सृष्टिमा अतिरिक्त भन्ने केही पनि बस्तु हुदैनन् । सबै चाहिने र महत्व राख्ने चिजबिज मात्र हुन्छन् । सबैलाई सबै चिजहरुको एकैचोटि जरुरत नपर्न सक्दछ । यो तथ्यलाई हेरेर सतही पाराले हामीलाई प्राप्त चिजबिज प्रतिको हलुका दृष्टिकोण बनाउनु बुद्धिमानी नहुन सक्दछ । कहीँ न कहीँ कसै न कसैलाई केही न केही चिजबिजहरुको हरपल आवश्यकता परिरहेको हुन्छ । उदाहरणका निमित्त हाम्रो शरीर लिएर हेरौँ । ध्यानपूर्वक सोच्ने हो भने हामीलाई हाम्रो शरीरमा भएका नचाहिने कुनै पनि भाग छैन । तर शरीरका सम्पूर्ण भागहरु एकै पटक प्रयोगमा आउन पनि सक्द्छन् नआउन पनि सक्द्छन् । कति अङ्गहरुले स्वतस्फूर्त ढङ्गले कार्य गरिरहेको हामीलाई महसुस नै हुदैन । तर जे भए पनि यी सबै अङ्गहरुको समय र परिस्थिति अनुरुप आवश्यकताको बोध गरेर हामीलाई खाचो परिरहुन्छ । हात, खुट्टा, नाक, मुख, आखा, कान, शीर अनि पाउ लगायत थुप्रै अङ्गहरु हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष सरोकारका साथ जोडिएका हुन्छन् । शरीरका यी सम्पूर्ण अङ्गहरुले आआफ्नो विशिष्ट भूमिका निर्वाहमा कुनै कसुर छोड्दैनन् । मुटु, फोक्सो, मस्तिष्क, मिर्गौला, शरीरका प्रणालीहरु जस्ता संवेदनशील अङ्गहरुले स्वचालित ढङ्गले आफ्नो नियमित कार्य गर्द्छन् । म जस्ता अधिक मानिसहरू आफ्नै शरीरको यस्ता हरेक अङ्गहरुको काम थाहै नपाएर जीवनको यात्राबाट ब्रह्मलिन हुन्छौ । सबै अङ्गहरुको विस्तृत कामहरुको जानकारी नपाए पनि सतही ज्ञान भने सबै जसो मा हुने गर्दछ । हाम्रा केही बाहिरी र केही भित्री अङ्गहरुको भुमिका प्रति हामीलाई थोरा बहुत ज्ञात हुने गर्दछ । जस्तो कान ध्वनि श्रवणको लागि, नाक गन्ध वा सुगन्ध खुट्याउन्को लागि, जिब्रोले खानाको स्वाद छुट्टाउनको लागि, आखाले रङ्गी विरङ्गी दुनियाँ नियाल्नको लागि काम गर्द्छन् भने छालाले शरीरमा हुने स्पर्शको सहज जानकारी गराउँदछु ।
मानव विकासको चरणहरुलाई अध्ययन अनुसन्धान गर्ने हो भने आधुनिक मानव मस्तिष्कको तुलनामा प्राचीन मानव मस्तिष्क अलि बढी स्मार्ट र सृजनशील थियो कि जस्तो लाग्दछ । मानव सभ्यताको विकासक्रम सँगसँगै गरिएका विविध खोज अनुसन्धान र त्यो बेला लेखिएका ठूला ठूला ग्रन्थ अनि महाग्रन्थहरु वर्तमान र भविष्यसम्मका खोज अनुसन्धान अनि लेखन कार्यका लागि आधुनिक खोज अनुसन्धान, लेख रचना अनि अन्वेषण र आविष्कारहरुका मार्ग चित्र बनेका छन् । सयौ वर्ष पहिले खोतिलिएका ज्ञानका सागर होउन् वा आविष्कार गरिएका प्रविधि होउन् वा त्यो बेला लेखिएका पूर्वीय साहित्य होऊन् वा पश्चिमी साहित्य होऊन् सबैले अहिलेको अवस्थामा पनि उत्तिकै महत्व बोकेका छन् । त्यही इतिहाको जगमा टेकेर आधुनिक आम मानव मस्तिष्कले गहिरो अध्ययन अनुसन्धानबाट मात्र यथार्थको धरातलमा पुग्ने आट गर्द्छन् ।
