल सर्वाधिक गोलकर्ताको दौडमा अग्रस्थानमा छन् । मेसीसँगै टोलीका अन्य केही नियमित खेलाडीलाई पनि विश्राम दिइने सम्भावना रहेको छ । गोलरक्षक एमिलियानो मार्टिनेज मात्रै नियमित सुरुआती टोलीमा रहन सक्ने अनुमान गरिएको छ । मेसीको स्थानमा निको पाज, जुलियन अल्भारेज, भालेन्टिन बार्को, फ्लाको लोपेज वा एक्सेकियल पालासियोसमध्ये एकलाई अवसर मिल्न सक्ने बताइएको छ । रक्षापङ्क्तिमा मार्कोस सेनेसी, निकोलस ओटामेन्डी र निकोलस टाग्लियाफिकोले पनि बढी समय खेल्ने सम्भावना छ । स्कालोनीले टोलीले अहिलेसम्म अपनाएको खेलशैलीलाई निरन्तरता दिने बताए । उनले जोर्डन बलियो प्रतिद्वन्द्वी भएकाले खेललाई हल्का रूपमा नलिइने र बल नियन्त्रण गर्दै खेलमा प्रभुत्व जमाउने रणनीति अपनाइने उल्लेख गरे । जोर्डनविरुद्धको खेलपछि अर्जेन्टिनाले अन्तिम ३२ को खेलमा समूह ‘एच’ को उपविजेता केप भर्डेसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
११- त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिका अनुरूप तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो । उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । यस प्रक्रियाको विस्तृत कार्यतालिका मन्त्रालयका आधिकारिक संचार माध्यममार्फत सार्वजनिक गरिसकिएको छ । छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयक्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ । साथै, मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि पृथक विज्ञहरूको प्यानलको व्यवस्था गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम क्रमशः भोलि र पर्सि सञ्चालन हुनेछ। यससँगै आठवटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियाले निर्धारित समयसीमाभित्र पूर्णता पाउनेछ, जसले नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टतालाई नयाँ उचाइतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो । सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो । छनोट तथा सिफारिस समितिको जेठ १३ गते बसेको बैठकले प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य आवेदकहरूको दरखास्त स्वीकृत गरेको थियो । आवेदन परेकाहरू अध्ययन अनुसन्धान गरेर सर्टलिस्टमा परेका उम्मेदावरको प्रस्तुतीकरण र अन्तर्वार्ता लिन सुरु गरिएको हो । विज्ञले दिएको अंकको आधारमा सिफारिस समितिले उपकुलपतिको नाम छनोट गरेर कुलपतिलाई सिफारिस गर्ने छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गर्नुभएको थियो । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट तयार गरिएको मन्त्रालयले जनाएको छ ।
१२- जारी फिफा विश्वकप फुटबलको समुह जी बाट बेल्जियम र इजिप्ट नकआउट चरणमा प्रवेश गरेका छन् । शनिबार बिहान सम्पन्न खेलमा बेल्जियमले न्यूजील्याण्डलाई ५-१ गोल अन्तरले पराजित गर्दै समुह जी को विजेता बनेको हो । बेल्जियमको जितमा लीन्द्रो ट्रोसार्डले २ गोल गरेका थिए भने केभिन डी ब्रुने, रोमेलु लुकाकु र एलेक्सिस सालेमाकेर्सले एक एक गोल गरेका थिए । त्यस्तै न्यूजील्याण्डका लागि एलिजाह जस्टले एक गोल फर्काएका थिए । बेल्जियमको ३ खेलमा ५ अंक भएको छ र समुह बिजेता बनेको छ । अब बेल्जियमले नकआउट चरणमा समुह ए, आइ वा जे को तेस्रो हुने टिमसँग खेल्ने छ । त्यसै गरी यसै समुहको अर्को खेलमा इजिप्ट इरानसँग १-१ गोलको बराबरीमा रोकिएपछि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ । इरानले खेलको इन्जुरी समयमा गरेको गोल अफ साइड भएपछि दोस्रो भएर नकआउटमा जाने अवसर गुमाएको थियो । यद्यपी इरानको ३ खेलमा ३ अंक रहेकाले तेस्रो भएर नकआउटमा जाने अवसर कायम रहेको छ । तर यसको निर्णय अन्य खेलको नतिजा पछि हुने छ । अब इजिप्टले नकआउट चरणमा अस्ट्रेलियाको सामना गर्ने भएको छ ।
१३- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
