
दाङ। दाङ अप्टिमिस्टिक क्लबले शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरेको छ । आज शनिबार जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ७ स्थित पबित्रा साङ्गदेव स्कुल उत्त्रर बाहिनीमा शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरिएको हो ।
क्लबका अध्यक्ष प्रदिप सिंह गहतराजको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बिच विद्यालयमा शैक्षिक सामग्री तथा खाद्यान्न उपलब्ध गराइएको थियो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउने र गुरुकुलको दैनिक व्यवस्थापनमा टेवा पुर्याउने उद्देश्यले सामग्री प्रदान गरिएको क्लबले जनाएको छ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले शिक्षा र संस्कारको संरक्षणमा गुरुकुलहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै त्यहाँ अध्ययनरत बटुकहरूको आवश्यकता पूरा गर्न सहयोग गरेकोमा क्लबप्रति आभार प्रकट गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका संस्थापक निशान्त आचार्यले क्लबले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । उनले सामाजिक संस्थाहरूको यस्ता सहयोगले आर्थिक तथा भौतिक स्रोतको अभावमा रहेका शैक्षिक संस्थालाई राहत पुग्नुका साथै विद्यार्थीहरूको अध्ययनप्रति थप उत्साह बढाउने विश्वास गरिएको बताए ।
गुरुकुल साङ्गवेद विद्यालयका तर्फबाट सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त शैक्षिक सामग्रीले बटुकहरूको अध्ययनमा र खाद्यान्न सहयोगले दैनिक आवश्यकतामा महत्वपूर्ण योगदान पुग्ने बताइएको थियो।
कार्यक्रमका संयोजक बसन्त जिएमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव प्रवेश भण्डारीले गरेका थिए ।



