काठमाडौँ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा अहिले चार वटा अध्यादेश होल्डमा रहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ मध्ये २ वटा अध्यादेश जारी गरेसँगै चार वटा अध्यादेश होल्डमा रहेका हुन् ।
होल्डमा रहेका अध्यादेशबारे राष्ट्रपति पौडेलले हिजो बिहीबार नै कानुनविद्हरुसँग छलफल गरेका छन् ।
यी हुन् होल्डमा रहेका अध्यादेश
१. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
क. संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने ।
ख. बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने ।
२. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश
क. विश्वविद्यालय र प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरवलोकन गर्ने ।
ख. नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने ।
३. केही नेपाल ऐन संशोधन अध्यादेश
क.२० वटा कानुन संशोधन गर्ने ।
ख. भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने ।
४. सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश
क. राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था ।