१४- काठमाडौँ महानगरले यस वर्षको बर्खायाम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ । यो क्षमता विकासपछि केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले वडामा ५० जनालाई तालिम प्रदान गर्ने छन् । महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय क्लव, टोल सुधार समिति, आमा समूह लगायतका संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ । यो तालिमपछि तालिम प्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट्याएर डेंगी सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ । डेंगी संक्रमण दरमा कमी ल्याउने, डेंगीका कारण हुने मृत्यु दर घटाउने डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ । निगरानी तथा अनुगमन प्रणाली सुधार, कीट नियन्त्रण, जोखिम सञ्चार तथा सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्व तयारी तथा प्रतिकार्य, नेतृत्व, वहुक्षेत्रीय सहकार्य र कार्यक्रम व्यवस्थापन सुधार, अनुसन्धान र नवप्रवर्तन कार्यक्रमका रणनीति हुन् । क्षमता विकास कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य कार्यालय काठमाडौँका अधिकारीहरुले प्रस्तुतिकरण मार्फत लक्ष्य र रणनीतिका बारेमा जानकारी गराएका थिए । मनसुन सुरु भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक, मंसिर महिनामा उच्च संक्रमण देखिन्छ ।
१५- जारी फिफा विश्वकप फुटबलमा २१ देश नकआउट चरणमा प्रवेश गरेका छन् । शनिबार बिहानसम्म सम्पन्न खेल अनुसार समुह विजेता हुदै ९ देश नकआउटमा पुगेका छन् भने ८ देश उपविजेता हुदै पुगेका छन् । त्यस्तै चार देश तेस्रो स्थानमा रहेर अहिलेसम्म नकआउटमा पुगेका हुन् । जस अनुसार मेक्सिको, स्वीजरल्याण्ड, ब्राजिल, अमेरिका, जर्मनी, नेदरल्याण्डस, स्पेन, फ्रान्स र अर्जेन्टिना समुह विजेता हुदै नकआउट चरणमा पुगेका छन् । त्यस्तै दक्षिण अफ्रीका, क्यानडा, मोरक्को, अस्ट्रेलिया, आइभरी कोष्ट, जापान, केप भर्डे र नर्वे उपविजेता हुदै नकआउटमा पुगेका हुन् । त्यस्तै बोस्निया हर्जगोभिना, पराग्वे, इक्वेडर र स्विडेन आ-आफ्नो समुहमा तेस्रो स्थानमा रहेर पनि नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । त्यस्तै अहिलेसम्म नकआउट चरणमा जर्मनीले पराग्वेसँग, फ्रान्सले स्विडेनसँग, दक्षिण अफ्रिकाले क्यानडासँग, नेदरल्याण्डसले मोरक्कोसँग, अमेरिकाले बोस्निया हर्जगोभिनासँग, ब्राजिलले जापानसँग, आइभरी कोष्टले नर्वेसँग, र अर्जेन्टिनाले केप भर्डेसँग खेल्ने तय भएको छ ।
१६- भक्तपुरको सूर्यविनायक नगरपालिका-९ भातेढिकुर चोक स्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब १९: ४५ बजे उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुदै पाटन अस्पताल पुर्याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
१७- भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले दिएको जानकारीअनुसार ३ हजार ३६० जना घाइते भएका छन् भने १७२ जना अझै पनि भत्किएका भवनको भग्नावशेषमा फसिरहेका छन् । भूकम्पबाट हालसम्म ३८३ भवन, १३ अस्पताल, २५ वटा किनमेल केन्द्र र १ हजार २ अन्य संरचनामा क्षति पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा सेना परिचालन गरिएकाले त्यहाँ अनावश्यक यात्रा नगर्न सरकारको आग्रह छ । रोड्रिगेजले घाइतेको उद्धार र उपचारका लागि प्रयोग भइरहेका सडकमा अत्यधिक भीड बढेकाले सर्वसाधारणलाई सडक खाली राखेर उद्धार टोलीलाई सहयोग गर्न अपिल गरेका छन् । उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन मेक्सिको, अमेरिका, एल साल्भाडोर, स्विट्जरल्यान्ड, कोलम्बियालगायत विभिन्न देशबाट ८६१ अन्तर्राष्ट्रिय स्वयंसेवक भेनेजुएला पुगेका छन् । आगामी दिनमा थप उद्धारकर्मी पनि आउने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वका विभिन्न देशबाट करिब १ हजार आपत्कालीन उद्धारकर्मी २५ वटा खोज तथा उद्धार टोलीमार्फत प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन् । मुख्य राजमार्गबाट सेना, उद्धार टोली, डम्प ट्रक र भारी उपकरण प्रभावित क्षेत्रमा निरन्तर पठाइँदै छ। सरकारले सबै आपत्कालीन सेवा सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा केन्द्रित गरेको जनाएको छ । ताचिरा राज्यबाट ४५ जना अग्निनियन्त्रक, एउटा तालिमप्राप्त खोजी कुकुर तथा आवश्यक उद्धार उपकरणसहितको टोली पनि परिचालन गरिएको छ । यसैबीच, अमेरिकी वित्त मन्त्रालयले राहत सामग्री र आर्थिक सहयोग सहज बनाउन केही प्रतिबन्धमा अस्थायी छुट दिएको छ । यद्यपि प्रभावित क्षेत्रमा ठूलो परिमाणमा रहेको भग्नावशेष र सीमित स्रोतसाधनका कारण उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् ।
