काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन आज असोज ४ गते दोस्रो दिन पनि उत्साहजनक रूपमा जारी रहेको छ । निर्वाचन समितिले ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनका लागि अधिवेशन तथा निर्वाचन सम्पन्न भएको हो । निर्वाचन सम्पन्न भएका जिल्लामा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली रहेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ लगायतका स्थानमा वडा अधिवेशन हुन बाँकी छ । त्यस्तै, आज सम्पन्न हुन नसकेका अन्य वडाको अधिवेशन पनि असोज ५ गते सोमबार निरन्तर सञ्चालन हुने समितिले जनाएको छ । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ मा जिल्ला र असोज १० मा प्रदेश अधिवेशन हुनेछ । त्यसपछि असोज १६–१९ मा काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका छ ।
२- मनास्लु आधार शिविरमा आमरण अनसन बसिरहेका युवाहरुले अनसन स्थगित गरेका छन् । गण्डकी प्रदेश सरकारले हिमाली क्षेत्रका स्थानीयको जीवन रक्षाको माग गर्दै मनास्लु आधार शिविरमा आमरण अनसन बसेका युवाहरूलाई वार्तामा आउन आग्रह गरेपछि उनीहरुले अनसन स्थगित गरेका हुन् । हिमाली क्षेत्रको जनजीवन र हिमाली सभ्यताको सुरक्षाको माग गर्दै गत शुक्रबारदेखि युवाहरु अनसनमा बसेका थिए । हिमाली गाउँबस्ती भन्दा माथि धेरै नयाँ तालहरु थपिँदै गएको, हरिया तालहरु थपिदै गएको, वीरेन्द्रताल लगायत हिमतालहरुमा पानीको सतह बढिरहेकाले यसको निरन्तर नापजाँच गर्ने प्रविधि जडान गर्नुपर्ने, हिमाली क्षेत्रका विद्यालयहरूमा जलवायू परिवर्तन र यसबाट बच्ने उपायहरु समेटिएको पाठ्यक्रम बनाएर पठनपाठन गर्नुपर्नेलगायतका माग राख्दै ११ युवाहरु मनास्लु आधार शिविर भन्दा माथि अनसनमा बसेका थिए । सामागाउँका ३६ वर्षीय दावानोर्वु लामा,३९ वर्षीय निमा छिरिङ लामा, २५ वर्षीय लेक्ष्य लामा, २७ वर्षीय पासाङ नोर्बु लामा, २६ वर्षीय छिरिङ फुञ्सोक लामा, २९ वर्षीय टासी डुण्डुप लामा, २८ वर्षीय छेवाङ घ्यूर्मे लामा, २३ वर्षीय छेवाङ बाबा लामा, २८ वर्षीय कर्मा छिरिङ लामा, २९ वर्षीय पेम्बा छिरिङ लामा र वडा नं ७ का ३१ वर्षीय पेम्बा गुरुङ आमरण अनसन बसेका हुन् । यसअघि मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) ले पनि क्रमशः माग पूरा गर्न प्रयास गर्ने प्रतिवद्धता जनाएक थियो ।
३- परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउन मन्त्री खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क प्रस्थान गरेका हुन् । उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन् । साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । महासभालाई प्रधानमन्त्री बालेन्द्र शाहले असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसका लागि प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते (सेप्टेम्बर २२) मा अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम रहेको छ ।
४- बंगालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अन्डमान सागर र आसपास विकसित भएको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम तथ्याङ्क, मौसम नमुना तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणअनुसार उक्त प्रणाली असोज ७ गते आसपास न्यून चापीय क्षेत्रका रूपमा थप शक्तिशाली भई दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने सम्भावना रहेको छ । यस प्रणालीका कारण नेपालमा वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिमको स्तर र सम्भावित असरबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाले जनाएको छ । नेपाल मौसम विज्ञान विभागले प्रणालीको निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जाने जनाएको छ। विभागले आधिकारिक तथा पछिल्लो मौसमसम्बन्धी जानकारीका लागि आफ्नो वेबसाइट र सामाजिक सञ्जाल हेर्न आग्रह गरेको छ ।
५- उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट तीन घण्टाको अन्तरमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । करिब एक साताभित्र उत्तर कोरियाले गरेको यो दोस्रो क्षेप्यास्त्र परीक्षण हो । दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार पहिलो क्षेप्यास्त्र दिउँसो करिब ३ बजे वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ प्रहार गरिएको थियो । करिब ४५० किलोमिटर उडेको उक्त क्षेप्यास्त्र ह्वासोङ–११ शृङ्खलाको भएको अनुमान गरिएको छ । पहिलो प्रहारको करिब तीन घण्टापछि उत्तर कोरियाले अर्को अज्ञात वस्तु प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दोस्रो प्रहार पनि क्षेप्यास्त्र भएको पुष्टि भए तीन घण्टाभित्र लगातार दुईवटा क्षेप्यास्त्र परीक्षण भएको हुनेछ । जापानको रक्षा मन्त्रालयले पनि पहिलो प्रहार क्षेप्यास्त्र भएको देखिएको जनाएको छ । जापानी सञ्चारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको थियो । दक्षिण कोरिया, अमेरिका र जापानले उत्तर कोरियाको पछिल्लो गतिविधिबारे सूचनाको आदानप्रदान गरिरहेका छन् । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले क्षेप्यास्त्र प्रहारको निन्दा गर्दै तत्काल यस्ता गतिविधि रोक्न आग्रह गरेको छ । यसअघि सेप्टेम्बर १२ मा पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तर कोरियाले दक्षिण कोरिया, जापान र अमेरिकाबीच भएको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै ती अभ्यासले कोरियाली प्रायद्वीपमा तनाव बढाएको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाली नेता किम जोङ उनको प्रभावशाली बहिनी किम यो जोङले शुक्रबार अमेरिकी नेतृत्वमा भइरहेका सैन्य अभ्यासका कारण तनाव झन् बढ्दै गएको आरोप लगाउँदै आफ्नो आणविक हतियार क्षमता विस्तार गर्ने नीतिमा परिवर्तन नहुने बताएकी थिइन् ।
६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी, संसद र सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ । आइतबार बसेको सचिवालय बैठकले समसामयिक विषयवस्तुमा छलफल गर्दै पार्टी, संसद र सरकारलाई शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । उनका अनुसार बैठकले बाढीपछि स्थगित रहेको रास्वपाको जनसंगठनको काम सुरू गर्ने निर्णय भएको बताए । त्यस्तै विगत केही महिनामा मधेसमा भएका विभिन्न घटना क्रमबारे अडिट रिपोर्ट तयार भएको र त्यस अडिट रिपोर्टकै आधारमा मधेस रास्वपाले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरको छ । त्यस्तै रास्वपाले विगतदेखि नै राइट टु रिकलको एजेण्डा उठाउँदै आएको र अब कार्यान्वयनको दिशातर्फ लैजान आवश्यक रहेको बैठकमा छलफल भएको छ । सोही अनुसार कार्यदल बनाएर राइट टु रिकलका सम्बन्धमा आवश्यक व्यवस्था गरिने उनले बताए । त्यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतका भ्रमणका सम्बन्धमा बैठकमा ब्रिफिङ गरेका थिए । उनले भारत भ्रमण फलदायी भएको र बाढीपछि भारत सरकारले गरेको सहयोगप्रति सरकारको तर्फबाट आभार प्रकट गरेको जानकारी गराएका थिए । त्यस्तै अर्थमन्त्री डा. वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीचको भेटमा नेपाली झन्डा नदेखिएको विषयमा जवाफ दिदै सो भेट वित्तमन्त्री सीतारमणको कार्यकक्षमा भएकाले नेपालको झन्डा नरहेको बताए । उनले भने- ‘हाम्रो सभापतिको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ र अर्थमन्त्रीजीको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ, त्यहाँ भारतीय झन्डा त हुने कुरा भएन । त्यहाँ पनि जुन फोटो आइरहेको छ, त्यो उहाँको कार्यकक्षमा भएको भेट हो । दुईपक्षीय भेटमा नेपालको झन्डा पनि सँगै राखिएको छ ।’ त्यसैगरी बैठकबाट करिब पाँच हजारजना बेपत्ताका परिवारले मृत्युको प्रमाणपत्र पाउनका निम्ति कानुनमा सुधार गर्न सुझाव पनि दिइएको छ भने परिवारले आस मारेको अवस्थामा मृत्युको प्रमाण पत्र दिने गरी कानुन सुधार गर्नुपर्ने सुझाव बैठकबाट दिइएको रास्वपा प्रवक्ता खरेलले बताए ।
७- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार अपराहन्न सम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
८- मध्यपूर्वमा अमेरिका र इरानबीच पुनः तनाव बढेको देखिएको छ । अमेरिकाले क्षेत्रमा रहेका आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याम्प डेभिड भ्रमण एक दिनअघि नै अन्त्य गरेर शनिबार साँझ ह्वाइट हाउस फर्किएका छन् । उनको भ्रमण छोट्याउनुको कारण ह्वाइट हाउसले स्पष्ट गरेको छैन । रुस टुडेको रिपोर्टअनुसार अमेरिकी बी–१बी लान्सर बमवर्षक बेलायतको आरएएफ फेयरफोर्ड विमानस्थलबाट उडेर मध्यपूर्वतर्फ गएको छ । यस्तै, इरानी सञ्चारमाध्यम प्रेस टीभीले उत्तरपूर्वी सिरियाको अल–हसकाहस्थित खाराब अल–जिर विमानस्थलनजिक हवाई प्रतिरक्षा गतिविधि देखिएको जनाएको छ । अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । मध्यपूर्वमा जारी द्वन्द्व तीव्र रूपमा बढ्न सक्ने भन्दै ती देशको भ्रमण गर्ने अमेरिकी नागरिकलाई समेत सावधानी अपनाउन भनिएको छ । अमेरिकी नागरिकलाई उडान र विमानस्थलसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ । यसैबीच इरानले जारी युद्ध अन्त्य गर्न अमेरिकासमक्ष सातवटा सर्त राखेको जनाएको छ। आफ्ना माग पूरा नभए युद्ध जारी राख्न तयार रहेको इरानले बताएको छ । इरानका सुरक्षा प्रमुख मोहसिन रेजाईले कतारले मध्यस्थकर्ताका रूपमा इरानका सर्तहरू अमेरिकासमक्ष पुर्याएको र अहिले इरान अमेरिकी राष्ट्रपति ट्रम्पको जवाफको प्रतीक्षामा रहेको बताएका छन् । रेजाईका अनुसार इरानका मागमा सबै मोर्चामा युद्ध रोक्ने, विदेशमा रोक्का गरिएका इरानी रकम फुकुवा गर्ने र समुद्री नाकाबन्दी अन्त्य गर्नेलगायत विषय समावेश छन् ।
९- नेकपा एमालेका सचिव महेश बस्नेतले कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको बताएका छन् । एमालेको कार्यदलको बैठकपछि जानकारी दिदै अध्यक्षको आलोचना नगर्ने,राजीनामा नमाग्ने र त्यस बारेमा कहिँ नबोल्ने लगायतका विषयमा सहमति भएको बताएका छन् । उनले नेतृत्वको परिवर्तन नियमित महाधिवेशनबाट नै हुने बताउदै राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाउनेसहितका विषय समेटेर प्रतिवेदन पारित गरेको जानकारी दिए । कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ को मस्यौदा र सदस्य सचिव शंकर पोखरेलको मस्यौदा बैठकमा राखिएको र दुवैको प्रतिवेदनलाई साझा प्रतिवेदन बनाएर३ जना नेताले तयार पार्ने उनले जानकारी दिए ।
१०- कराते खेलाडी एरिका गुरूङ जापानको नागोयामा जारी २० औं एसियाली खेलकुदमा पदकबाट चुकेकी छन् । कास्य पदकका लागि भएको खेलमा एरिका साउदी अरेबियाकी डिना अहमदसँग ८-७ ले पराजित भएसँगै पदकको सम्भावना सकिएको हो । अघिल्लो एशियन खेलकुदमा एरिकाले रजत पदक जितेकी थिइन् । यसअघि एरिका सेमिफाइनलमा पुरानै प्रतिद्वन्द्वी काजकास्तानकी सोफ्या बेरूत्सेभासँग २-१ को झिनो अन्तरमा पराजित भएकी थिइन् । यसअघि ६८ केजी माथिको तौल समुहमा एरिकाले जोर्डनकी यारा नासिरलाई ७-१ को सहज नतिजामा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । आजै भएको अन्य कास्य पदकका खेलमा करातेको कुमिते खेलाडी राकेश मानन्धर र मीनबहादुर तामाङ दुवै पराजित भएका छन् ।
