कनिका डेस्क
बैशाख २६, दाङ ।
नेपाल सरकारले यो शैक्षिक सत्रदेखि कक्षा १ बाट नै संस्कृत भाषाको पठनपाठन गर्ने गरी तयारी गरिरहेको जनाएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकको संस्कृत विषयको पुस्तक तयार पारेर त्यसलाई मान्यता दिइसकेको जनाएको छ ।
सरकारको यस्तो तयारीसँगै यो वर्षदेखि कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुले संस्कृत भाषा अध्ययन गर्नुपर्ने भएको छ । योसँगै अब संस्कृत स्थानीय तहबाट विकास हुनुपर्ने, स्थानीय तहमा व्यवस्थापन हुनुपर्ने र शास्त्रीय विषयको रूपमा पढ्नुपर्ने भएको मत सरकारी अधिकारीहरू राख्दै आएका छन् ।
यद्यपि यस विषयमा पनि विभिन्न मतान्तरहरु देखिदै आएका छन् । सरकारी अधिकारीले यसलाई भाषाको ज्ञानका साथै सकारात्मक कदमका रुपमा लिइरहेका छन् भने शिक्षाविद्ले यसलाई मनोवैज्ञानिक नभएको बताएका छन् ।
संस्कृत विषयलाई शास्त्रीय विषयसँग तुलना गर्दै पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भने, “संस्कृत शास्त्रीय विषयका रूपमा अध्ययन गर्नुपर्ने विषय हो र त्यसको प्रारम्भीक ज्ञान कक्षा १ बाट सुरु गरिएको छ ।’’
तर, सरकारी अधिकारीहरुले कक्षा १ देखि नै संस्कृत भाषाको पठनपाठनमा जोड दिईरहँदा शिक्षाविद्हरुले फरक मत राख्दै आएका छन् । शिक्षाविद् डा. मनप्रसाद वाग्लेले कनिका खबरसँगको कुराकानीमा भने, ‘‘हाम्रा विद्यार्थी नेपाली भाषामा कमजोर हुनुका कारण शब्दभण्डारको कमी हो, शब्द भण्डारको ज्ञान बढाउनका लागि स्रोतमा पुग्नुपर्छ, नेपाली भाषाको स्रोत संस्कृत नै हो । तसर्थ संस्कृत भाषालाई पठनपाठनमा ल्याउने कुरा निकै राम्रो हो तर एक कक्षाका विद्यार्थीलाई संस्कृतमा के पढाउने त्यो दोस्रो कुरा हो । पाठ्यक्रममा राख्ने कुरा राम्रो हो, तर सिकाइ कस्तो हुन्छ भन्ने कुरा महत्वपूर्ण रहेको छ । सिकाइलाई प्राथमिकतामा राखेर गर्ने हो भने यो अर्थपूर्ण देखिने छ अन्यथा यो रहर मात्र होला भन्ने डर भएको छ ।’’ सिकाइलाई प्रभावकारी नबनाउँदासम्म यसको अर्थ नरहने बताउँदै शिक्षविद् वाग्लेले भने, ‘‘संस्कृत विषयलाई विद्यार्थीको उमेर अनुसार कसरी शिक्षण गर्ने भन्ने बारे शिक्षकलाई तालिम दिइएको छ कि छैन, हामीले राम्रो कुरा दिन खोज्दाखोज्दै पनि विद्यार्थीको क्षमता र शिक्षकको अभ्यासमा कतै चिप्लिनु पर्ने त होइन । पहिला दक्ष प्रशिक्षक तयार पारौँ ।’’
सरकारले कक्षा १ को संस्कृत भाषामा विभिन्न १० ओटा विषयका ४६ ओटा पाठहरु तय गरेको छ । यसै सन्दर्भमा आफ्नो मत राख्दै वाग्ले भने, ‘‘संस्कृत भाषाको अध्ययापन सुरुआत गरिरहँदा हामी उद्देश्यमा स्पष्ट हुनु पर्दछ, संस्कृतलाई हामीले भाषाका रुपमा सिकाउने कि संस्कृतिका रुपमा सिकाउने भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । १ कक्षामा पढ्ने उमेरका विद्यार्थीलाई संस्कृत संस्कृतिका रुपमा होइन भाषाका रुपमा सिकाउनु पर्दछ ।’’
त्यसैगरी कनिका खबरसँगको कुराकानीमा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भने, ‘‘ संस्कृत भाषाहरुको जननी हो त्यसकारण संस्कृत भाषा पढाइनु ठिक हो तर सिकाइको उद्देश्यलाई पाठ्यक्रमले सम्बोधन गर्न सक्दैन कि भन्ने मलाई महसुस भएको छ ।, अहिलेको खालको पाठ्यक्रम र त्यसलाई पढाउन गरिएको व्यवस्था वैज्ञानिक छैन । संस्कृत भाषा सिकाउनु सकारात्मक भए पनि हाल अध्यापनका लागि तयार पारिएको पाठ्यक्रम नेपालको सामाजिक अवस्थासँग मेल खाने खालको छैन ।’’ संस्कृत भाषा अध्यापन गराउन आवश्यक रहेको औंल्याउँदै यसलाई अझ सहज ढङ्गबाट अध्यापन गराउन सकिने उल्लेख गर्दै शिक्षाविद् कोइरालाले भने, ‘‘नेपालका जुनसुकै भाषाभाषी समुदायका मानिसलाई उनीहरूको भाषामा रहेको संस्कृतको अंशलाई देखाएर संस्कृत सिक्ने प्रक्रियालाई सजिलो बनाउन सकिन्थ्यो ।’’ पाठ्यक्रम निर्माण गर्दा पाठ्यक्रमको स्वाद बचाउन नसकिएको कोइरालाले बताए । उनले थपे ,‘‘पाठ्यक्रम डिजाइन गर्दा सबै समुदायलाई लक्षित गरेर निर्माण गर्न सकिएको भए टेस्ट बस्ने थियो, कतै टेस्ट नै हराएर त जाँदैन भन्ने चिन्ता बढ्नुका साथै घातक परिस्थिति सिर्जना हुन्छ कि भन्ने शङ्का जीवितै रह्यो ।’’ कोइरालाले थपे, ‘‘ सबैसँग इन्टरलिङ्क गर्न सकिएन यो नै चिन्ताको विषय हो ।’’
कक्षा १ का लागि तयार पारिएको ’अस्माकम संस्कृतम्’ अर्थात् हाम्रो संस्कृत पुस्तकमा विभिन्न १० विषयसँग सम्बन्धित ४६ वटा पाठ रहेका छन् । पुस्तकमा वर्णज्ञानदेखि सामान्य ज्ञानका विषय राखिएको छ । २२ वटा जति पाठ चाहिँ ’मेरो परिवार’, ’मेरो विद्यालय’ जस्ता रहेका छन् साथै दैनिक जीवनमा प्रयोग हुने शब्दहरू संस्कृतमा कसरी प्रयोग गर्न सकिन्छ भन्न कुरा समावेश गरिएको छ ।
पहिले कक्षा ४ देखि संस्कृत भाषाको पढाइ हुने गरेकोमा माओवादी सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले गाउँगाउँमा ’जबरजस्ती’ संस्कृत भाषाको अध्यापन बन्द गराएको थियो ।