सामान्यतया भाषालाई बिचारहरुको आदानप्रदान गर्ने माध्यम मानिन्छ । भाषा जतिको शक्तिशाली अस्त्र विश्वमा केही पनि विकास भएको छैन । भाषाले टुक्रिएका मन मस्तिष्कहरु जोड्नेदेखि एक ढिक्का भएर जोडिएका हृदयहरु सहजै तोड्न निमेष भरको समयमा गरिदिन्छ । भाषाको विकास र प्रयोजनलाई जोडेर हेर्ने हो भने यसले मुख्यत चार बिधाहरु बोलाइ, सुनाई, पढाइ र लेखाइहरुलाई विशेष समर्थन गर्दछ । यी चारवटा विधाहरुले आआफ्नै महत्व बोकेका हुन्छन् । प्राचीन समयमा पुग्ने हो भने मानिसहरूका निमित्त मुख मुखले सञ्चार गर्नु पर्दथ्यो । बिचारहरु पनि एक बाट अर्को व्यक्ति वा पींढिमा स्थानान्तरण हुँदा हु बहु पुग्दैन थियो । त्यसमा निश्चित फेरबदल सामान्य तर बदलिएको भाग थाहा पनि हुँदैन थियो । त्यो बेला मानिसका लागि कुनै पनि बिचारलाई लिपिमा उत्तार्ने प्रविधि थिएन । छापामा कैद गरेर जुगौ जुगका लागि दस्तावेज बनाउने कल्पना समेत थिएन । अनि मानिसहरूलाई उनीहरुकै बिचार जस्ताको तस्तै एक अर्का माझ पु¥याउन कठिन थियो । हाम्रा बिचारहरुको दस्तावेजको रुपमा छपाइ गर्ने यन्त्रको आविष्कार भए पछि भाषाले सुनाइ र बोलाइका अलावा पढाइ र लेखाइलाई विकल्पको रुपमा प्रयोग गरिएको हुनु पर्दछ । विस्तारै प्रविधिले फड्को मार्ने क्रम बढ्दै जादा भाषाका चार वटा विधालाई सँगै जोडेर भाषाको अध्ययन गर्न थालिएको हुनु पर्दछ । मानव सभ्यताको निरन्तर विकास हुने क्रममा विश्वव्यापी रुपमा पठन पाठनलाई मौलिक हक अन्तर्गत सूचीकरण गरिएको पाईन्छ । यसरी अध्ययनको सिलसिला अगाडि बढेको परिवेशमा केही प्रयोगवादी लेखक, कवि, चित्रकारहरुले पढाइलाई सहयोग गर्ने फरक फरक सामग्रीहरु तयार गर्न लागि परेको देखिन्छ । प्रसिद्ध इटालियन चित्राकार लियो नार्दो दा भिन्चीको मोनालिसा र अन्तिम भोज जस्ता चित्रहरुले विश्वका मस्तिष्कहरु हल्लाईदिएको छ । पढ्नका खातिर पनि प्रशस्त पाठ्यसामग्रीहरु सहजै उपलब्ध हुदैन थिए । पढ्न लेख्ने जान्ने मानिसहरूको संख्या पनि ज्यादै न्यून हुने गर्दथ्यो । तर जति जनालाई लेख पढ गर्न आउँथ्यो उनीहरुको पढ्नु लेख्नु निर्विकल्प रोजाइ हुने गर्दथ्यो । त्यसकारण पहिला पहिलाका मानिसहरू