काठमाडौं । चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री भएको छ । सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो ।
‘गौँथली’का तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका तर्फबाट रोशन सुवेदीबीच खरिद बिक्रीको कागजी सम्झौता भएको छ ।
प्रदर्शन मिति नजिकिँदै जाँदा ‘गौँथली’ निर्माण टिमले इन्टरनेसनल राइट्स बिक्री सुरु गरेको हो । सिनेमाको हाइप बढेसँगै ओभरसिज बजारबाट इन्टरनेसनल अधिकारका लागि माग बढेको निर्देशक रिजालले बताए । नेपालमा साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र त्यसको एक हप्तापछि अर्थात् साउन ८ गते (जुलाई २४) बाट अमेरिकाका विभिन्न प्रमुख शहरहरूमा एकसाथ प्रदर्शन हुनेछ । “बिस्तारै हाम्रो सिनेमाको हाइप बढ्दैछ । हाइप बढ्दै जाँदा ओभरसिज मार्केटबाट इन्क्वाइरी पनि बढ्दैछ,” निर्देशक रिजालले भने ।
यो चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङ १ मा छ । चलचित्रको ट्रेलर रिलिजपछि दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् । प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रको अहिले चर्चाको केन्द्रमा बनेसँगै ‘गौंथली’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिनेमाको बढ्दो चर्चा र ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाका कारण अन्तराष्ट्रिय बजारमा यो चलचित्र ठूलो स्केलमा प्रदर्शन हुने सुनिश्चित भएको छ ।
दुई दशकअघि ‘गौँथली’ नाममा डा. भोला रिजालले चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपाली चलचित्र क्षेत्रकै एउटा माइलस्टोन नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् । डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।


