असहयोग गर्ने कर्मचारीको लिष्ट बनाउन सभापति देउवाको निर्देशन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

असहयोग गर्ने कर्मचारीको लिष्ट बनाउन सभापति देउवाको निर्देशन

    मा प्रकाशित

कनिका खबर
असोज १४, दाङ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहमा कांग्रेसका जनप्रतिनिधिहरूलाई असहयोग गर्ने कर्मचारीहरूको नाम संकलन गरेर पार्टीलाई बुझाउन निर्देशन दिएका छन् ।

उनले कांग्रेसले जितेका स्थानीय तहमा कर्मचारीहरूले असहयोग गरिरहेको गुनासो आफूसम्म आइपुगेको पनि बताए । ‘कम्युनिष्टले जितेका तहमा व्यापक भ्रष्टाचार भएको, बद्मासी भएको सूचना मसम्म आइरहेको छ’ देउवाले भने, ‘कांग्रेसले जितेकोमा काम नै गर्न नदिने गरिएको छ । यस्तो पनि हुन्छ !’ उनले चुनौतिका बावजुत पनि राम्रो काम गरेर देखाउन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

‘तपाईहरुले असहयोग गर्ने कर्मचारीकोहरूको नामको लिष्ट दिनोस् हामी पार्लियामेण्टमा कुरा उठाउँछौ, आबश्यक परेमा आन्दोलनमा समेत जान्छौं’ नेपाली कांग्रेसको स्थानीय तह समन्वय बिभागले प्रदेश नं. ५ अन्तरगतका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको जुम बैठकलाई सम्बोधन गर्दै देउबाले भने, ‘सधै यही सरकार रहँदैन, हाम्रो सरकार आएपछि हामीले स्थानीय तहमा असहयोग गर्ने र भ्रष्टाचार, बद्मासी गर्ने सबैको छानविन गरी आबश्यक परे कारबाही गर्नेछौं ।’

जनताको करबाट तलव खाएर कर्मचारीहरूले पार्टीका लागि काम गरेको सूचना आफूलाई आइरहेको जानकारी दिदै उनले करको दूरुपयोग नगर्न चेतावनी समेत दिएका छन् । ‘कांग्रेसले जितेका तहमा राम्रो काम भयो भने त्यसको असर छेउछाउमा पनि पर्छ’ देउवाको भनाई थियो ।

त्यसैगरी देउवाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताका माझमै रहेर काम गर्न निर्देशन दिएका पनि छन् । उनले जनता नै देशको मालिक भएको भन्दै जनताको घर दैलोमा गएर सेवा गर्न त्यस्तो निर्देशन दिएका हुन् ।

‘तपाईहरू जनताको घरघरमा जानुस्, एकपल्ट होइन, दुईपल्ट होइन, पटक पटक घरमा जानुस्’ देउवाले भने, ‘यसो गर्दा जनताका समस्या पनि थाहा हुन्छ र घरमै आएकाहरूलाई भोली पनि भोट दिनुपर्छ भन्ने भावना पनि उनिहरूमा जाग्छ ।’ जनतासँगको यस्तो सम्बन्धले पैसाको भरमा चुनाव जित्ने प्रबृत्तिको अन्त्य हुने बिश्वास पनि उनको थियो ।

बैठकमा बोल्ने बक्ताहरूले स्थानीय तह सञ्चालनका सन्दर्भमा कम्युनिष्टहरूले जनबादी केन्द्रीयताको अभ्यास गर्न थालेको आरोप लगाएका थिए । कार्यकर्ताहरूलाई अबसर र काम दिने ढंगले बजेट निर्माण गर्न कम्युनिष्ट पार्टीले नै निर्देशन दिने र कम्युनिष्टले जितेका तहमा त्यसैगरी बजेट निर्माण हुने गरेको तर्फ पनि पार्टीको ध्यनाकर्षण हुनुपर्ने उनीहरुले बताएका थिए ।

पालीकाको प्रमुख र उप्रमुख कांग्र्रेसले जितेका तर, बहुमत नभएका पालिकाहरूमा सभाहरू बस्न समेत असहयोग भएको पनि उनिहरूले जानकारी गराएका थिए । यस्ता बिषयमा पार्टी र सरकारबीचमा राम्रो समन्वय हुननसकेको गुनासो पनि जनप्रतिनिधिहरूले गरेका थिए । त्यसैगरी सहभागिहरूले अर्को चुनावलाई लक्षीत गरेर पार्टीसँग समन्वय गरेर काम गर्नु पर्नेमा पनि जोड दिएका थिए ।

‘बिभाग गठनमा ढिलाई भएकोमा क्षमा चाहन्छु’
बैठकमा बिषय प्रबेश गराउँदै स्थानीय तह समन्वय समितिका संयोजक अर्जुन जोशीले बिभाग अझै चाडो गठन भएको भए अझै धेरै काम गर्न सकिने रहेछ भनेका थिए । उनले ढिला गठन हुँदा पनि साथीहरूमा उर्जा देखिएको बताएका थिए । यो कुरालाई संकेत गर्दै देउवाले ‘बिभाग गठनमा ढिलाई भएकोमा क्षमा चाहन्छु’ भने ।

साथै उनले यो ढिलाई आफ्नो कारणले नभएको दावी पनि गरे । ‘मैले उहाँहरु(पौडेल समुह)सँग ४० प्रतिशत नाम दिनुस् भनेर पर्खेको हुँ, उहाँहरूले नाम नै दिनुभएन अनी ढिलाई गरेको दोष मेरो टाउकोमा हाल्नुभयो’ देउवाले भने, ‘त्यसछि मैले गरेको हुँ ।’ उनले अझै पनि ४० प्रतिशत ठाउँ बाकी राखेको र महत्वपूर्ण बिभागहरू गठन नगरी अर्को पक्षलाई पर्खेको पनि बताए ।

समन्वय बिभागका संयोजक अर्जुन जोशीको अध्यक्षतामा भएको सो बैठकमा प्रतिनिधिसभामा कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले पनि सम्बोधन गरेका थिए । त्यसैगरी बिज्ञका रुपमा श्याककृष्ण भुर्तेल र बंशलाल तामाङले स्थानीय तहको महत्व र प्रभावकारिता बृद्धिका सन्दर्भमा आधारपत्र प्रस्तुत गरेका थिए भने बिभागका सदस्य सचिव नहकुल केसीले बैठकको सहजिकरण गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्