काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने लमजुङ घर भएका ४५ वर्षीय पुर्ण बहादुर दुरा, काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा घर भएकी ४२ वर्षीया कमला खत्री, ललितपुर महालक्ष्मी नगरपालिका-१३ बस्ने सुर्खेत घर भएकी २४ वर्षीया सरस्वती गिरी, भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने दोलखा घर भएका २७ वर्षीय राम कुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका-२६ बस्ने बागलुङ घर भएका ३७ वर्षीय अमर सिंह घर्ती रहेका छन् ।
पक्राउ मध्ये पुर्ण बहादुरले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ, कमलाले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४५ हजार रूपैयाँ, सरस्वतीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, राम कुमारले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अमर सिंहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुर्ण बहादुरलाई काठमाडौं महानगरपालिका-२८ बाट, कमलालाई काठमाडौं महानगरपालिका-३२ बाट सरस्वतीलाई महालक्ष्मी नगरपालिका-१३ बाट तथा राम कुमारलाई काठमाडौं महानगरपालिका-२२ बाट र अमर सिंहलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