११- काठमाडौं उपत्यकाका नौ स्थानीय तहले सहकार्य गरेर रात्रीकालीन बस सेवा विस्तार गरेका छन् । काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा संविधान दिवसदेखि ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याइएको हो । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रुपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरु साझा कार्यक्रममा आवद्ध भएका हुन् । रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरुले साझा यातायातसँग समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने महानगरपालिका र नगरपालिकाहरुमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका छन् । यसमा साझा यातायातका तर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् । सेवाअन्तर्गत जगाती–सूर्यविनायक–ठमेल, लगनखेल–गोदावरी–बुढानीलकण्ठ, चक्रपथ, कीर्तिपुर–जमल, टाखेल–ठमेल तथा नागढुंगा–विमानस्थल रुटमा बस सञ्चालन हुनेछन् । यसअघि लगनखेल–बुढानीलकण्ठ र नागढुंगा–विमानस्थल रुटमा सातवटा बसमार्फत राति ८ बजेदेखि ११ बजेसम्म परीक्षण सेवा सञ्चालन गरिएको थियो । विस्तारित सेवाअन्तर्गत जगाती-सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, साविक लगनखेल–बुढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर-जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा साविक नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिनेछ । यसअघि लगनखेलदेखि बुढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो । सेवाको प्रभाव तथा मूल्याङ्कन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठुलो कुरा भएको निष्कर्ष निकालिएको थियो । रात्रीकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सातवटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति गरिएको छ । सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ । चक्रपथमा बस परिवर्तन गरेर यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्ने जनाइएको छ । सेवाले रातको समयमा अस्पताल, विमानस्थल, बजार तथा अन्य अत्यावश्यक स्थानमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज र सुरक्षित सार्वजनिक यातायात उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
१२- सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको अनुमतिपत्र छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीबाट छपाइ सुरु गरेको हो । नयाँ प्रणालीबाट नयाँ अनुमतिपत्र लिने र पुरानो अनुमतिपत्र नवीकरण गर्ने प्रक्रिया छिटो र सहज हुने विभागले जनाएको छ । प्रणालीमा सेवाग्राहीको विवरण प्रविष्ट भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ । सुरक्षण मुद्रणले अनुमतिपत्र छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ । पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ । प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा अनुमतिपत्र छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ । सोहीअनुसार मधेश प्रदेशले अनुमतिपत्र छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबारदेखि छपाइ सुरु गरेको छ । प्रदेश सरकारले सम्झौता नगरेको अवस्थामा सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा अनुमतिपत्र छपाइ गरिने विभागले जनाएको छ।
१३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मेची-महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन् । आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै सांसद सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने घोषणा गरेका हुन् । उनले भने- ‘छठ पर्वको अर्कोदिन मेची नदीको किनार पुगेर त्यहाँको माटो पनि र बालुवा मिलाएर एउटा गाग्रीमा राखेर लगेर महाकालीमा ठ्याक्कै माघे संक्रान्तिको दिन जौ तिल राखेर समर्पित गर्छु ।’ पदयात्राको बारेमा पार्टीलाई जानकारी गराएको बताउदै आफु सिमित दायरामा बस्ने व्यक्ति नभएको धारणा राखे । उनले पदयात्रामा आफु कम बोल्ने र जनताको कुरा बढी सुन्ने बताउदै दैनिक पाँच घण्टा हिड्ने र ७ घण्टा जनताको कुरा सुन्ने उल्लेख गरे । पार्टीमा आफुले कुनै गुटको राजनीति नगर्ने बताउदै आफुले अहिले मधेशीको पक्षमा अवाज उठाएको बताए । उनले भने- ‘म गुटबन्दीको विरोधमा छु, म गुटमा छु देश र जनताको गुटमा छु, मधेशको समृद्धि र सहभागिताको गुटमा छु, मेरो गुट छ, गुट बिना त राजनीति नै हुदैन । मधेशी अनुहार मात्र मागेको होइन सहभागिता पनि चाहियो भनेको हो ।’