फुर्सदको समयमा विभिन्न धार्मिक ग्रन्थहरु पढेर समय ब्यतित गर्दथे । शिक्षण पेसामा लागेर पनि आफूले अध्यापन गर्ने पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको गहन अध्ययन बिना बजारमा पाइने सहयोगी पुस्तकको सतही अध्ययनको भरमा विद्यार्थीहरुलाई भुलाउने म जस्ता प्राणीहरुले पठन संस्कृतिलाई मारिरहेका छौ । हाम्रो यो कमजोरीलाई आयस्रोतको बलियो बाटो बनाउनेहरुले इन्टरनेटबाट कपि अनि पेस्ट गरेर पाठ्यक्रमले निर्दिष्ट गरेको लक्ष्य हाँसिल गर्न भन्दा पनि राज्यको परीक्षा प्रणालीमा अटाउने अङ्क प्राप्त गर्ने संस्कारमा लपेटिएका ब्रह्महीन शिक्षित जमातको मन जित्न सहयोग गरिरहेका छन । नेपाली समाजको यो बदलिँदो परिवेशमा पठन संस्कृति लोप हुँदै गएको बेला केही मानिसहरूमा भने थरीथरीका पुस्तक किनेर पढ्ने मोह कछुवाको चालमा बढेको देख्न पनि सकिन्छ ।
समयको परिवर्तन सँगसँगै मानिसहरूका दैनिक क्रियाकलापहरुमा व्यापक परिवर्तन आएको देख्न सकिन्छ । आजका बालबालिका, युवा अनि वयस्कहरुलाई पाठ्यसामग्रीहरुले भन्दा दृश्य समग्रीहरुले बढी आकर्षित गरेको तथ्य हाम्रा ससाना क्रियाकलापहरुमा प्रष्ट देख्न सकिन्छ । खास गरी आजका बालबालिकाहरुमा पुस्तक पढ्ने चाहप्रति देखापरेको विचलन स्पष्ट रुपले छाइरहेको देखिन्छ । विद्यार्थीकालमा निर्दिष्ट गरिएका पाठ्यक्रममा आधारित पुस्तकहरुको पनि सारांश मात्र अध्ययन गरेर सर्टिफिकेट प्राप्त गर्ने संस्कारले यत्रतत्र जरा फिजाईरहेको यथार्थ झाङ्गिदै गइरहेको अवस्था सर्ववदितै छ । पछिल्लो समयमा सामाजिक सञ्जालले विश्वलाई मुठ्ठीभित्र कैद गरिसकेको परिप्रेक्ष्यमा सामाजिक सञ्जालमा देखा पर्ने धेरथोर लामाछोटा लेख आलेखहरुमा मानिसहरूले जनाउने प्रतिक्रिया र विविध आसनमा कैद गरिएका तस्वीरहरुमा देखाउने प्रतिक्रियाले आम मानिसहरूमा पढाइप्रतिको मोह टुटेको तथ्य सहज ढङ्गले अनुमान गर्न सकिन्छ । तस्बिर सार्वजनिक गरेको निमेष भरमै आउने लाइक र कमेन्टको संख्या लेख वा आलेखमा गरिने लाइक कमेन्ट नगन्य मात्रामा देखा पर्नु मानिसहरुको पढ्ने बानीमा ह्रास आएको बुझ्ने एउटा सानो सर्वेक्षण हुन सक्दछ । बुझ्ने कलाको मर्मलाई व्याख्या गर्ने हो भने लेख आलेख भन्दा चित्र बुझ्न निकै कठिन हुन्छ । चित्रकला बुझ्नु कथा कविता काव्य ग्रन्थ पढेर त्यसको अर्थ लगाउनु वा अर्थ पत्ता लगाउनु जस्तो होइन । चित्रमा आँखा र दिमाग दुबैको प्रयोग समानान्तर ढङ्गले हुने गर्दछ भने पुस्तकमा आँखाको साटो कानले