१८- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार हिनामिना गरी व्यक्तिगत लाभ लिएको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ । विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा उनले विभिन्न प्रक्रिया दुरुपयोग गर्दै विद्यालयलाई आर्थिक नोक्सानी पुर्याएको आरोप छ । अनुसन्धानका क्रममा विद्यालयलाई हानि पुर्याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वसँग सम्बन्धित कम्पनीको नाममा बिक्री गरिएको खुलेको सीआईबीले जनाएको छ । यस्तै, विद्यालयका लागि सवारीसाधन खरिद गर्न छुट्याइएको रकमसमेत आफू आबद्ध कम्पनीका नाममा जग्गा र सवारीसाधन खरिद गर्न प्रयोग गरी विद्यालयको सम्पत्तिमा हानि पुर्याएको आरोप उनीमाथि लागेको छ । यस घटनामा विद्यालयको रकम हिनामिना गरी ठगी र आपराधिक विश्वासघात गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो । शेर्पाविरुद्ध दुई वर्षअघि नै उजुरी परे पनि प्रहरीले दर्ता गरेको थिएन । पछि अदालतले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाउन आदेश दिएपछि सीआईबीले मुद्दाको अनुसन्धान सुरु गरेको हो ।
१९- भेनेजुएलामा आएको विनाशकारी भूकम्पले फुटबल जगतलाई पनि ठूलो क्षति पुगेको छ । भूकम्पमा परेर राष्ट्रिय टोलीका उदाउँदा खेलाडीसहित केही युवा फुटबलरको ज्यान गएको छ भने अन्य खेलाडीका परिवार पनि प्रभावित भएका छन् । भेनेजुएलाको राष्ट्रिय टोली र भेनेजुएला फुटबल महासंघका अनुसार १८ वर्षीय युवा खेलाडी यिमभेर्ट बेरोतेरानको भूकम्पमा मृत्यु भएको छ । उनले केही महिनाअघि दोहामा सम्पन्न १७ वर्षमुनिको विश्वकपमा भेनेजुएलाको प्रतिनिधित्व गरेका थिए भने हालै २० वर्षमुनिको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए । यस्तै, युवा फुटबलर भिक्टर पालासियोस र रजान सिजाको पनि भूकम्पमा ज्यान गएको उनीहरूका क्लब र फुटबल महासंघले पुष्टि गरेका छन् । यसैबीच, जुलिया फुटबल क्लबका रक्षक हेक्टर बेलोले सामाजिक सञ्जालमार्फत भूकम्पका क्रममा आफ्नी जीवनसाथीको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार श्रीमतीले भूकम्पका बेला सानो छोरीलाई जोगाउने प्रयास गर्दा ज्यान गुमाएकी हुन् । बेलोकी छोरी र उनकी फुपू भने घाइते अवस्थामा अस्पतालमा उपचाररत रहेका छन् ।
२०- भारतका नयाँ टी-२० कप्तान श्रेयस अय्यरको कप्तानीको सुरुआत निराशाजनक बनेको छ। दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा आयरल्यान्डले भारतलाई ३४ रनले पराजित गर्दै इतिहास रचेको छ । यो जितसँगै आयरल्यान्डले टी-२० विश्वविजेता भारतविरुद्ध कुनै पनि प्रारूपमा पहिलो पटक विजय हासिल गरेको हो । साथै घरेलु टोलीले सिरिज १-० को अग्रता पनि बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनाएको थियो । उसका कप्तान लोर्कन टकरले ३६ बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । भारतका लागि हर्षित राणाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंह र अक्षर पटेलले समान २-२ विकेट लिएका थिए । १८३ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा १४८ रनमै समेटियो । भारतीय ब्याटरहरूले सुरुदेखि नै लय समात्न नसक्दा टोली ३४ रनले पराजित हुन पुग्यो । यस जितसँगै आयरल्यान्डले सिरिजमा बलियो सुरुआत गरेको छ भने भारत दोस्रो खेल जित्दै शृंखला बराबरी गर्ने दबाबमा परेको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने तालिका छन् ।


