दाङमा खुल्यो ‘दाङ दरबार रोधी घर’ – Kanika Khabar
Friday, September 4Nepali News Portal

दाङमा खुल्यो ‘दाङ दरबार रोधी घर’

    मा प्रकाशित

दाङ । दाङमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘दाङ दरबार रोधी घर एण्ड खाजा घर’ सञ्चालनमा आएको छ। ६ जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको रोधी घरमा करिब १ करोड रुपैयाँ लगानी गरिएको सञ्चालकले बताएका छन्।

राजेन्द्र दाहाल, प्रेम शर्मा, सीता थापा, ऋषि बोहरा, विजय परियार र जीवन पुनको संयुक्त लगानीमा सञ्चालनमा आएको रोधी घरले प्रत्यक्ष रूपमा ३२ जनालाई रोजगारी प्रदान गरेको छ।

रोधी घरको आज हिन्दु धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार विभिन्न विधिपूर्वक पूजा–आराधना गरी औपचारिक सुरुवात गरिएको सञ्चालक राजेन्द्र दाहालले जानकारी दिए। उनका अनुसार फागुन २१ गतेदेखि रोधी घरमा नियमित रूपमा दोहोरी तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा आउनेछ।

हरेक दिन साँझ ६ बजेदेखि सांस्कृतिक तथा दोहोरी कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारसम्मको प्रस्तुति रहने दाहालले बताए।
“दाङमा नेपाली मौलिक कला, संस्कृति र दोहोरीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रोधी घर सञ्चालनमा ल्याएका हौँ,” सञ्चालक दाहालले भने, “स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै ग्राहकलाई पारिवारिक वातावरणमा मनोरञ्जन प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो।”

रोधी घरमा कार्यरत प्रत्येक कामदारका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने व्यवस्था गरिएको छ। त्यस्तै कलाकारको हित र समस्यामा सहयोग गर्ने उद्देश्यले कलाकार कल्याण कोष स्थापना गर्ने तयारी गरिएको दाहालले बताए।

रोधी घरमा नेपाली मौलिक परिकारसँगै प्रत्यक्ष दोहोरी तथा सांस्कृतिक कार्यक्रमको मनोरञ्जन लिन सकिनेछ। उद्घाटन अवसरलाई लक्षित गर्दै भदौ महिनाभर १२ प्रतिशत छुट दिने व्यवस्था गरिएको सञ्चालकले बताएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्