पनि काम गर्न सक्दछ । अरुले बाचन गरेको पाठले पनि हामीलाई बुझ्न् सहयोग गर्दछ । तर चित्र बुझ्न आँखा र मस्तिष्क हर कोणबाट सँगसँगै हुन जरुरी हुन्छ । मोनालिसा जस्ता चित्रहरुले अर्थहरु फेरबदल गरिरहन सक्द्छन । पहिले बुझेको अर्थ अर्को पटक घोत्लिदा अर्कै बनिदिने सम्भावना देखिन्छ । तसर्थ पुस्तक पढ्नु भन्दा चित्रको अध्ययन कठिन कार्य हो । तर हामीले यस कुरातर्फ ध्यानै नदिएर कठिन कार्यको हलुका प्रतिक्रियाको जञ्जिरमा कैद गर्ने मुख्र्याइँ गरिरहेका छाँै ।
वर्तमान अवस्थामा नितान्त ब्यक्तिगत सरोकार राख्ने घटनाहरुलाई निस्फिक्री भएर सामाजिक सञ्जालको दुनियाँ पस्किएको देख्न सकिन्छ । विभिन्न समय र अवसरहरु झल्काउने तस्वीर, भिडियो, अनि लामा छोटा लेख आलेखहरुले रङ्गाइएका दृश्यहरु व्याप्त रुपले छाइरेहेका हुन्छन । यसरी सामाजिक सञ्जाल रङ्गाउने धुनमा आफ्नो सामाजिक प्रतिष्ठा नाङ्गिएको होसै नराख्नेहरुको पनि कमि हुदैन । यस्ता आँखाका लागि नयाँ होस् या पुरानो तस्बिर वा भिडियो सार्वजनिक गरेर आउने क्रिया प्रतिक्रियाहरुलाई देखेर मख्ख पर्नु भन्दा मस्तिष्कलाई चलायमान बनाउने लेख, आलेख, अनि बौद्धिक सिर्जनाहरु समय दिनु बुद्धिमता हुन्छ होला । पछिल्लो समयमा द्रुत गतिमा विकास भएको सामाजिक सञ्जाललाई नितान्त मनोरञ्जनको रुपमा अङ्गालेको पाइन्छ । रङ्गीविरङ्गी दुनियाँ भरिएको सामाजिक सञ्जालले पढ्ने बानीलाई निल्न खोजिरहेको भान हुन्छ । आँखाको ताम झामले चपक्क समातेको संसारी भुलभुलैयाले पढ्ने संस्कृतिको नामेट गर्न खोजेको आभास भैरहेको छ । यस सन्दर्भमा विश्व जगत नै टक्क आआफ्नो स्थानमा बन्द भएको परिस्थितिले नेपाल जस्तो प्रविधिले विपन्न मुलुकमा पनि सोही सामाजिक सञ्जालको माध्यमबाट अध्ययन अध्यापनको नवीन सोचको थालनी हुनु हाम्रा लागि प्रविधिको दुनियाँमा पौडिन सिक्ने सुनौलो अवसर सावित हुनेछ । परम्परागत कक्षाकोठामा हुने अध्ययन अध्यापनको विकल्पमा जुरमुराउन थालेको भर्चुअल कक्षाले शिक्षण सिकाइ प्रक्रियामा नयाँ आयाम थप्ने रहस्य निश्चित छ । समयले हरेक कालखण्डमा यस्तै अनपेक्षित अवसरहरु प्रदान गर्ने गरेको इतिहासहरु सति साल भएर ठिङ्ग उभिएको आज पनि पढ्न र सुन्न पनि पाइन्छ । यो सुअवसरले म जस्तो प्रविधिसँग अपरिचित मनुवालाई प्रविधि मैत्री सिकाई प्रक्रियाहरुका सम्भावित द्वारहरुले भरिपूर्ण पोखरीमा फ्यालिदिएको छ र साथै सिक्ने प्रचुर सम्भावना खोलिदिएको छ। यो सुवर्ण अवसरले मलाई फुरुङ्ग बनाएको छ ।