१४- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आएका टिप्पणीबारे स्पष्ट पार्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकताबारे आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको कारणले आफु महाधिवेशनको प्रक्रियामा सहभागी नभएको बताएका हुन् । उनले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशनमा सहभागी हुनु आफूलाई ‘चरम अनैतिक काम’ हुने बताएका छन् । खड्काले भनेका छन्, ‘सम्बन्धित सबैमा स्पष्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन, रहने छैन ।’ उनका अनुसार गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समेत यही कारणले आफू उम्मेदवार नबनेका हुन् । उनले गगन थापाको हस्ताक्षर भएको टिकटबाट चुनाव लड्नु नैतिक रूपमा उचित नहुने आफ्नो विश्वास रहेको बताएका छन् । खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र यसअघिको निर्णयमा त्रुटि देखाउँदै आफूहरूले दायर गरेको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएको बताएका छन् । महाधिवेशनका सबै प्रक्रिया रोक्न आफूहरूले सर्वोच्च अदालतमा निवेदन दिएको भए पनि अदालतबाट महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नभएपछि कांग्रेसको नाममा अलग-अलग दुईवटा महाधिवेशन हुने अवस्था बनेको खड्काले बताएका छन् । उनले भनेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ ।’ यद्यपि सम्भावित पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको उनले बताएका छन् । कांग्रेस विभाजन भए त्यसको असर पार्टीमा मात्र नभई नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने उनको धारणा छ । खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई विचाराधीन पुनरावलोकनको मुद्दाको गम्भीरता मूल्यांकन गरी सम्भव भए अग्राधिकार दिएर ‘अन्तिम फैसला यथाशीघ्र’ गर्न आग्रह समेत गरेका छन् ।
१५- बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह दोस्रोपटक आमाबुबा बनेका छन् । दीपिकाले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । दम्पतीले सामाजिक सञ्जालमा नवजात छोरीको खुट्टाको छापको तस्बिर सार्वजनिक गर्दै खुसीको खबर दिएका हुन् । दीपिका र रणवीरले गत अप्रिल १९ मा दोस्रो सन्तानको आगमनको घोषणा गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमा पहिलो छोरी दुआको तस्बिर सार्वजनिक गरेका थिए । दीपिका र रणवीरले सन् २०२४ सेप्टेम्बर ८ मा पहिलो सन्तानका रूपमा छोरी दुआ जन्मिएको जानकारी दिएका थिए । दीपिका र रणवीरको प्रेमसम्बन्ध सन् २०१३ मा चलचित्र ‘गोलियों की रासलीला राम-लीला’को छायांकनका क्रममा सुरु भएको थियो । लामो समय प्रेमसम्बन्धमा रहेपछि उनीहरूले सन् २०१८ मा इटालीमा विवाह गरेका थिए ।
१६- राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । दाहाललाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले मोरङबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ। नेपाल प्रहरीले साइबर अपराधसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाउने गरेको जनाएको छ । दाहालले पछिल्लो समयमा बालेन्द्र शाह नेतृत्वको सरकारको कडा आलोचना गर्दै आएका थिए ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २१ सयले बढेर तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ०३ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ४७९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४७७५ मा कारोबार भएको थियो ।
