घोराही । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार एवम् पत्रकार सबिन प्रियासनले कारागारमा रहेका कैदीबन्दीहरूको पठन संस्कृतिको विकास तथा ज्ञान अभिवृद्धिका लागि पुस्तक सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् घोराही बनाऔँ अभियानका संयोजकसमेत रहेका प्रियासनले आफूले लेखेका तथा अन्य लेखकहरूका पुस्तक कारागारमा रहेका कैदीबन्दीहरूको अध्ययनका लागि उपलब्ध गराएका हुन् ।
प्रियासनले प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेमार्फत पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तक हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको विशेष उपस्थिति रहेको थियो।
पुस्तक हस्तान्तरण गर्दै साहित्यकार प्रियासनले मानिसको जीवनमा पुस्तकको महत्त्व निकै ठुलो रहेको बताए। अध्ययनले मानिसको सोच, विचार र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने उल्लेख गर्दै उनले कारागारमा रहेका व्यक्तिहरूलाई पनि अध्ययन र सिर्जनात्मक गतिविधिसँग जोड्नुपर्ने धारणा व्यक्त गरे।
कारागार जीवनलाई केवल समय बिताउने अवधिका रूपमा नभई आफूलाई सुधार्ने, नयाँ कुरा सिक्ने र भविष्यप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्ने अवसरका रूपमा लिन सकिने उनको भनाइ थियो। पुस्तक अध्ययनले कैदीबन्दीहरूमा ज्ञान, चेतना, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले कारागारमा रहेका कैदीबन्दीहरूका लागि पुस्तक सहयोग गर्नु सकारात्मक र प्रशंसनीय कार्य भएको बताए । उनले पुस्तक अध्ययनले कैदीबन्दीहरूको ज्ञान र चेतना अभिवृद्धि गर्नुका साथै उनीहरूमा सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। कारागारभित्र सुधारात्मक वातावरण निर्माण गर्न यस्ता रचनात्मक सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
त्यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले साहित्यकार प्रियासनले आफ्नो सिर्जनात्मक कर्मसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पुस्तक सहयोग गर्नु अनुकरणीय कार्य भएको बताए। उनले पठन संस्कृतिको विकास समाजका सबै वर्ग र समुदायमा आवश्यक रहेको उल्लेख गर्दै कारागारमा रहेका व्यक्तिहरूलाई पुस्तक पढ्ने अवसर प्रदान गर्नु मानवीय तथा सकारात्मक सोचको उदाहरण भएको धारणा राखे।
साहित्य सिर्जना र पत्रकारितासँगै सामाजिक तथा रचनात्मक गतिविधिमा सक्रिय रहँदै आएका प्रियासनले यसअघि पनि विभिन्न विद्यालय, सामुदायिक पुस्तकालय तथा पठन संस्कृतिको विकासका लागि पुस्तक सहयोग गर्दै आएका छन्।
कारागारभित्र अध्ययनको वातावरण निर्माण गर्न तथा कैदीबन्दीहरूमा सकारात्मक सोच र ज्ञानको विकास गर्न यस सहयोगले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। पुस्तकले मानिसलाई ज्ञान मात्र दिँदैन, जीवनलाई नयाँ ढङ्गले बुझ्ने र सुधार्ने प्रेरणासमेत दिन्छ भन्ने सन्देश यस कार्यले दिएको छ।