१८- स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३-१ गोलले पराजित गर्दै लगातार सातौँ जित दर्ता गरेको छ । सेभियाले १९औँ मिनेटमा युसुफ फोफानाको गोलमार्फत अग्रता लिएको थियो । तर बार्सिलोनाका कप्तान राफिन्हाले २२औँ मिनेटमै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा राफिन्हाले ५२औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले ६९औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले ३-१ को जित सुनिश्चित गरेको थियो । यस जितसँगै बार्सिलोनाले सिजनका सुरुवाती सातवटै लिग खेल जित्दै २१ अंक जोडेको छ । राफिन्हाले सात लिग खेलबाट १२ गोल पुर्याएका छन् । यो उनको लगातार दोस्रो खेलमा ह्याट्रिक हो । बार्सिलोनाले खेलमा पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । सेभियाले पहिलो हाफमा बार्सिलोनालाई दबाबमा राखे पनि दोस्रो हाफमा बार्सिलोनाले खेलमा नियन्त्रण कायम गरेको थियो ।
१९- मध्यपूर्वमा अमेरिका र इरानबीच पुनः तनाव बढेको देखिएको छ । अमेरिकाले क्षेत्रमा रहेका आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याम्प डेभिड भ्रमण एक दिनअघि नै अन्त्य गरेर शनिबार साँझ ह्वाइट हाउस फर्किएका छन् । उनको भ्रमण छोट्याउनुको कारण ह्वाइट हाउसले स्पष्ट गरेको छैन । रुस टुडेको रिपोर्टअनुसार अमेरिकी बी–१बी लान्सर बमवर्षक बेलायतको आरएएफ फेयरफोर्ड विमानस्थलबाट उडेर मध्यपूर्वतर्फ गएको छ । यस्तै, इरानी सञ्चारमाध्यम प्रेस टीभीले उत्तरपूर्वी सिरियाको अल–हसकाहस्थित खाराब अल–जिर विमानस्थलनजिक हवाई प्रतिरक्षा गतिविधि देखिएको जनाएको छ । अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । मध्यपूर्वमा जारी द्वन्द्व तीव्र रूपमा बढ्न सक्ने भन्दै ती देशको भ्रमण गर्ने अमेरिकी नागरिकलाई समेत सावधानी अपनाउन भनिएको छ । अमेरिकी नागरिकलाई उडान र विमानस्थलसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ । यसैबीच इरानले जारी युद्ध अन्त्य गर्न अमेरिकासमक्ष सातवटा सर्त राखेको जनाएको छ। आफ्ना माग पूरा नभए युद्ध जारी राख्न तयार रहेको इरानले बताएको छ । इरानका सुरक्षा प्रमुख मोहसिन रेजाईले कतारले मध्यस्थकर्ताका रूपमा इरानका सर्तहरू अमेरिकासमक्ष पुर्याएको र अहिले इरान अमेरिकी राष्ट्रपति ट्रम्पको जवाफको प्रतीक्षामा रहेको बताएका छन् । रेजाईका अनुसार इरानका मागमा सबै मोर्चामा युद्ध रोक्ने, विदेशमा रोक्का गरिएका इरानी रकम फुकुवा गर्ने र समुद्री नाकाबन्दी अन्त्य गर्नेलगायत विषय समावेश छन् ।
२०- इङ्लिस प्रिमियर लिगमा आर्सनललाई ब्राइटनले ३-० गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले पहिलो हाफमै दुई गोल गर्दै आर्सनलमाथि दबाब बनाएको थियो । ब्राइटनका लागि पास्कल ग्रोसले ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा चारालाम्पोस कोस्टुलासले गोल गरेपछि ब्राइटन २–० ले अघि बढेको थियो । दोस्रो हाफ सुरु भएको केही समयमै ब्राइटनले तेस्रो गोल थप्यो । ५७औँ मिनेटमा चेमा आन्द्रेसले गोल गर्दै घरेलु टोलीको अग्रता ३–० मा पुर्याएका थिए । त्यसपछि आर्सनलले खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न सकेन । यो हारसँगै आर्सनलको सिजनको सुरुवातमा रहेको लगातार जितको क्रम रोकिएको छ । खेलअघि आर्सनलले प्रिमियर लिगका चारवटै खेल जितेको थियो । ब्राइटनका लागि भने यो जित विशेष रह्यो । आर्सनलविरुद्ध तीन गोल गरेको टोलीले पछिल्लो खेलमा कोभेन्ट्री सिटीलाई ५-० ले हराएको थियो । यो जितपछि ब्राइटनको ५ खेलमा १० अंक भएको छ र लिगमा चौथो स्थानमा छ भने आर्सनलको ५ खेलमा १२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ ।


